ad ad

कारोबार


त्रिभुवन विमानस्थलको विद्युतीय उपकरण आइपुग्यो, ३ सय मिटर धावनमार्गमा जडान गरिँदै

त्रिभुवन विमानस्थलको विद्युतीय उपकरण आइपुग्यो, ३ सय मिटर धावनमार्गमा जडान गरिँदै

नेपालखबर
भदौ १७, २०७७ बुधबार ८:५५,

त्रिभुवन विमानस्थलमा तीन सय मिटरको धावनमार्गका लागि जडान गर्ने विद्युतीय सामग्री (उपकरण) आइपुगेका छन्। लकडाउनका कारण यातायात सहज नहुँदा सामग्री आउनसकेका थिएनन्।

विमानस्थलले लकडाउनको सदुपयोग गर्दै तीन हजार मिटर रहेको धावनमार्ग निर्माणलाई तीव्रता दिई तीन हजार ३ सय मिटरमा विस्तार गरेको हो।

त्रिभुवन विमानस्थलका आयोजना प्रमुख मुरारी भण्डारीले ८० प्रतिशत सामग्री काठमाडौं आइपुगेको र बाँकी केही दिनमै आइपुग्ने बताए।

उनका अनुसार विमानस्थलमा धावनमार्गको काम सकिए पनि अहिलेसम्म प्रयोगमा ल्याउन सकिएको छैन। भण्डारीले तीन सय मिटर धावनमार्ग थप भए पनि विद्युतीय (लाइट) सामग्री जडान नभई प्रयोगमा ल्याउन नसकिएको बताए।

बजारमा सहजै पाउने सामग्री नभएको कारण स्पेसल अर्डर गरेर ल्याउनुपर्ने सामग्री भएकाले कोभिड १९ले अन्तर्राष्ट्रिय यातायात प्रभावित हुँदा सामग्री आउनमा ढिलाइ भएको विमानस्थलको भनाइ छ ।

आयोजना प्रमुख भण्डारीले विमानस्थलको डिजाइनअनुसार कम्पनीमा अर्डर भएका सामग्री केही पानीजहाज र केही उडानमार्फत आएको बताए।

सरकारले चार्टर्ड उडान गर्ने अनुमति दिँदै आए पनि काठमाडौं आउने जहाजमा यात्रु बढी भएको र औषधिजन्य अत्यावश्यक सामग्री ल्याउँदा विमानस्थलका सामग्री प्राथमिकतामा परेको थिएन।

भैरहवा, पोखरा विमानस्थलमा बाहिरबाट दक्ष जनशक्ति ल्याउनुपर्ने हुँदा त्यहाँ उपकरण आए पनि तत्काल काम नहुने विमास्थलहरुले बताइरहँदा त्रिभुवन विमानस्थलको लागि भने बाहिरबाट दक्ष जनशक्ति आवश्यक नपर्ने भण्डारीको भनाइ छ।

‘सामग्री नभएर काम रोकिएको थियो। धेरै सामग्री आइपुगेको छ। नेपालमै भएको जनशक्तिले काम गर्न सक्छन्’, उनले भने, ‘तर पछिल्लो समय लकडाउनका कारण काठमाडौंबाहिर भएका जनशक्ति ल्याई काम गर्न सकिएको छैन।’

उपत्यकामा लकडाउन खुकुलो भएसँगै धावनमार्गमा उपकरण जडानको काम हुने उनले बताए।

४ अर्ब खर्च गरिँदै
त्रिभुवन विमानस्थलको पूर्वाधार विकासको लागि नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ भने विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड बजेट विनियोजन गरिएको छ।

प्राधिकरणले धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे र दक्षिणतर्फ ट्याक्सी वे निर्माण गर्न २ अर्ब बजेट विनियोजन गरेको हो।

धावनमार्गको उत्तरतर्फ एप्रोन तथा समानान्तर ट्याक्सी वे निर्माणको लागि १ अर्ब ९१ करोड २३ लाख विनियोजन गरिएको छ। विमानस्थलको धावनमार्गको दक्षिणतर्फ समानान्तर ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख बजेट विनियोजन गरेको छ।

एप्रोन भनेको हवाइ यात्रु चढाउने र ओराल्ने वा पार्किङ स्थल हो भने ट्याक्सी वे भनेको रन वे, एप्रोन, ह्याङगर, टर्मिनल भवन जोड्ने पहुँचमार्ग हो।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणाअनुरुपको बाँकी काम ‘क्यानोपी स्ट्रक्चर’ र टर्मिनल भवनहरुको रिनोभेसन तथा साजसज्जाको कार्य यो वर्षभित्र सम्पन्न गर्ने दाबी गरेको छ।

बुटिक एयरपोर्टको अवधारणाअनुसार बाँकी काम पूरा गर्नका लागि क्यानोपी र आन्तरिक टर्मिनल भवन निर्माणका लागि २८ करोड बजेट विनियोजन गरेको छ।

प्राधिकरणले टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड, विमानस्थलको रिमोर्ट पार्किङ वेमा हाई मास्ट विथ लिड लाइटका लागि ३ करोड र ब्यागेज ह्यान्डलिङ सिस्टम जडानका लागि ५ करोड ६० लाख बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .