ad ad

कारोबार


पूर्वराजा ज्ञानेन्द्रको टिमलाई ७२ करोडको सेयर बेचेर सोल्टीबाट बाहिरियो हङकङको कम्पनी

पूर्वराजा ज्ञानेन्द्रको टिमलाई ७२ करोडको सेयर बेचेर सोल्टीबाट बाहिरियो हङकङको कम्पनी

दीपक भट्ट
असोज ११, २०७७ आइतबार १४:३८,

हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड सोल्टी होटलबाट आधिकारीक रुपमा बाहिरिएको छ। सोल्टी होटलमा रहेको आफ्नो १० प्रतिशत सेयर बेचेर हङकङको कम्पनी बाहिरिएको हो।

उक्त कम्पनीले आफ्नो १० प्रतिशत सेयर साढे ७२ करोड रुपैयाँमा बेचेको छ, जसको खरिदकर्ता पूर्व राजा ज्ञानेन्द्र शाहको टिमको लगानी रहेको सोल्टी इन्टरप्राइजेज नै रहेको छ।

सोल्टीको उक्त सेयर ब्रोकर नम्बर ३४ को ब्रोकर भिजन सेक्युरिटीज मार्फत बिक्री गरिएको हो। आज आइतबार मात्रै ४७ करोड रुपैयाँको कारोबार उक्त ब्रोकर कम्पनी मार्फत भएको छ।

गत वर्ष कात्तिकमा नै हङकङको कम्पनीले सेयर बिक्री गरी लगानी फिर्ता लैजान कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागसँग अनुमति मागेको थियो।

नेपालको प्रतिष्ठित होटल सोल्टीमा ७२ लाख ५० हजार अमेरिकी डलरको ७३ लाख २६ हजार कित्ता सेयर हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको थियो। उक्त सेयर संस्थागत, साधारण र बोनस सेयरबापतको हो। प्रतिकित्ता १० रुपैयाँका दरले यो सेयर बिक्री प्रक्रियामा रहेको छ।

हङकङको कम्पनीले आफु बाहिरिने भएपछि नेपालबाट करिब साढे ७२ करोड रुपैयाँ लगानी फिर्ता गर्नको लागि प्रक्रिया मिलाउन आवेदन दिएको थियो।

सेयर बिक्रीबापतको रकम विदेशी कम्पनीलाई फिर्ता लैजान दिन राष्ट्र बैंकलाई सिफारिस गर्नेबारे निर्णय गर्न उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक उदय कुमार गुप्ताको संयोजकत्वमा बैठक बसेको थियो।

बैठकले नेप्सेसँग राय मागेर सोही आधारमा निर्णय लिन नेप्सेलाई पत्र समेत लेखेको थियो। नेप्सेले हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले सोल्टी होटलको आफ्नो नाममा रहेको सेयर सोल्टी इन्स इन्टरप्राइजेजलाई बिक्री गर्न अनुचित नदेखिने तर प्रस्तावित सेयर खरिदबिक्री नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारबाट हुनुपर्ने बताएको थियो।

सोही अनुसार आइतबार सेयर बिक्री भएको हो। सोल्टी होटलमा हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, सोल्टी इन्स इन्टरप्राइजेज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ। 

हङकङको कम्पनीको सेयर किनेपछि अब सोल्टी इन्स इन्टरप्राइजेज प्रालिको सेयर ३९ दशमलव ५७ मा १० प्रतिशत थपिएर ४९ दशमलव ५७ प्रतिशत पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .