ad ad

कारोबार


दुहबीमा नर्भिकले अस्पताल चलाउने, काठमाडौंस्तरकै सेवा दिइने

दुहबीमा नर्भिकले अस्पताल चलाउने, काठमाडौंस्तरकै सेवा दिइने

नेपालखबर
पुस २०, २०७७ सोमबार १४:१२,

पूर्वी नेपालको चर्चित औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा अब देशकै प्रतिष्ठित र अग्रणी निजी अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटल स्तरकै स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ।

चौधरी ग्रुपले सुनसरीको दुहबीमा अवस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी हस्पिटललाई मर्मतसम्भार र आधुनिकीकरण गरी काठमाडौंको नर्भिक अस्पताल स्तरकै सेवा प्रवाह गर्न लागेको हो।

यो अस्पताल विगत ३ वर्षदेखि बन्द अवस्थामा छ। अस्पतालका भवनहरुमा झार पलाइसकेका छन्। उराठलाग्दो भइसकेको अस्पताललाई नर्भिक अस्पतालले पुनर्जीवन दिन लागेको हो।

नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीकाअनुसार नर्भिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सिएसआर)अन्तर्गत दुहबीको सो अस्पताललाई पुनः संचालनमा ल्याउने र स्तरोन्नति गर्ने उद्देश्यले ५ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।

दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको चौधरीले बताएका छन्।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण पनि उपलब्ध गराउनेछौं।’

बन्द हुनुअघिसम्म १५ शय्या क्षमतामा सीमित सो अस्पताललाई २५ शैयामा स्तरोन्नति गरी व्यवस्थित ढंगले संचालन गर्ने र यो कार्य ६ महिनाभित्र पूरा गरिसक्ने चौधरीले घोषणा गरेका छन्।

नर्भिकको सिएसआरअन्तर्गत अस्पताल संचालन हुने भएकोले त्यहाँबाट सेवा लिँदा सर्वसाधारणले न्यून चार्जेजहरु मात्र तिर्नुपर्ने व्यवस्था गरिनेछ।

‘बेला बेला नर्भिकबाटै पनि स्वास्थ्यकर्मीको टोली अस्पतालमा गएर सेवा दिनेछन्’ चौधरीले थपे, ‘नियमित रुपमा त्यहाँ पनि चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको टोली उपचार सेवाका लागि उपलब्ध हुनेछन्।’

चौधरीले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले जुन स्तरको सेवा दिन्छ, सो च्यारिटी अस्पतालले समेत सोही स्तरको सेवा दिने उल्लेख गरेका छन्।

खिचातानीको शिकार
चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास ०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए।

तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।

सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो। यही दुःखलाई अन्त गर्ने उद्देश्यले सो बेला पनि चौधरी ग्रुपले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत नै सो अस्पताल संचालनमा ल्याएको थियो।

अस्पतालको उद्घाटन तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए। उद्घाटनपछिका केही वर्षसम्म अस्पतालले निकै राम्रो सेवा दिएको थियो। तर, समयक्रमसँगै सो अस्पताललाई स्थानीय राजनीतिक दलहरुले स्वार्थ पूर्ति गर्ने थलो बनाउन थालेपछि अस्पतालको सेवाको गुणस्तर घट्दै जान थाल्यो। फलस्वरुप अस्पताल करिब ३ वर्षदेखि बन्द हुन पुग्यो।

बन्द भइसकेको अस्पताललाई पुनर्जीवन दिनका लागि चौधरीले धेरै प्रयास गर्दा पनि स्थानीय राजनीतिक खिचातानीले त्यो संभव भएको थिएन।

‘राजनीतिक खिचातानीकै शिकारकै कारण हामीले चाहेअनुसार र वास्तविक स्वास्थ्य सेवा दिन सकेनौं, त्यसमा संचालक समिति दुःख र खेद प्रकट गर्दछ’ अस्पतालको संचालक समितिका उपाध्यक्ष गौरीशंकर रौनियारले भने, ‘अब भने यो अस्पताललाई राजनीतिक खिचातानीभन्दा पर राखेर पुनः संचालन गर्ने जमर्को गरेका छौं।’

यो अस्पताल संचालनका लागि आवश्यक प्राविधिक सहयोग नर्भिक अस्पतालले गर्ने भए पनि अस्पताललाई राम्रो ढंगले संचालनका लागि स्थानीयहरुकै सहभागितामा संचालक समिति बनाइनेछ। चौधरी ग्रुपले दुहबीबासीलाई उपहारको रुपमा यो अस्पताललाई स्तरोन्नति गरी स्तरीय बनाइदिने र यसको रेखदेख र संरक्षण स्थानीयले गर्नुपर्नेमा रौनियारको जोड छ।

‘चौधरी ग्रुपले दुहबीबासीका लागि वर्षौंदेखि गरिरहेको यो माया र स्नेहका लागि हामी अनुग्रहित छौं’ स्थानीय सामाजिक अगुवा समेत रहेका रौनियारले भने, ‘बन्द भइसकेको अस्पताललाई पुनर्जिवीत गराउने कुराले हामी दुहबीबासी उत्साहित भएका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .