ad ad

कारोबार


आन्तरिक उडान सामान्य अवस्थातर्फ, बसका यात्रु नै चढ्नथाले हवाइजहाज

आन्तरिक उडान सामान्य अवस्थातर्फ, बसका यात्रु नै चढ्नथाले हवाइजहाज

वसन्त अर्याल
मंसिर १७, २०७७ बुधबार १०:१०,

कोभिड १९ का कारण शिथिल बनेको आन्तरिक हवाइ उडान सामान्य अवस्थातर्फ फर्किन थालेको छ।

०७६ चैत ११ देखि बन्द भएको आन्तरिक उडान असोज ५ देखि खुलेको थियो। सुरुमा यात्रुको चाप कम भए पनि चाडपर्वले यात्रुको चाप बढेको थियो।

तर दसैँ, तिहार, छठजस्ता ठूला चाडबाड सकिएपछि पनि हवाइ यात्रु दैनिक बढेको हवाइ सेवा कम्पनीले बताएका छन्। आन्तरिक उडानतर्फ दैनिक ८ हजार बढी यात्रु रहेको कम्पनीहरुको भनाइ छ।

छ महिनासम्म हवाइ गतिविधि ठप्प हुँदा कम्पनीकै अस्तित्व जोगाउन हम्मेहम्मे परेका कम्पनीलाई यात्रु पाउँदा केही राहत मिलेको छ।

विश्वभर फैलिएको कोभिडका कारण अन्य देशमा २–३ महिना मात्रै आन्तरिक उडान बन्द भए पनि नेपालमा ६ महिनासम्म बन्द हुँदा कर्मचारीको तलब र बैंकको ऋण कसरी तिर्ने चिन्तामा एयरलाइन्स पुगेका थिए।

बुद्ध एयरले अहिले दैनिक ५ हजार बढी यात्रुलाई सेवा दिइरहेको बताएको छ। सामान्य अवस्थामा दैनिक करिब ७ हजार यात्रुलाई सेवा दिँदै आएको बुद्धले अहिले ५ हजार बढी यात्रु हुँदा आन्तरिक उडान सामान्यतर्फ गएको बताएको हो।

buddha air udan

कोभिडअघि मुख्य हवाइयात्रु नेपाली उच्चवर्ग र विदेशी पर्यटक हुने गरेका थिए। अधिकांश विदेशी पर्यटक नेपालमा विभिन्न पर्यटकीय गन्तव्यमा जानको लागि आन्तरिक उडानको प्रयोग गर्दै आएका थिए।

गण्डकी प्रदेशमा जाने पर्यटकले पोखरा विमानस्थलको प्रयोग गर्छन् भने लुम्बिनीमा जाने पर्यटकले भैरहवा विमानस्थल र कर्णाली जाने पर्यटकले सुर्खेत तथा नेपालगञ्ज विमानस्थलको प्रयोग गर्दै आएका छन्।

त्यसैगरी सौराहा जानेले भरतपुर विमानस्थल, खुम्बु क्षेत्रमा जाने पर्यटक लुक्ला विमानस्थल, इलामसहित पूर्व क्षेत्रको भ्रमणका लागि भद्रपुर र विराटनगर विमानस्थल प्रयोग गर्दै आएका छन्।

तर अहिले यी विमानस्थल हुँदै घुम्न जाने पर्यटक नहुँदा पनि आन्तरिक यात्रुको आउजाउले जहाज चल्न पाएका छन्।

‘विदेशी पर्यटक नहुँदा पनि अहिलेजति यात्रु पाउनु एयरलाइन्स कम्पनीहरुका लागि राम्रो हो’, बुद्ध एयरका बजार प्रबन्धक रुपेश जोशीले भने, ‘नेपालमा विदेशी पर्यटक आउन सुरु भयो भने पहिलेभन्दा बढी हवाइ यात्रु हुने देखिन्छ।’

जोशीले अहिले हवाइयात्रा गर्ने मध्यम वर्गीय यात्रु रहेको जानकारी दिए।

yeti airlines plane

यति एयरलायन्सले पनि आन्तरिकतर्फ दैनिक २५ सयसम्म यात्रु हुने गरेको बताएको छ। एयरलाइन्सले सामान्य अवस्थाकै जस्तो यात्रु नभए पनि यात्रुको संख्या उल्लेख्य रहेको बताएको छ।

‘अहिलेको हवाइयात्रु देखेर हामी एकदम खुसी छौँ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले नेपालखबरसँग भने, ‘हवाइयात्रा गर्ने नयाँ यात्रु हुनुहुन्छ। कहिल्यै हवाइ यात्रा नगरेका मानिस जहाजमा यात्रा गर्न थाल्नुभएको छ।’

बर्तौलाले यात्राको लागि बस प्रयोग गर्ने मानिसले जहाज प्रयोग गर्न थालेको बताए।

‘सामान्य अवस्थामा बसमा यात्रा गर्ने मानिस अहिले जहाजमा यात्रा गर्नुभएको छ’, उनले भने, ‘विदेशी पर्यटक शून्य भए पनि बसका यात्रु जहाजमा आउँदा एयरलाइन्स कम्पनीलाई सहज भएको छ।’

सुरक्षित र सस्तो भाडाले हवाइयात्रामा आकर्षण
सामान्य अवस्थाको तुलनामा हवाइभाडा घटेकाले बस प्रयोग गर्ने यात्रुले हवाइ माध्यम प्रयोग गर्नथालेको एयरलायन्सले बताएका छन्। वायुसेवा कम्पनीले हवाइ सञ्चालनको ४० प्रतिशत खर्च इन्धनको मूल्य सस्तो हुँदा हवाइ भाडा कम भएको बताएका छन्।

कोभिडअघिको अवस्थामा १ लिटर तेलको मूल्य १२० देखि १३० रुपैयाँसम्म तिर्ने हवाइ कम्पनीले अहिले ६५ रुपैयाँ मात्रै तिर्दै आएका छन्। सरकारले तेलमा लगाउने कर घटाएसँगै तेलको मूल्य सस्तिएको हो।

यात्रुहरुले हवाइ कम्पनीको भाडा घटेको र छोटो समयमै आफ्नो गन्तव्यमा पुगिने भएकाले हवाइजहाजको प्रयोग गर्न थालेको कम्पनीहरुको दाबी छ।

‘बसमा लमो समय यात्रा गर्नुपर्दा कोरोनाको जोखिम बढी हुन्छ’, यतीका प्रवक्ता बर्तौलाले भने, ‘भाडा पनि कम भएको र छोटो समयमा पनि पुगिने भएकाले आन्तरिक हवाइ यात्रु बढेका हुन्।’

एयरलायन्स कम्पनीले तेलको भाडासँगै अहिले ऋणको किस्ता तिर्नुपर्ने बाध्यता नहुँदा सस्तो भाडामै उडान गर्न सकिएको बताएका छन्।

सरकारले एयरलाइन्स कम्पनीलाई कोभिड १९ बाट अतिप्रभावित क्षेत्र घोषणा गर्दै ऋण तिर्ने समय १ वर्ष थप गरिदिएको छ।

कोभिड १९ को जोखिम बढी हुने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा खाना लगायतका सुविधा बन्द गर्ने मापदण्डले पनि एयरलायन्सको खर्च कर्टौती भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .