ad ad

कारोबार


अर्थतन्त्रमा कोभिड असर न्यूनीकरणमा सरकारले प्रमुख भूमिका निर्वाह गर्छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा कोभिड असर न्यूनीकरणमा सरकारले प्रमुख भूमिका निर्वाह गर्छ : अर्थमन्त्री पौडेल

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ७:८,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको तर निजी क्षेत्रले साथ दिनुपर्ने बताएका हुन्।

सरकार अग्रभागमा रहने भए पनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए। सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतिहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको स्पष्ट पारे।

अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको सामना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित भएर सरकार अगाडि बढिरहेको पनि अर्थमन्त्री पौडेलले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न विशेष कार्यक्रम आवश्यक रहेको बताए।

प्रत्यक्ष अनुदान, राजस्व छुट, सावाँ ब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने गोल्छाको भनाइ छ।

यस्तै कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिड १९ को प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको बताए।

दोहोरो आर्थिक वृद्धि, वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने र देशको व्यापारघाटा कम गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष गोल्छाले स्पष्ट पारे।

लगानी वृद्धि, रोजगारी विस्तार र व्यावसायिक वातावरण निर्माणको लागि अहिले रहेका एक दर्जन बढी नीति एवं कानुनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरवलोकन एवं विस्तार गर्नुपर्ने देखिएको बताए।

कार्यक्रम नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोभिडको प्रतिकूल अवस्थामा पनि केही सूचकहरु राम्रै देखिएकाले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए।

उच्च मनोबल बनाएर लगानी वृद्धि गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्नुपर्ने अध्यक्ष मोरले बताए। यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेस कष्ट बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सकरारले ध्यान दिनुपर्ने बताए।

सेजनको २३औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिँदै आएको सेजन अवार्डबाट यस वर्ष छापातर्फ बालकृष्ण ज्ञवाली र विद्युतीय माध्यम तर्फबाट शोभित थपलियालाई प्रदान गरेको छ। यस्तै फेलोसिपतर्फ हाइड्रो फेलोसिप जीवन बस्नेत र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप लक्ष्मी सापकोटालाई प्रदान गरेको छ।

सेजन सम्मानबाट पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .