ad ad

कारोबार


वाइडबडी ल्याएको २ वर्ष बित्दा पनि टुंगो लागेन निगमको साउदी र कोरिया उडान

वाइडबडी ल्याएको २ वर्ष बित्दा पनि टुंगो लागेन निगमको साउदी र कोरिया उडान

वसन्त अर्याल
मंसिर ७, २०७७ आइतबार ८:४८,

नेपाल वायुसेवा निगमले अझै साउदीको रियाद र दक्षिण कोरियाको सउलमा नियमित उडानको टुंगो लगाउनसकेको छैन।

निगमले २७४ सिटे एयरबस ३३० (वाइडबडी) रियाद र सउल उडान गर्ने योजना बनाए पनि अहिलेसम्म उडान निश्चित गर्न नसकेको हो।

वाइडबडी भित्रिएको २ वर्ष बढी समय हुँदा निगमले जापानमा मात्रै थप नियमित उडान गर्नसकेको छ।

जापानमा पनि सुरुमा यात्रुको चाप कम भएको ओसाका उडान गरेको निगमले गत फागुनमा मात्रै नारिता उडान गर्न सुरु गरेको हो।

निगमले न्यारोबडी नै उडान गर्ने योजना बनाई चीनसँग मागेको अनुमति १ वर्षअघि मात्रै पाएको थियो। तर गत वर्षको सुरुमै चीनमा कोरोना फैलिएसँगै अनुमति पाएर उडान गर्न तयार भएको निगमले उडान गर्न सकेको छैन।

निगमले चीनमा अहिले उडान गर्न कुनै रोक नभए पनि यात्रु चाप कम हुँदा उडान नगरेको बताएको छ। अहिले नियमित उडान गर्दा सञ्चालन खर्च नउठ्ने निष्कर्ष निकालेको छ।

यात्रुको चाप बढ्ने सम्भावना हुनेबित्तिकै ग्वान्झाउमा नियमित उडान गर्ने दाबी गरेको छ। निगमले बेइजिङ र संघाई उडान गर्ने योजना पनि बनाएको छ।

रियाद र सउलमा कहिले होला उडान?
निगमले वाइडबडी भित्र्याउँदा लामो दूरीमा उडान गर्ने योजना रहेको बताएको थियो।

निगमले वाइडबडी खरिद गर्दा मुख्यतः चार गन्तव्य रियाद, सउल, ग्वान्झाउ र जापान उडान गर्न सकिने दाबी गरेको थियो। अर्बौँ ऋणमा ल्याएको जहाज दुई वर्षसम्म पनि योजनाअनुसार गन्तव्यमा उडान गर्नसकेको छैन।

निगमले साउदी अरबको रियाद उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्न नसक्दा उडान भर्न सकेको छैन। निगमले गतवर्ष रियादमा जीएसए नियुक्तिको लागि टेन्डर आह्वान गरे पनि आवेदनकर्ताको मापदण्ड नपुगेको भन्दै टेन्डर रद्द गरेको थियो।

‘साउदी छिट्टै उडान गर्ने योजनामै जीएसए नियुक्तिका लागि टेन्डर आह्वान गरेका थियौँ’, नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले भनिन्, ‘हामीले मागेको मापदण्ड अनुसार आवेदन नभएकाले टेन्डर नै रद्द भयो। अब नयाँ टेन्डरबाटै जीएसए नियुक्त हुन्छ।’

निगमका उच्च अधिकारीका अनुसार जीएसएको टेन्डर आह्वान गर्दा त्यहाँको एउटा मात्रै कम्पनीले आवेदन हाल्ने अवस्था हुँदा लामो समयदेखि जीएसए नियुक्त गर्न सकिएको छैन।

‘जीएसएको लागि त्यहीँकै कम्पनी भयो भने हामीलाई सजिलो हुन्छ। तर त्यहाँ एउटा कम्पनीले आवेदन हाल्यो भने अर्कोले हाल्दैन’, निगमका ती उच्च अधिकारीले भने, ‘टेन्डर निकाल्दा स्थानीय कम्पनीसँगै बाह्य कम्पनीलाई पनि आवेदन हाल्न आग्रह गर्नुपर्छ।’

नेपालको सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियामा प्रतिस्पर्धा हुनुपर्ने व्यवस्था रहेको छ। निगमले रियादमा प्रतिस्पर्धा नै हुने सम्भावना कम हुँदा जीएसए नियुक्ति अप्ठ्यारो भएको दाबी गरेको छ।

दक्षिण कोरियाको सउलमा उडान गर्नु पहिल्यै ग्राउण्ड हेन्डलिङ सम्झौता हुनुपर्ने शर्त राखेको निगमको भनाइ छ। तर त्यसको लागि नेपालको नागरिक उड्डयन प्राधिकरणको निरीक्षण तथा अध्ययन गर्न चाहेको निगमका अधिकारीको भनाइ छ।

‘सबैको सहयोग भए दुई महिनाभित्र रियाद र सउल उडान गर्छौँ’
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल(प्रकाश)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले सहयोग गरे दुई महिनाभित्रै दुई नयाँ गन्तव्यमा उडान गर्न सकिने दाबी गरेका छन्।

‘साउदीको रियादमा जीएसए नियुक्तिको कुरा केही दिनभित्रै टुंगो लगाउँदै छौँ’, महाप्रबन्धक पौडेलले नेपालखबरसँग भने, ‘सिओल उडानको लागि पनि लामो तयारी तथा छलफल भएको छ। मन्त्रालय र प्राधिकरणले सहजीकरण गरे दुई महिनामै उडान भर्ने विश्वास छ।’

यी दुई गन्तव्यमा केही काम आफूहरुले गर्नुपर्ने भए पनि उड्डयन मन्त्रालय र प्राधिकरणले पनि केही काम गर्नुपर्ने उनको भनाइ छ। उनले त्यसको लागि प्राधिकरण र मन्त्रालयसँग छलफल गरिसकेको भन्दै छिट्टै निष्कर्ष निस्किने बताए।

नेपाल सरकारले अष्टे«लियासँग हवाइ सम्झौता गरेसँगै निगमले नियमित उडान गर्न सकिने बताए पनि ठोस योजना बनाउनसकेको छैन।

निगमले लकडाउनको समयमा नेपाल–अष्ट्रेलिया सिधा उडान गरेको छ। निगमको वाइडबडी जहाजले काठमाडौंबाट सिड्नी, मेलब्रनलगायतका सहरमा सिधा उडान गरेको थियो।

‘अष्ट्रेलिया उडानका लागि तत्काल ठोस योजना छैन। कोभिडका कारण यात्रुको चाप कम हुँदा हामीले योजना तत्काल उडान गर्ने कुनै योजना बनाएका छैन’, महाप्रबन्धक पौडेलले जानकारी दिए।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग एयरबस ३३० सिरिजका २ वाइडबडी र ३२० सिरिजका २ न्यारोबडी जहाज रहेका छन्। निगमले अहिले वाइडबडी लामो गन्तव्य तथा यात्रु बढी हुने ठाउँ उडान गर्दै आएको छ।

नेपाल वायुसेवा निगमले कतारको दोहा, युएईको दुवई, मलेसियाको क्वालालम्पुर, जापानको नारितासहित भारतको दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्डको बैंकक र हङकङ नियमित उडान गर्दै आएको छ। कोभिड १९ का कारण केही गन्तव्यमा नियमित उडान स्थगित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .