ad ad

कारोबार


अर्थ समितिका सांसदले नै पाएनन् रकमान्तर र स्रोतान्तरको जानकारी

अर्थ समितिका सांसदले नै पाएनन् रकमान्तर र स्रोतान्तरको जानकारी

दीपक भट्ट
चैत ३१, २०७७ मंगलबार १५:४,

आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरिरहेका सांसदहरुले चालू आवको बजेटमा गरिएकाे रकमान्तर र स्राेतान्तरबारे जानकारी पाउन सकेका छैनन्।

सरकारले चालू आर्थिक वर्षमा ठूलाे रकम रकमान्तर  तथा स्राेतान्तर गरेकाे छ। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले त्यसबारे अर्थ मन्त्रालयसँग जानकारीसमेत मागेकाे थियाे। तर मन्त्रालयले अर्थ समितिलाई जानकारी दिए वा नदिएकोसमेत सांसदहरुले पत्तो पाएका छैनन्।

अर्थ समितिले मंगलबार प्रि बजेट छलफल राखेको थियाे। संसदीय समितिले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयलाई सँगै राखेर छलफल गरेको हो।

आगामी आर्थिक वर्षको बजेटको तयारीको सम्बन्धमा अर्थ समतिले छलफल अघि नै चालू आर्थिक वर्षको बजेटको कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेको थियो। समितिले अर्थलाई पत्रचार गरी साे विवरण माग गरेको जनाएकाे छ। त्यसमा चालू आर्थिक वर्षको बजेटमा समेटिएको आयोजनाहरु अन्तर्गत विनियोजन भएको रकम खर्च गर्न नसक्ने अवस्था आएर गरेको ‘सरेण्डर’, गैरबजेटरी निकासा, रकमान्तर, स्रोतान्तरको अवस्थासमेत माग गरिएको थियो।

तर पत्र पाउनेबित्तिकै अर्थसचिव शिशिर ढुंगानाले अर्थ समितिका केही अधिकारीहरुलाई फोन गरेर यसको सबै विवरण दिन नसक्ने  बताएका थिए।

अर्थसचिव ढुंगानाले यस्तो विवरण उपलब्ध गराउन नसक्ने भन्दै फोन गरेका  समितिका एक सदस्यले नेपालखबरलाई बताए।

तर समितिका अधिकारीहरुले यो विवरण विगतमा पनि माग गर्ने गरिएको बताएपछि अर्थ मन्त्रालयले कूल रकम मात्रै उल्लेख गरेर विवरण पठाएको थियो। आइतबार समितिमा अर्थमन्त्रालयले उपलब्ध गराएको विवरणमा ९७ अर्ब ६४ करोड रुपैयाँ रकमान्तर, ६ अर्ब ६० करोड रुपैयाँ बराबर त्यस्तो स्रोतान्तर, थप निकासा ३० अर्ब ४५ करोड रुपैयाँ गरेको विवरण मात्रै पठाएको छ।

अर्थ मन्त्रालयले के प्रयोजनमा र कुन आयोजनामा कति भनेर खुलाएको छैन। यति ठूलो रकम नेपालको कुन विकास निर्माणको लागि प्रयोग भयो भनेर नै सबैको चासो हुने विषयको जानकारी अर्थसचिव ढुंगानाले दिन नै चाहेनन्। जसबाट संसदहरु नै जानकारीविहीन हुन पुगेका छन्।

विगत वर्षहरुमा संसद बैठकमा एकमुष्ट रकमको जानकारी दिने गरिएकोमा यसपटक सांसदहरुलाई एकमुष्ट विवरणसमेत बाँडिएको थिएन। जबकि विगत वर्षहरुमा यही जानकारी लिएर सांसदहरुले सरकारमाथि प्रश्न गर्ने गर्थे।

अर्थसचिवले सूचना लुकाएको सांसदहरुले पत्तो नै पाउन नसकेको देखिएको छ। यद्यपी समितिको यो प्रिबजेट छलफल केही समय जारी रहने समितिले जानकारी गराएको छ।

तर बैठकमा अर्थमन्त्री विष्णु पौडेलले भने अनुसाशनमा रहेर नै आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए। बजेट निर्माणको आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरी बजेट कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट निर्माण गरिने उनले बैठकमा सुनाएका थिए।

कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरउत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने उनले जानकारी दिएका थिए।

‘आर्थिक वर्षको अन्त्यसम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने काम हुन्छ। आयोजना कार्यान्वयनको सन्दर्भमा विगतका समस्याहरुको पुनरावृत्ति नहोस भन्ने सन्दर्भमा मन्त्रालय सजग रहेको छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .