ad ad

कारोबार


डिजिटल भुक्तानीका लागि इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य

डिजिटल भुक्तानीका लागि इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य

नेपालखबर
चैत १६, २०७७ सोमबार १३:३४,

डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशील कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ।

सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ।यसलाई डिजिटल बनाउन सहकारी र माईक्रोफाइनान्स्को भूमिका ठुलो रहेको छ। यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ।’

यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले भने, ‘इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्स्लाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुनुका साथै सहकारी र माइक्रोफाइनान्स्को निक्षेप पनि बढ्नेछ। यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ।’

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रोफाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन्। उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन्।

जसबाट सहकारी तथा माइक्रो फाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन्। यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन्।

कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्सका संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा इसेवाका प्रमु्ख रणनीतिक अधिकृत रोशन लामिछाने, इसेवा मनि ट्रान्स्फरका प्रमुख बिजनेस अधिकृत सागर खनाल र इन्फो डेभलपर्सका डेपुटी सिटिओ स्मरण दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेशनल सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँ, नेशनल माईक्रो फाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, सुक्रपथ बहुउदेश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेका बिचमा डिजिटल भुक्तानीको महत्व शिर्षकमा छलफल भएको थियो। छलफलको सहजीकरण कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिस ताम्राकारले गरेका थिए।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन्।

इन्फो डेभलपर्स सूचना प्रविधिको क्षेत्रमा क्रियाशील अग्रणि संस्था हो। सूचना प्रविधिसँग बिगत १७ वर्षदेखि कम्पनीले सहकारी तथा माइक्रो फाइनान्सलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्दै आइरहेको छ। कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र ट्याब्लेट बैंकिङ मार्फत अनलाइन र अफलाइन ब्रान्चलेस बैंकिङ सेवा र क्रेडिट युनियन, बैंक र माइक्रो फाइनान्सका लागि सोलुसन समेत प्रदान गर्दै आएको छ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ। इन्फोडेभलपर्स आईएसओ ९००१ : २०१५ सर्टिफाइड आइसिटी कम्पनी पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .