ad ad

कारोबार


२३ अर्बमा बन्दैछ भक्तपुर पूर्व–दक्षिणमा आग्नेय सहर

२३ अर्बमा बन्दैछ भक्तपुर पूर्व–दक्षिणमा आग्नेय सहर

वसन्त अर्याल
चैत १२, २०७७ बिहिबार १२:५३,

सरकारले भक्तपुरमा आधुनिक सेवा सुविधासहित ‘आग्नेय’ सहर निर्माण गर्दै छ।

काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा सहरीकरणलाई व्यवस्थित गर्न नगरहरुको पुनर्निर्माण, विस्तार र विकासका योजनाबद्ध भौतिक विकास गर्ने योजनाका साथ नयाँ सहरको अवधारणा ल्याइएको हो।

सर्वसाधारणलाई आवश्यक सेवा सुविधा पु¥याउन र भएका सुविधा समेत बढ्ने गरी सहर निर्माण गर्न लागिएको हो।

यस्तो छ आग्नेय सहरको चार किल्ला
काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र बन्ने आग्नेय सहरको चारकिल्ला निर्धारण गरिसकेको छ।

यसअनुसार सहरको पूर्वी किल्ला सिर्जना नगरचोकदेखि अरनिको राजमार्ग, घ्याम्पे डाँडासडक हुँदै सूर्यविनायक जंगलको फेदी भएर गुण्डु बसपार्कसम्म छ।

निर्धारित चारकिल्लाअनुसार पश्चिममा बिरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक हुँदै गाम्चाचोकबाट हनुमन्ते पुल हुँदै थिमी बिरुवा रोडसम्म यो सहर फैलिनेछ।

त्यस्तै उत्तरमा हनुमन्ते पुल (सिबर्ड इन्टरनेशनल कलेज) सिर्जना चोक र दक्षिणमा गुण्डु बसपार्कदेखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै बिरुवा बसपार्कसम्म चारकिल्ला निर्धारण गरिएको छ।

यो पनि –
१ लाख रोपनीमा काठमाडौंभित्र यस्तो बन्दैछ आधुनिक ईशान सहर

सूर्यविनायक नगरपालिकाअन्तर्गतका १, ४, ५, ६ र ७ नं. वडामा पर्ने सहरको चारकिल्लाभित्र थापाटोल, माकाटोल, दधिकोट, कटुन्जे, गम्चा, गुणगाउँ, खड्कागाउँ रहेका छन् ।

प्राधिकरणका अनुसार उक्त क्षेत्रमा सबैभन्दा बढी २२ प्रतिशत जग्गा १ देखि २ रोपनीका छन्।

त्यस्तै ८ देखि १६ आनाका २१ प्रतिशत, ४ देखि ८ आनाका १५ प्रतिशत, २ देखि ४ रोपनीको १२ प्रतिशत, ४ देखि ८ रोपनीका ६ प्रतिशत, ८ रोपनीभन्दा माथिको १० रोपनी क्षेत्र रहेको छ।

सहर पर्ने चारकिल्लामा ४ आनासम्मका करिब १० प्रतिशत जग्गा रहेको प्राधिकरणले जनाएको छ।

‘तत्काल नयाँ सहर निर्माण सुरु नगरे पछि सकिँदैन’
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले सन् १९९० मा यो क्षेत्रमा करिब ६० हेक्टरमा मात्रै बस्ती रहेकोमा अहिले बढेर २ सय बढी हेक्टरमा अव्यवस्थित संरचना निर्माण भएको बताए।

त्यसकारण पनि अहिले नै व्यवस्थित सहर विकास गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

‘पछिल्लो समय झन् अव्यवस्थित रुपमा भौतिक संरचना निर्माण भइरहेका छन्। तत्काल नयाँ सहर निर्माण सुरु नगरे पछि सकिँदैन’, तिवारीले नेपालखबरसँग भने।

प्रस्तावित सहरमा अहिले साँघुरा बाटा छन्। तर सहर निर्माणपछि हरेक घरमा पुग्ने बाटो कम्तीमा २० फुटका अर्थात् ६ मिटर फराकिला हुनेछन्।

यो पनि –
कहिले अघि बढ्छ ईशानसहित तीनवटा व्यवस्थित सहर निर्माण?

नयाँ सहरमा प्राथमिक विद्यालयदेखि कलेजसम्म हुनेछन्। सहरभित्र विभिन्न ठाउँमा छुट्टाछुट्टै बजार हुनेछ। प्रदर्शनी केन्द्र, बहुउद्देश्यीय भवन, पुस्तकालय, हस्पिटल, बस स्टेसनहरु, फायर स्टेसन, पुलिस स्टेसनलगायतको निर्माण हुनेछ।

विभिन्न आयवर्गका व्यक्तिहरुको निमित्त आधारभूत आवासको आवश्यकता पूरा गर्नको लागि आवास घडेरीको व्यवस्था गरिनेछ।

सरकारले योजना क्षेत्रभित्रको कुनै भागमा रहेका जग्गाका विभिन्न कित्ताहरुलाई एकीकरण गरी सो जग्गामा भौतिक विकास योजनाअनुरुप सेवा सुविधाको व्यवस्था गर्ने जनाएको छ।

त्यस्तो सेवा सुविधाको व्यवस्था गर्दा लागेको खर्च विकसित घडेरीहरु बेची असुल गर्ने र बाँकी विकसित घडेरीहरु साबिककै जग्गाधनी वा मोहीहरुलाई समानुपातिक आधारमा फिर्ता हुनेछ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले आफ्नो काम सञ्चालन गर्नको लागि आवश्यक पर्ने खर्चको लागि नेपाल सरकारको पूर्वस्वीकृति लिई ऋण लिन, अनुदान प्राप्त गर्न वा अन्य कुनै किसिमबाट आर्थिक स्रोत जुटाउन सहर निर्माण गर्नसक्ने कानुनी व्यवस्था गरेको छ।

२ खर्बको मेट्रोरेल, शिव सर्किट योजना 
यो सहर अरनिको राजमार्गसँग जोडिएको छ। सरकारले नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल निर्माण गर्ने योजना अघि सारेको छ। मेट्रोरेल नयाँ सहर सूर्यविनायक हुँदै जाने भएकाले त्यसले सहरी यातायातलाई सहज बनाउनेछ। करिब ४५ किलोमिटरको मेट्रोरेलमा करिब २ खर्ब लाग्ने अनुमान छ।

यसबाहेक बाहिरी चक्रपथ, राष्ट्रिय प्राणी उद्यान, शिव सर्किटजस्ता परियोजना पनि छन्।

यो पनि –
बैंकको ब्याजदर घट्दा दोब्बरले बढ्यो घरजग्गा कारोबार

सहर छेउमा राष्ट्रिय प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण भइरहेको छ। सेतीदेवी, सूर्यविनायक, सञ्जीवनी, लिखानारायण, मन्थली, बालकुमारी र गौरादेवीगरी सातवटा सामुदायिक वनको २४५ हेक्टर क्षेत्रफलमा उद्यान बन्दै छ।

हाल ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखानामा पर्याप्त ठाउँ नभएका कारण नयाँ वन्यजन्तु ल्याउन जुलोजिकल पार्क निर्माण गर्ने प्रकिया अघि बढेको हो। पार्कमा बाँदर, बँदेल, मृगलगायत विभिन्न प्रजातिका चराका लागि पर्याप्त खेल्ने स्थान हुनेछ।

त्यस्तै सूर्यविनायक नगरपालिकाभित्रका सबै शिवालय समेटेर शिव सर्किट यही सहरभित्र बन्नेछ।

लटरम्वेश्वर, आशापुरेश्वर, कैलाशनाथ, नन्दीकेश्वर, डोलेश्वर, सुवर्णेश्वर, अनन्तलिंगेश्वर, सोमलिंगेश्वर, गुप्तेश्वर, धर्मेश्वर र चरखण्डी गरी ११ शिवालय जोडेर शिव सर्किट बनाउन लागिएको नगरपालिकाले जनाएको छ।

‘शिव सर्किटको डीपीआर तयार भइसकेको छ’, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले भने, ‘कोभिडको कारण अघि बढाउन सकिएको छैन।’

उनले राष्ट्रिय प्राणी उद्यानको तारबारको काम भइरहेको समेत जानकारी दिए। 

२३ अर्ब २५ करोड लागत
सहरभित्र कम्तीमा ६ मिटरदेखि ३० मिटरसम्मको सडक हुनेछन्। २ वटा २२ मिटरका सडक बनाउने प्रस्ताव गरिएको छ। जसको लागि करिब ७५ करोड खर्च लाग्ने अनुमान छ।

११ मिटरको सडक विस्तारको लागि १ अर्ब, ८ मिटरको सडक विस्तारको लािग १ अर्ब ४३ करोड, हरेक घरमा पुग्ने ६ मिटरको सडकको लागि ३ अर्ब १२ करोड रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ।

यो पनि –
केबलकार र सुरुङमार्गले चन्द्रागिरिमा जग्गाको मूल्य तेब्बर

सहरभित्र खानेपानी व्यवस्थापनको लागि २ अर्ब १० करोड, फोहोरपानी व्यवस्थापनको लागि करिब ५ अर्ब, जग्गा विकासको लागि २ अर्ब, फोहोर व्यवस्थापनमा ५८ करोड र सञ्चारको लागि ३० करोड लाग्ने अनुमान छ ।

५ प्रतिशत खुल्ला क्षेत्रको विकासको लागि २ अर्ब १३ करोड लाग्ने प्राधिकरणले बताएको छ। यस आयोजनाको कुल लागत २३ अर्ब २५ करोड रहेको छ।

कुल क्षेत्रफलमध्ये हाल यस आयोजनामा सडक क्षेत्र ४ प्रतिशत अर्थात् ७५४.८३ रोपनी खहरे खोलाले ४८३.३५ रोपनी अर्थात् २ प्रतिशत, निजी जग्गा ६४ प्रतिशत अर्थात् ११ हजार ८८८ रोपनी जग्गा छ।

त्यसैगरी सरकारी जग्गा ७३.१ रोपनी, पर्ती जग्गा ६८६ रोपनी अर्थात् ३.६९ प्रतिशत, वन क्षेत्रले ५३६.४४ रोपनी अर्थात् २.८ प्रतिशत, गुठीले ३६३ रोपनी अर्थात् १.९ प्रतिशत, कुलोको ३५ रोपनी र स्वामित्व नखुलेको ३ हजार ७ सय ४८ अर्थात् २० प्रतिशत नखुलेको जग्गा रहेको छ।

नयाँ सहरमा सडक क्षेत्र १८.८७ प्रतिशत, निजी जग्गाले ८ हजार ५१० रोपनी अर्थात् ४५.८३ प्रतिशत हुनेछ। खुला क्षेत्र ९९६ रोपनी अर्थात् ५.३ प्रतिशत रहनेछ। सहर निर्माणको लागि आयोजनामा जग्गाधनीको औसत योगदान ३५ प्रतिशत रहनेछ।

यो पनि –
उत्तर काठमाडौंमा २६ अर्बमा बन्दैछ हरित सहर, आनाकै १३ लाखले बढ्दैछ मूल्य

सर्भिस प्लटले हजार रोपनी अर्थात् ५.३८ प्रतिशत जग्गा ओगट्नेछ। उक्त जग्गा प्रतिआना २५ लाखका दरले बिक्री गर्दा ४० अर्ब प्राप्त हुने प्राधिकरणले जनाएको छ।

५ वर्षमा सकिने आयोजनाका आवश्यक वित्तीय स्रोत जुटाउन नेपालका विभिन्न बैंकहरुबाट ऋण प्राप्त गर्ने सम्बन्धमा पत्राचार भई ऋण प्रवाहको लागि हालसम्म करिब ३० अर्ब प्रतिबद्धता प्राप्त भएको प्राधिकरण प्रमुख तिवारीले बताए।

गत जेठमा बसेको सहरी विकास मन्त्रालय, प्राधिकरणसमेतको प्रतिनिधित्व रहेको भौतिक विकास समितिको बैठकमा ४ वटा नयाँ नगर योजनाको भौतिक विकास योजना स्वीकृति तथा जग्गा प्राप्त गर्न नेपाल सरकारसमक्ष सिफारिश गर्ने प्रस्ताव पेश भएको थियो।

त्यसमध्ये ३ वटा सहरको प्रस्ताव पास भएको थियो। जसमा उपत्यकाको ईशान, आग्नेय र उत्तरी क्षेत्रको सहरको प्रक्रिया अघि बढाइएको हो।

ललितपुरमा भने स्थानीयको असहमतिको कारण योजना अघि बढेको छैन।

त्यसबाहेक ३ सहरको योजना सहरी विकास मन्त्रालयमा पुगेको हो।

मन्त्रालयले भौतिक योजना मन्त्रिपरिषदमा लगेर पास भएपछि सहर निर्माणको काम सुरु हुने तिवारी बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .