ad ad

कारोबार


क्लिनफिड लागू भएको दिन अधिकांश विदेशी च्यानल बन्द, सबै च्यानल हेर्न केही समय पर्खनुपर्ने

क्लिनफिड लागू भएको दिन अधिकांश विदेशी च्यानल बन्द, सबै च्यानल हेर्न केही समय पर्खनुपर्ने

सन्तोष न्यौपाने
कात्तिक ८, २०७७ शनिबार ९:५९,

शनिबारदेखि लागू भएको विदेशी च्यानलमा विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) का कारण अधिकांश विदेशी च्यानल बन्द भएका छन्।

नेपालमा क्लिनफिड लागू भएसँगै विदेशी च्यानलहरुले अब क्लिनफिड कार्यक्रम उपलब्ध गराउनु पर्नेछ। खासगरी भारतीय टेलिभिजन च्यानलहरुले नेपालका वितरक कम्पनीहरुलाई क्लिनफिड कार्यक्रम उपलब्ध नगराएपछि अधिकांश च्यानलहरु बन्द भएका हुन्।

अहिले मुख्यगरी स्पोर्टस्, इन्टरटेन्टमेन्ट, न्युज लगायतका अन्य भारतीय च्यानलहरु चलेका छैनन्।

नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक डिसहोशमले केही विदेशी ब्रोडकास्टरहरुले क्लिन फिड च्यानलहरु उपलब्ध गराउन नसकेका कारणले ती च्यानलहरु क्लिनफिडमा उपलब्ध नहुन्जेलसम्मका लागि  अवरुद्ध हुने जनाएको छ।

डिसहोशले च्यानल नम्बर र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुनेसक्ने पनि ग्राहकलाई जानकारी गराएको छ।

त्यस्तै, अर्को केवलनेट सुबिसु केबलनेटले पनि नेपाल सरकारले लागू गरेको क्लिनफिड नीतिअनुसार विदेशी ब्रोडकास्टरहरुले आफ्ना च्यानलहरु उपलब्ध गराउन नसकेको हुनाले हाललाई ती च्यानलहरु प्रसारण हुन नसकेको जनाएको छ। उसले नेपालका कानुनअनुसार  च्यानलहरु उपलब्ध भएपछि पुनः प्रसारण हुने समेत जानकारी दिएकाे  छ।

त्यस्तै, केवलबाट सञ्चालित च्यानलहरुमा क्लिनफिड बक्स प्रयोग गर्नुपर्ने हुन्छ। नेपाली च्यानल वितरक कम्पनीहरुले क्लिनफिड कार्यक्रम देखाउन क्लिनफिड बक्स नआएका कारण ८० प्रतिशत च्यानलहरु बन्द हुने उनीहरुको भनाइ छ।

नेपालमा अहिलेसम्म सोनी, डिस्कोभरी, एनिमल प्लानेटजस्ता टेलिभिजन च्यानलले क्लिनफिड बक्स पठाइएसकेको भए पनि अन्यका बक्स आइनसकेकाे सम्बन्धित व्यवसायीहरुको भनाइ छ।

सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागू गर्ने प्रावधान ल्याएको थियो। विज्ञापन ऐन–२०७६ अनुसार नै शनिबारदेखि क्लिनफिड स्वत: लागू भएको छ।

सरकारले एक वर्षको समयावधि दिए पनि अधिकांश विदेशी टेलिभिजन च्यानल साे अवधिमा तयारी नगरेका कारण च्यानल नै बन्द गर्नुपर्ने अवस्था आएको हो। अहिलेकाे अवस्थालाई हेर्दा पूर्णरुपमा क्लिनफिड लागू हुन डिजिटल सेवा प्रदायक र केवल वितरकले अझै केही समय लिनसक्ने देखिएको छ।

मुलुकका हरेक जिल्लामा केवल वितरक र अन्य टेलिभिजन सेवा प्रदायकले यो नियम लगाउन केही समय लगाउन सक्ने देखिएको हाे। दसैँ, तिहार र कोरोनाले गर्दा पूर्णरुपमा लागू हुन समय लाग्ने तर यस नीतिबाट पछि हट्न अवस्था नरहेको सम्बन्धित व्यवसायीहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .