धौलागिरि हिमालको हिउँ पग्लेर बग्ने म्याग्दी खोलाको छेउमा छ तातोपानी कुण्ड।
वि.सं. २०४२ सालमा दर्ता भएको तातोपानी कुण्ड प्राकृतिक उपचार केन्द्रको रुपमा पनि परिचित छ।
पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवालगायत राज्यको उच्चपद हाँकिसकेका नेताको भ्रमण तथा स्नानले तातोपानी कुण्डको प्रचारप्रसार भएको थियो।
म्याग्दीको बेनी र दर्वाङको बीचमा रहेको तातोपानी कुण्डमा दैनिक १२ सय जनासम्मले स्नान गर्दै आएका थिए। विशेषगरी असोजदेखि फागुनसम्म यहाँ नुहाउनेको अत्यधिक भीड हुने गरेको स्थानीयबासी बताउँछन्।
तर हाल भने कोभिड १९ महामारीका कारण अघिल्लो वर्ष चैत ८ गतेदेखि नै यो कुण्ड बन्द छ। त्यसकारण तातोपानीमा नुहाउन आउने बिरामी र स्थानीय व्यवसायी दुवै प्रभावित भएका छन्।
स्थानीय बासिन्दाहरुका अनुसार अधिकांश मानिस स्वास्थ्यलाभ लिन कुण्डमा आउने गरेका थिए। तातोपानी कुण्ड खोल्नासाथ भीडभाड हुनसक्ने र महामारीको प्रभाव कायमै रहेको अवस्थामा कोरोनाले उग्ररुप लिनसक्ने डरले अहिलेसम्म कुण्ड खोलिएको छैन।
तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण बहादुर खड्काले तातोपानी कुण्ड हाइड्रो थेरापीको लागि प्रचलित भएको बताए। अहिलेसम्म कुण्डमा नुुहाउने पोखरी निर्माणबाहेक उपचारको लागि कुनै पनि प्रविधि जडान गरिएको छैन।
‘गण्डकी प्रदेशकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापनाका लागि भौतिक संरचना बनाउँदै छौँ’, सचिव खड्काले नेपालखबरसँग भने, ‘प्राकृतिक उपचारअन्तर्गत न्याचुरोप्याथी, फिजियोथेरापी र आयुवेर्दिक उपचार गर्ने योजनामा छौँ।’
उनले ३ किसिमका डाक्टरको लागि व्यवस्थापन समितिले बजेट समेत विनियोजन गरेको जानकारी दिए। उनका अनुसार फिजियोथेरापी, न्याचुरोप्याथी र आयुर्वेद डाक्टरको माग गरिएको छ।
खड्काले बहुउद्देश्यीय भवन निर्माणका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको र भवनमा प्रविधि जडानका लागि प्रदेश सरकारले ५० लाख बजेट दिएको बताए।
अहिले तातोपानी कुण्डमा बहुउद्देश्यीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। भवनलाई फिजियोथेरापी, प्राकृतिक उपचार र आयुवेर्दिक गरी ३ भागमा बाँडेर काम गर्ने योजना बनाइएको छ।
कस्ता रोगका लागि जाने तातोपानी कुण्ड?
तातोपानी कुण्डमा २० वाई ४० को पोखरी छ। पोखरीमा एकैपटकमा ३ सय ५० जनासम्म अट्छन्। कुण्डको पानीमा ४५ डिग्रीदेखि ४८ डिग्रिसम्मको तातोपानी छ।
पोखरीको बाहिर धारामा ५० देखि ५३ डिग्रीको तातोपानी रहेको छ। कुण्डमा नुहाउनका लागि देश तथा विदेशदेखि नै मानिसहरु आउने गरेका छन्।
कुण्डमा नुहाउँदा युरिक्यारिड, ग्यास्ट्रिक, छालाको बिरामी, सड्के–मड्केको, भीरबाट लडेको, सवारी दुर्घटनामा घाइते (जसलाई देखिने ठूलो चोट छैन) उनीहरुले कुण्डको तातोपानीमा नुहाउँदा केही दिनमै शरीर पहिलेकै अवस्थामा फर्किने कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बर्जेको रोग यसले छिटै निको पर्छ। पानीमा बिरेनुन र गन्धकको मात्रा भएको कारण यहाँको पानी पिउँदा ग्याष्ट्रिकको समस्या पनि समाधान हुन्छ।
कुण्डमा कति दिन नुहाउने भन्ने बिरामी वा रोगअनुसार फरक पर्ने गर्छ। एक हप्तादेखि लिएर १ महिना ४० दिनसम्म कुण्डमा नुहाएर धेरै रोग निको भई घर गएका छन्। केही रोगीमा भने एक वर्षपछि फेरि रोग देखिने गरेको छ। तर फेरि आएर नुहाउँदा ठीक हुन्छ। कुनै बिरामी २–३ वर्ष आएर नुहाएपछि सधैंका लागि रोग ठीक भएको समेत श्रेष्ठले बताए।
तातोपानी व्यवस्थापन समितिले तातोपानी रहेका देशका १२–१३ स्थानको अध्ययन भ्रमण गरेको थियो। तर नेपालको अन्य ठाउँमा म्याग्दीको जस्तो व्यवस्थित नभएको उनीहरुले बताएका छन्।
अन्य ठाउँको पानीको तापक्रम नुहाउनै नसकिने गरी तातो र कुनै ठाउँमा मनतातो पानी मात्रै भेटिएको श्रेष्ठले अनुभव सुनाए।
पाहुनाको दानले कुण्ड व्यवस्थापनसँगै विद्यालय सञ्चालन
तातोपानी कुण्डमा स्नान गर्ने मानिसको दान तथा शुल्कले कुण्डको भौतिक संरचनासँगै विद्यालय समेत सञ्चालनमा रहेको छ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले तातोपानी कुण्डमा नुहाउन आउनेको सहयोगबाटै भौतिक संरचना निर्माण गरिएको बताए।
भीडभाड हुने समयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै नुहाउने व्यवस्था मिलाइएको छ। कुण्डमा पोखरीबाहेक बाथ टब, स्विमिङ पुल ढाँचामा तातोपानी तानेर नुहाउने व्यवस्था समेत गरिएको छ।
‘तातोपानी कुण्डमा स्नान गर्न आउने आगन्तुकबाट लिएको रकम तथा सहयोगदाताबाट सरस्वती मावि सञ्चालन गरेका छौँ’, सहसचिव केसीले नेपालखबरसँग भने, ‘वार्षिक २० देखि २५ लाख रुपैयाँ विद्यालयलाई दिने गरिएको छ। सरकारी तहको पारिश्रमिक पाउने गरी त्यहाँ १०/१२ शिक्षकशिक्षिका राखेका छौँ।’
नौ महिनादेखि तातोपानी कुण्डको आम्दानी नहुँदा एकदमै अप्ठ्यारोमा परेको उनले बताए। विद्यालयको खर्चसँगै कुण्डको आन्तरिक संरचना बनाउनका लागि हम्मे–हम्मे परिरहेको केसीले बताए।
तातोपानी कुण्डको आसपास करिब साढे ३ सय घरधूरी रहेका छन्। त्यहाँका होटल तथा बजार पर्यटककै कारण चलायमान थिए। कुण्डनजिकैका गाउँमा उत्पादन गरेको वस्तु स्थानीय बजारमै खपत हुने गरेको थियो तर अहिले कोरोनाको कारण होटल र होमस्टेहरु मारमा परेका छन्।
स्थानीय होटल व्यवसायी पदम बानियाँले नौ महिनादेखि होटल बन्द हुँदा आफूहरुको व्यवसाय मारमा परेको बताए।
कुण्ड व्यवस्थापन समितिले सरकारी स्वास्थ्य मापदण्ड पालना गरी फेरि कुण्ड सञ्चालन गर्ने छलफल अघि बढाएको छ। तर कहिले खुल्ने निर्णय भने भइसकेको छैन।
‘सरकारी स्वास्थ्य मापदण्ड पालना गरी माघसम्म खोल्ने योजनामा छौँ। स्थानीय सरकारसँगको छलफलपछि निर्णय गर्छौँ’, केसीले भने।
Shares
प्रतिक्रिया