ad ad

कारोबार


पर्यटन मजदुरलाई रोजगारी दिन बोर्डले ल्यायो ५ कराेड बराबरकाे कार्यक्रम

पर्यटन मजदुरलाई रोजगारी दिन बोर्डले ल्यायो ५ कराेड बराबरकाे कार्यक्रम

नेपालखबर
भदौ ३, २०७७ बुधबार ९:३२,

कोरोनाको कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका मजदुरलाई पर्यटन बोर्डले ५ करोड रुपैयाँबराबरको रोजगारी दिने गरी कार्यक्रम तयार पारेको छ।

बोर्डले सुरुमा १ करोड ४० लाख बजेट छुट्याई काम सुरु गरेको हो। पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बोर्डले गाउँपालिकासँग मिलेर काम अघि बढाइसकेको बताए।

‘हामीले कोभिड १९को कारण समस्यामा परेका पर्यटन मजदुरलाई रोजीरोटीको लागि रोजगारी दिने कार्यक्रम ल्याएका हौँ’, सीईओ रेग्मीले नेपालखबरसँग भने, ‘पहिला पूरै लकडाउन थियो, अहिले कार्यक्रम बनाएर सम्बन्धित गाउँपालिकालाई काममा लगाउन भनेर बजेट पठाएका छौँ।’

उनले गाउँपालिकालाई बजेट पठाएर काम सुरु गर्न आग्रह गरेको बताए।

‘हामीले ५ करोड बराबरको रोजगारी सिर्जना गर्ने प्रयास गरेका हौँ। अहिले १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ’, उनले भने, ‘अन्नपूर्ण क्षेत्रमा संक्रमण कम भएकाले अहिले काम सुरु गरौँ भनेको हो। सगरमाथा क्षेत्रमा पनि काम अघि बढाउन गाउँपालिकालाई भनेका छौँ।’

उनले पर्यटन श्रमिकलाई सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ, मकालुलगायतका हिमाल सफा गर्ने, हेरिटेज साइट सफा गर्ने, ट्रेकिङ ट्रेल खोल्नेलगायतका काममा लगाउने बताए। त्यस्तै ताल सफाइ, लुम्बिनी क्षेत्रकाे सरसफाइलगायतका काममा लगाउन बाेर्डले कार्यक्रमहरू तर्जुमा गरेकाे बताएकाे छ। 

‘मजदुरलाई रोजगारीको नाममा राजनीति’
यसैबीच, बोर्डले रोजगारीका कार्यक्रम अगाडि बढाएपछि मजदुर युनियनले भने चलखेल सुरु गरेका छन्। सीईओ रेग्मीले मजदुर युनियनले काम गर्दैनौँ भन्दै राजनीति गर्न खोजेको आरोप लगाए।

‘पहिला मजदुरलाई रोजगारी चाहियो भन्दै आउँथे, अहिले काम गर्न सकिँदैन, राहत चाहियो भन्दै आउँछन्’, उनले भने, ‘साँच्चिकै मजदुर काम पाए हुन्थ्यो भन्नेमा छन् तर मजदुरको नाममा राजनीति गर्नेहरु काम गर्न सकिँदैन भन्दै छन्।’

मजदुरलाई रोजगारी दिन खोज्दा युनियनहरुले राजनीति गर्न खोजेको उनले बताए।

‘अहिले युनियनका साथीले काम गर्न सक्दैनौँ भन्दै आउनुभएको छ। उहाँहरुलाई कामको आवश्यक नभए जसलाई आवश्यक छ, त्यसले गर्छ। स्थानीय पर्यटन मजदुरलाई रोजगारी दिन खोज्दा राजनीति हुनखोजेको छ’, रेग्मीले भने।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका (टान) अध्यक्ष खुम बहादुर सुवेदीले मजदुरलाई रोजगारीको विषयमा बोर्डसँग छलफल भइरहेको बताएका छन्।

‘टानका मजदुर साथी र बोर्डको छलफल भइरहेको छ’, सुवेदीले भने, ‘मजदुर साथीले पैसा अलि कम भयो भन्नुभएको छ र कोभिडको अवस्था रहेकाले काम गर्न सम्भव हुँदैन कि भन्ने पनि छ।’

पर्यटन बोर्डले दैनिक १५ सय पारिश्रमिक दिने गरी रोजगारमा लगाउन थालेको बताएको छ। सीईओ रेग्मीले अहिले कोरोनाको कारण समस्यामा परेका श्रमिकलाई केही सहयोग होस् भनेर रोजगारी दिएको भन्दै धेरै पारिश्रमिक दिन सकिने अवस्था नरहेको बताए।

हिमाल आरोहण संघका अध्यक्ष सन्तवीर लामाले हिमाल सफा गर्ने समय ढिला भइरहेको बताए।

‘हामीले त पहिला नै काम सुरु गर्नुपर्छ भनेका थियौं। बोर्डले कोरोना छ भनेर शुरु गरेन,’ उनले भने ‘सिजनमा काम गर्न नसकेपछि हिमाल सफा गर्न सकिँदैन।’

उनले १५ सय पारिश्रमिकमा हिमालको तल्लो भाग सफा गर्नसकिने भए पनि माथिल्लो भागमा काम गर्न अपुग हुने बताए।

ट्रेकिङ एजेन्सीले दिँदै आएको पारिश्रमिक दिएमात्रै हिमालको माथिल्लो क्षेत्रमा सफा गर्न सम्भव हुने उनको भनाइ छ।

पर्यटन क्षेत्रमा रोजगारी सिर्जनाको लागि यूएनडीपीले समेत सहयोग गर्नेछ। त्यसबाहेक पर्यटन बोर्ड, विभाग, टिम्समा भएको पैसा समेत कोभिड १९ को मारमा परेका मजदुरलाई रोजगारी दिन प्रयोग गर्ने तयारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .