सेयरबजारमा आज उछाल आएको छ। नेप्से परिसूचक ७५.०२ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १८.७६ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। केही दिनयता दिनहुँ कीर्तिमान कायम गरिरहेको सेयरबजारमा आज एकै दिन नौ अर्ब २२ करोडको कीर्तिमानी कारोबार भएको हो।
आज दुई सयवटा कम्पनीको सेयर किनबेच भएको थियो। दिनभरिमा ८० हजार २ सय ७१ पटकको किनबेचपछि कारोबार रकमले कीर्तिमान कायम गरेको हो। एकै दिन २ करोड ५९ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
कुल १२ समूहको कारोबार भएकामा आज वाणिज्य बैंक, विकास बैंक र जीवन बीमाको कारोबार सूचक सर्वाधिक अंकले बढेका छन्। ऊर्जा, फाइनान्स, अन्य, म्युचुअल फन्डको कारोबार सूचक सामान्य अंकले बढेका छन् भने व्यापार, होटल, निर्जीवन बीमा, उत्पादनको सूचक घटेको छ।
कुन कम्पनीको उच्च कारोबार?
आज सेयरबजारमा सर्वाधिक धेरै कारोबारकर्ता कम्पनी बन्यो नेपाल पुनर्बीमा कम्पनी। उसको मात्रै आज ५१ करोड ७९ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। त्यस्तै दोस्रो धेरै कारोबारकर्ता कम्पनीमा कुमारी बैंक रहेको छ। उसको ४० करोड ८० लाखको कारोबार भएको छ। तेस्रो धेरै कारोबारकर्ता नबिल बैंकको ३३ करोड ५६ लाखको, प्रभु बैंकको ३३ करोड १९ लाख र नेपाल बैंकको ३२ करोड ४५ लाखको सेयर कारोबार भएको छ।
कसले कमाए?
आजको कारोबारमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले पनि १० प्रतिशत आम्दानी गरेका छन्। सनराइज बैंक र माछापुच्छ्रे बैंकका लगानीकर्ताले पनि ९.९२ प्रतिशत आम्दानी गरेका छन्।
जसको सेयरमूल्य घट्यो
आजको कारोबारमा धेरै गुमाउनेमा छन् विशालबजार कम्पनीका लगानीकर्ता। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेपछि उनीहरुले गुमाएका हुन्। त्यस्तै, आँखुखोला जलविद्युत् कम्पनी, मल्टिपर्पस फाइनान्स, सनराइज फर्स्ट म्युचुअल फन्ड र पाँचथर पावर कम्पनीका लगानीकर्ताले पनि गुमाएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया