ad ad

कारोबार


कस्तो बन्ने भयो उद्योग महासंघ? विजेताहरु भन्छन् : एक ढिक्का भएर अघि बढ्छौँ

कस्तो बन्ने भयो उद्योग महासंघ? विजेताहरु भन्छन् : एक ढिक्का भएर अघि बढ्छौँ

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १०:१०,

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमति बनेको छ। शनिबार भएको निर्वाचनले महासंघको नयाँ कार्यसमिति छनोट गरेको हो।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोहीअनुसार शेखर गोल्छा अध्यक्ष भएका छन्।

यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा थियो। उक्त पदमा चन्द्र ढकाल निर्वाचित भएका छन्। उनले किशोर प्रधानलाई पराजित गरेका हुन्।

यसबाहेक महासंघमा अन्य ३ जना उपाध्यक्ष रहने प्रावधानअनुसार एसोसिएटतर्फ रामचन्द्र संघई निर्वाचित भएका छन्। उनले सौरभ ज्योतिलाई पराजित गरेका हुन्।

त्यस्तै, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। उनले उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन्। त्यस्तै जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्। उनले गुणनिधि तिवारीलाई पराजित गरेका हुन्।

अन्य कार्यसमिति सदस्यहरुमा एसोसिएटतर्फ अम्बिका पौडेल, अविनाश बोहरा, आनन्द बगरिया, कृष्णलाल महर्जन, गोपाल खनाल,
ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, भरत आचार्य, रञ्जित आचार्य, राजेश अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, साहिल अग्रवाल, शैलेन्द्र गुरागाईं, सुशील थापा, सञ्जय गिरी, हेमन्त गोल्छा निर्वाचित भएका छन्।

त्यस्तै जिल्ला नगरतर्फ निर्वाचित हुनेमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्र बहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का र सुरकृष्ण वैद्य छन्।

यस्तै, कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन पनि जिल्ला नगरबाट महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्।

वस्तुगतमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, मनिषलाल प्रधान, अरनिको राजभण्डारी, सुमितकुमार केडिया, सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज ढकाल, शकुन्तलाल हिराचन, सुबोधकुमार गुप्ता, आकाश अधिकारी, विष्णु गैरे विजयी भए।

महासंघमा यो वर्ष दुई प्यानल भएर निर्वाचनमा गएको थियो। एक प्यानलको नेतृत्व किशोर प्रधानले गरेका थिए भने अर्को प्यानलको नेतृत्व चन्द्र ढकालले गरेका थिए। अध्यक्ष चयन पक्का भइसकेको शेखर गोल्छाले किशोर प्रधानको प्यानललाई सहयोग गरेका थिए।

प्रधान प्यानलबाट पदाधिकारीमा अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ निर्वाचित भए भने चन्द्र ढकाल प्यानलबाट स्वयम् चन्द्र ढकाल, रामचन्द्र संघाई निर्वाचित भए। अन्य कार्यसमिति सदस्यहरुमा भने आधाआधाजसो निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले प्रधानविरुद्ध जित हात पार्दा अन्य सदस्यहरुमा भने बराबरजस्तो मत आएको देखिएको छ।

यसो भन्छन् विजेताहरु
यसरी मिश्रित परिणाम आए पनि आफूहरु एक ढिक्का भएर जाने निर्वाचित पदाधिकारीहरुले बताएका छन्। निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको बताउँदै आफ्नो जितलाई व्यवसायीको जितसँग तुलना गरे।

प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाए।

‘योभन्दा पहिला पनि भनेको थिएँ। हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो। आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो। निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु’, उनले भने, ‘निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौँ। मेरो जित भनेको सम्पूर्ण व्यावसायिक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ।’

यस्तै एसोसिएटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए।

उनले निर्यातमूलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैँमा सबल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए।

त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सबल बनाउँदै पुँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उनले उल्लेख गरे।।

वस्तुगततर्फको उपाध्यक्षमा विजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जनाए।

उनले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए।

उनले भने, ‘कोरोनाको कहर सकिएको छैन। विस्तारै जनजीवन सामान्य बन्दै गर्दा व्यवसाय पनि चल्दै गएको छ। कोरोना बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ। यसमा निजी क्षेत्रको सबैभन्दा ठूलो भूमिका छ। सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ।’

सरकारसँग सीमित साधन र स्रोत रहेको भन्दै उनले सरकारसँग निजी क्षेत्रले लगानी गर्ने अवसर र वातावरण खोज्ने बताए।

त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिने उनको भनाइ छ।

उनले भने, ‘लगानीका लागि वातावरण हुनुपर्यो। लगानी सुरक्षा हुनुपर्यो। सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्यमी व्यवसायीको समस्या यही हो। यही समस्यालाई हामीले समाधान गर्नेतर्फ अगाडि जाने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .