ad ad

कारोबार


वनस्पति घीउको कोटाबमोजिम निर्धारित क्षमता मापदण्ड हटाउने तयारी

वनस्पति घीउको कोटाबमोजिम निर्धारित क्षमता मापदण्ड हटाउने तयारी

दीपक भट्ट
बैशाख ३, २०७८ शुक्रबार १२:४४,

परिमाणात्मक रूपमा केराउ, मरिच, सुपारी, छोकडाको आयात खुलापछि उद्योग वणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालबाट निर्यात भइरहेको वनस्पति घीउ तथा तेलको निर्यात कोटाअनुसार निर्धारित क्षमता मापदण्ड हटाउने तयारी गरेका छन्।

नेपालबाट सोया तेल निर्यात बढिरहेका बेला उद्योगीको सहजताका लागि मन्त्री भट्टले भारतले निर्धारण गरिदिएको कोटाअनुसार क्षमता निर्धारणको मापदण्ड हटाउन मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरेका हुन्।

आर्थिक वर्ष (आव) २०५७/५८ मा नेपालबाट वनस्पति घीउको निर्यात बढेको थियो। आव ०५८/५९ मा भारतले वार्षिक लाख टन वनस्पति घीउ खरिदको कोटा निर्धारण गरिदिएको थियो, उद्योगैपिच्छे फरक-फरक।

जसअनुसार नेपाली वनस्पति घीउ उद्योगहरूको क्षमता निर्धारण गरिएकाे थियो।

दुई वर्षयता नेपालबाट भारतमा पुनः तेल/घीउ निर्यात बढिरहेको छ। केही समय नेपालबाट पाम आयलको निर्यात बढेको थियो। तर भारतले यसमा बन्देज लगाएपछि अहिले नेपालबाट सोया तेलको निर्यात बढिरहेको छ।

यसलाई थप सहज बनाउन उद्योगमन्त्री भट्टले वनस्पति घीउको कोटाबमोजिम निर्धारित क्षमता मापदण्ड हटाउने तयारी गरेका हुन्। वनस्पति तेल/घीउ उद्योगीले मन्त्रीलाई काेटा प्रणाली हटाउन माग गरेका थिए। साेहीबमाेजिम मन्त्री भट्टले यो प्रस्ताव मन्त्रिपरिषदमा लगेर निर्णय गराउने तयारी गरिरहेका हुन्।

मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘मन्त्री भट्ट वनस्पति घीउ उद्योगीको मागअनुसार व्यवस्थापन गर्न तयार हुनुहुन्छ, उहाँले प्रक्रियाका लागि निर्देशन दिइसक्नुभएको छ।’

उद्योगी राजकुमार अग्रवालका अनुसार यसै पनि यसभन्दा अघि कोटाअनुसार उत्पादन भएको अवस्था पनि छैन। र, अहिले कोटाअनुसार भारत निर्यात भएको पनि हैन।

उनी भन्छन्, ‘त्यस्तै नयाँ उद्योग स्थापनाका लागि सरकारले रोकेको अवस्था पनि छैन। त्यसकारण अहिले नीतिगत व्यवस्थाका लागि मात्रै समस्या हो, त्यो आवश्यक पनि छ।’

नेपालमा सोया तेल तेस्रो मुलुकबाट आयात भई भारत निर्यात भइरहेको छ। नेपालमा प्रशोधन भएर भारत निर्यात भइरहेको उद्योगीहरूको दाबी छ। वनस्पति घीउ, उद्योगमा प्रशोधन हुने भएकाले उद्योगीले क्षमता वृद्धि चाहेका हुन्।

यसैले कोटाअनुसार निर्धारित क्षमता हटाई क्षमता वृद्धिका लागि मन्त्रिपरिषदमा प्रस्ताव जान लागेको हो।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २५ अर्ब २ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको  छ। सो परिमाणको कच्चा तेल आयात गरी २३ अर्ब १२ करोड रुपैयाँको प्रशोधित तेल निर्यात गरिएकाे छ ।

विभागको तथ्यांकले निर्यातको सूचीमा भटमासकाे प्रशोधित तेल पहिलो नम्बरमै देखाएको छ।

याे पनि : कोटा कसरी सकियो अनि किन स्थगित गरियो केराउ, छोकडाको आयात?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .