ad ad

कारोबार


स्वदेशमै पर्याप्त उत्पादन हुँदाहुँदै किन आयात भइरहेछ भारतबाट करोडौँको ‘गुणस्तरहीन’ सेनिटाइजर?

स्वदेशमै पर्याप्त उत्पादन हुँदाहुँदै किन आयात भइरहेछ भारतबाट करोडौँको ‘गुणस्तरहीन’ सेनिटाइजर?

सन्तोष न्यौपाने
भदौ ६, २०७७ शनिबार १०:१९,

कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपटक सेनिटाइजर उद्योगहरु खुल्न थाले। कोरोना संक्रमणअघि नेपालमा सेनिटाइजरको प्रयोग हुने गरेको भए पनि स्वदेशमै उद्योग भने थिएनन्।

कोरोना संक्रमणले बजारमा सेनिटाइजरको माग बढाइरहेको बेला महामारीको यो पाँच महिनाको अवधिमा झन्डै चार दर्जन यस्ता उद्योग दर्ता भइसकेका छन्।

सेनिटाइजरको उत्पादन गर्ने भनेर दर्जनौं उद्योगले अनुमति पाइरहेको र उत्यादन नै सुरु गरेका भए पनि नेपालमा दोस्रो मुलुकबाट हुने यसको आयात रोकिएको छैन्, बरु थप वृद्धि हुँदै गएको छ।

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएसँगै विदेशबाट साढे २४ करोडभन्दा बढी मूल्यकोे सेनिटाइजर आयात भएको तथ्यांकले देखाएको छ।

भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष कोरोना भाइरस संक्रमण देखिएपछि २४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बराबरको ५३ लाख ९ सय ८९ केजी सेनिटाइजर आयात भएको हो।

मुलुकमा दर्जनौं सेटिनाइजर उद्योगले औषधि व्यवस्था विभागबाट सञ्चालनको स्वीकृति लिइसकेका छन्। सेनिटाइजर उद्योग सञ्चालन गर्नुअघि विभागमा दर्ता गरेर अनुमति लिनुपर्ने प्रावधान रहेको छ।

औषधि व्यवस्था विभागका अनुसार पहिलोपटक लकडाउन सुरु भएपछि ४० वटा उद्योग दर्ता भइसकेका छन्। यसमध्ये ३० भन्दा धेरैले उत्पादन नै गरिरहेका छन्।

यी उद्योगले १ सय २० ब्रान्डका सेनिटाइजर उत्पादन गरिरहेका छन्। विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र आयात हुने सेनिटाइजर दुवै पर्छन्। दर्ता भएका सेनिटाइजरमध्ये ९५ प्रतिशतभन्दा धेरै स्वदेशी उद्योग रहेका छन्।

स्वदेश मै गुणस्तरीय सेनिटाइजर उत्पादन गर्ने औषधि उद्योग हुँदाहुँदै भारतबाट गुणस्तरहीन सेनिटाइजर आयात भइरहको व्यवसायीको आरोप छ। नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले सस्तोका नाममा भारतबाट सेनिटाइजर आयात भएको बताए।

‘नेपालमा ३० वटा उद्योगले सेनिटाइजर उत्पादन गरिरहेका छन्,’ दाहालले नेपालखबरसँग भने, ‘तर, सस्तोको नाममा भारतबाट गुणस्तरहीन सेनिटाइजर आयात भइरहेको छ।’ नेपालमा उत्पादन हुने कतिपय सेनिटाइजर पनि मापदण्ड पूरा नभएका र गुणस्तरहीन रहेको उनी बताउँछन्।

गुणस्तरहीन सेनिटाइजर आयात
संसारभर अहिले सेनिटाइजर उत्पादनमा सबैभन्दा चिन्तको विषय भनेकै मिथानोल र अन्य क्यामिकल मिसाउनु हो। मिथानोलले मानव स्वास्थमा असर गर्छ।

सेनिटाइजर मिथानोल रहित हुनुपर्छ। अहिलेसम्म संसारमा सेनिटाइजरबाट जति पनि नकारात्मक असर भएको छ, त्यो मिथानोल मिसिएको सेनिटाइजरबाट भएको अनुसन्धानले देखाएको छ। त्यसैले सेनिटाइजर औषधि उद्योगले मात्र बनाउनु पर्छ भन्ने छ। औषधि उद्योगसँग प्रयोगशाला हुन्छ। उनीहरुसँग ‘फार्मकुपर’ ग्रेडको कच्चा पदार्थ प्रयोग गर्छन्। जसले गर्दा गुणस्तरीय सेनिटाइजर हुनसक्छ। 

तर, नेपालमा भने साबुन वा कस्मेटिक उत्पादन गर्ने उद्योगलाई पनि सेनिटाइजर उत्पादन गरिरहेका छन्। कतिपय औषधि व्यवस्था विभागमा दर्ता नभइकन पनि उत्पादन गरिरहेका छन्।

साबुन वा कस्मेटिक सामान उत्पादन गर्नेसँग प्रयोगशाला नहुने र उनीहरुले ल्याएको कच्चापदार्थ विश्लेषण पनि गर्न नसक्ने दाहाल बताउँछन्। जसले गर्दा गुणस्तरहीन सेनिटाइजर उत्पादन भइरहेका छन्।
नेपालमा पनि प्रशस्त मात्रमा गुणस्तरहीन सेनिटाइजर भेटिएको दाहाल बताउँछन्। यसमा स्वदेशी र आयातित सेनिटाइजर छन्। औषधि व्यवस्था विभागले यसको अनुगमन गरेको पनि छैन्।

सेनिटाइजरको मुख्य कच्चा पदार्थ भनेको अल्कोहल र इथानोल हो। औषधि उद्योगले बनाउने सेनिटाइजरको कच्चा पदार्थ औषधि व्यवस्था विभागले चिठी लेखेपछि अल्कोहल उद्योगले दिन्छन्। औषधि उद्योगले त्यो पदार्थलाई फार्मकुपर ग्रेडको नमिसिएको पदार्थ मात्र प्रयोग गर्छ। तर, बजारमा भने कतिपय सेनिटाइजर उद्योगले खान अयोग्य गुणस्तरहीन ‘डिम्याचुअर्ड अल्कोहल’ प्रयोग गरिरहेको दाहालको भनाइ छ। जुन उत्पादन ३०/४० रुपैयाँ लिटरमा उपलब्ध छ। त्यसमा अन्तशुल्क पनि १७ रुपैयाँ मात्र लाग्छ।

यस्तो कमसल कच्चा पदार्थको प्रयोग गरेर सेनिटाइजर उत्पादन गरिरहेको उनले बताए।

आयात धेरै हुनुको कारण
स्वदेश मै ठूलो संख्यामा सेनिटाइजर उत्पादन गर्ने उद्योग हुँदाहुँदै आयात उच्च हुनुको प्रमुख कारण लागत मूल्य हो। व्यवसायीका अनुसार नेपालमा भारतमा भन्दा सेनिटाइजर उत्पादन महँगो पर्छ।

यसको कारण सेनिटाइजर उत्पादनमा आवश्यक पर्ने दुई कच्चा पदार्थ अल्कोहल र इथानोलमा लाग्ने महँगो लागत हो।

यो पनि :  लकडाउनमै खुले ४० सेनिटाइजर उद्योग, औषधि उत्पादकको असन्तुष्टि केमा?

दाहालका अनुसार भारतमा सेनिटाइजरको कच्चा पदार्थ नेपालमा भन्दा आधा सस्तो छ।

नेपालमा सेनिटाइजरमा प्रयोग हुने अल्कोहल सय रुपैयाँ लिटर पर्छ। त्यसमा नेपाल सरकारले ६० रुपैया अन्तःशुल्क र १३ प्रतिशत भ्याट लिन्छ। जसले गर्दा उक्त कच्चा पदार्थको मूल्य १७० देखि १८० सम्म प्रतिलिटर पर्ने दाहालको भनाइ छ।

भारतमा भने अल्कोहलजन्य कच्चा पदार्थमा १८ प्रतिशत मात्र जीएसटी छ। इथानोल ४० लेखि ४५ रुपैयाँ लिटरमा पाइन्छ। ‘त्यहाँ कच्चा पदार्थको मूल्य ९० रुपैयाँमात्र पर्छ,’ दाहालले भने, ‘यसले गर्दा आधा सस्तो पर्छ।’

उत्पादनमा लाग्ने यही लागत महँगोका कारण भारतबाट सस्तो सेनिटाइजर नेपाल आइरहेको छ। भारतबाट आउने सबै सस्तो सेनिटाइजर गुणस्तरीय भने नरहेको उनको भनाइ छ।

भारतबाट गुणस्तरहीन सेनिटाइजर आयात भइरहेको भन्दै व्यवसायीहरुले गुणस्तर परीक्षण गरेर मात्र बिक्री वितरण गर्न भने पनि सरकारले अहिलेसम्म नगरेको दाहालको भनाइ छ।

‘नेपाल सरकारले औषधि व्यवस्था विभागले कानुनअनुसार दर्ता भएर मात्र आउन दिने, गुणस्तर परीक्षण गर्ने भनेर हामीसँग प्रतिवद्धता जनाएकोे थियो,’ दाहालले भने, ‘महानिर्देशकले सेनिटाइजर ल्याउन खोल्ने एलसी रोक्न राष्ट्र बैंकलाई चिठी लेख्ने बताउनु भएको थियो तर अहिलेसम्म चिठी लेख्नु भएको छैन।’

नेपालमा सेनिटाइजरको कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क र भ्याट हटाएर स्वदेशी उत्पादनलाई सस्तो बनाउनु पर्ने माग व्यवसायीको छ। कच्चा पदार्थमा लगाएको कर हटाएर भारतबाट आउने सेनिटाइजर रोक्नु पर्ने दाहालले बताए।

कोरोनाको संक्रमण बढ्दै गएपछि विश्वमै सेनिटाइजरको प्रयोग बढ्न थालेको थियो। नेपालमा लकडाउन सुरु नहुँदै सेनिटाइजर र मास्कको माग ह्वात्तै बढेको थियो।

माग बढेपछि स्वदेशी उत्पादन सुरु भएपनि आयातमा पनि वृद्धि भयो। सेनिटाइजर प्रयोगले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न सकिने भएपछि स्वदेशी उत्पादन बढाउन भन्दै यी उद्योग दर्ता भएका थिए।

कोरोना संक्रमणबाट बच्न सेनिटाइजरको प्रयोग गर्नुपर्ने भएपछि उद्योग व्यवसायीहरुले सेनिटाइजर उत्पादन सुरु गरेका थिए। काठमाडौं उत्पत्यकासहित बाहिरका विभिन्न सहरमा सेनिटाइजर र मास्क उत्पादन सुरु भएका छन्।

बजारमा अत्याधिक मागलाई पूर्ति गर्न सेनिटाइजर र मास्क उत्पादन सुरु भए पनि गुणस्तर र दर्ता प्रक्रियामा जानसकेका थिएनन्। अहिले सबै प्रक्रिया पूरा भए पनि आयात भने बढी नै रहेको व्यवसायीको गुनासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .