ad ad

कारोबार


आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि दुईदिने विदाको अवधारणा : मन्त्री भट्टराई

आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि दुईदिने विदाको अवधारणा : मन्त्री भट्टराई

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १०:४२,

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन्।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताए।

नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्ब विदेशी मुद्राआर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ। खोप सुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो।’

आन्तरिक पर्यटन प्रवर्द्धन गर्नकै लागि दुई दिने विदाको अवधारणा अगाडि ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको बताए।
उनले भने –‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ। सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौँ।’

तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल नहुने उनको भनाई थियो।

‘हिजो असफल भयो होला तर त्यही कुरा समय र परिस्थिति बदलिँदै जाँदा सफल पनि हुन्छ’ मन्त्री भट्टराईले भने, ‘ यसलाई थोरै समय काम गरेरै धेरै उत्पादन दिने कोणबाट पनि हेर्नु पर्छ।’

महामारीका कारण एक वर्षसम्म बन्दाबन्दीको अवस्थामा रहँदा मानिसमा उकुस–मुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने पनि उनले बताए।

‘एक वर्षपछि नेपाल आउने पर्यटकको बाँध फुट्न सक्छ त्यसैले हामीले त्यसका लागि पूर्वतयारीका कामगरिरहनु जरुरी छ’ मन्त्री भट्टराईले भने।

 कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केही गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा राखे।

उनले भने, ‘यो महामारीको पूर्वानुमान मै हुँ भन्ने सम्पन्न र ठूला देशहरुलाई पनि थिएन। कोभिडलाई लिएर आज अमेरिकी सरकारको पनि आलोचना भइरहेको छ। तर, हामीसँग जति साधन, स्रोत थियो, त्यसको भरपूर परिचालन गरेर काम गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .