ad ad

कारोबार


धितोपत्र बोर्डले घटायो सेयर ब्रोकरको कमिसन, कुन कारोबारमा कति लिन पाउने?

धितोपत्र बोर्डले घटायो सेयर ब्रोकरको कमिसन, कुन कारोबारमा कति लिन पाउने?

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:५,

नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर अर्थात् धितोपत्र दलाल व्यवसायीले लिने कमिसन रकम घटाएको छ।

बोर्डले पछिल्लो समय अनलाइनमार्फत नै ८५ प्रतिशतभन्दा बढी कारोबार भएको र अन्तर्राष्ट्रिय अभ्यास समेतलाई हेरेर सेयर ब्रोकरले कारोबारमा पाउने कमिसन रकम घटाएको हो।

धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवाबापत लिदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाइ तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी पुनरवलोकन गरिएको हाे।

बोर्डका अनुसार अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवाशुल्कबापत ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिसन लिन पाइनेछ। त्यस्तै ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाखसम्म ०.३४ प्रतिशत, २० लाखभन्दा माथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडमाथिको जुनसुकै कारोबारमा ०.२७ प्रतिशत मात्रै कमिसन लिन पाइनेछ।

त्यस्तै बोर्डले नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क पनि पुनरवलोकन गरेको छ।

यसअनुसार ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१० प्रतिशत, ५ लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.०५ प्रतिशत र ५० लाखभन्दा माथि जतिसुकै कारोबारमा ०.०२ प्रतिशतमात्रै कमिसन लिन पाइनेछ।

उक्त दुईबाहेक सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क पनि बोर्डले तोकिदिएको छ। यसअनुसार ५ लाखसम्मको कारोबारमा ०.१५ प्रतिशत, ५ लाखमाथि ५० लाखसम्मको कारोबारमा ०.१२ प्रतिशत र ५० लाख रुपैयाँभन्दा माथि जतिसुकैको कारोबारमा ०.१० प्रतिशत मात्र कमिसन लिन पाइनेछ।

त्यस्तै बोर्डले उक्त तीन किसिमको सेयर कारोबारको कमिसन तोकिए पनि धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क १० रुपैयाँभन्दा कम नहुने स्पष्ट पारेको छ। त्यस्तै प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले माथिका सबै सेयर कारोबारबमोजिम प्राप्त गरेको कुल सेवा शुल्कका शून्य दशमलव छ प्रतिशत रकम नियमन शुल्कको रुपमा बोर्डलाई बुझाउनुपर्ने बोर्डले जनाएको छ।

त्यस्तै धितोपत्र दलालले कारोबार सेवा प्रदान गरेबापत बोर्डले तोकेको बाहेक अन्य रकम ग्राहकबाट लिन नपाउने व्यवस्था गरेको बोर्डले जनाएको छ। बोर्डका अनुसार धितोपत्र व्यापारीले धितोपत्र कारोबार दस्तुरबापत कारोबार रकमको ०.०२ प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनुपर्नेछ।

यसबाट सेयर, ऋणपत्र, सामूहिक लगानी योजना लगायत अन्य धितोपत्रको कारोबारमा वृद्धि हुनुका साथै नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने अपेक्षा रहेको बाेर्डले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .