ad ad

कारोबार


कोरोना बीमा : सरकारले रकम नदिएको भन्दै कम्पनीले रोके भुक्तानी

कोरोना बीमा : सरकारले रकम नदिएको भन्दै कम्पनीले रोके भुक्तानी

दीपक भट्ट
बैशाख १२, २०७८ आइतबार १२:५६,

सरकारतर्फको दायित्वबापतको रकम नआएको भन्दै बीमा कम्पनीहरुले धमाधम कोरोना बीमाको भुक्तानी बन्द गर्न थालेका छन्।

सरकार आफैँले छिटो भुक्तानी गर्न निर्देशन दिने तर सरकारकै दायित्व रहेको रकम भने उपलब्ध नगराएपछि बीमा कम्पनीहरुले भुक्तानी नै ठप्प पारेका हुन्।

बीमा कम्पनीहरुले बीमाबापतको रकम भुक्तानी दाबी गर्न आउनेलाई सूचना नै टाँसेर सरकारबाट आउनुपर्ने रकम निकासा नभएको कारण भुक्तानी बन्द गरिएको बताएका छन्।

सरकार स्वयंले बनाएको कोरोना बीमाको कार्यविधिअनुसार नेपाल सरकार, बीमा समिति, पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुले आआफ्नो दायित्व वहन गर्नुपर्छ।

तर कमलादीस्थित नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य कार्यालयमा कोरोना बीमाको दाबी भुक्तानी लिन पुगेका एक बीमित (ग्राहक)लाई कम्पनीले आइतबार यतिकै फर्काइदियो।

कम्पनीको भनाइ उद्धृत गर्दै ती ग्राहकले भने, ‘अर्थ मन्त्रालयबाट भुक्तानी आएको छैन, अझै केही समय पर्खिनुस्, आएपछि तपाईंलाई बोलाउँछौँ।’

कम्पनीले भवनबाहिर सूचना नै टाँस गरी सिधै अर्थ मन्त्रालयबाट रकम निकासा नआएकोले भुक्तानी गर्न नसकिने उल्लेख गरेको ती ग्राहकले जानकारी दिए।

यसबारे सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहसँग जानकारी माग्दा सरकारले दायित्व पूरा नगरेकोले अहिले धेरै नै गाह्रो अवस्था आएको भन्दै उक्त कार्यको बचाउ गरे।

उनले नेपालखबरसँग भने, ‘त्यही कारण त सूचना नै टाँस्ने अवस्था आएको हो।’

उनले बीमितको बीमादाबी रकमको भुक्तानी रोकिनुमा सरकार नै प्रमुख कारण रहेको बताए।

शाहका अनुसार सरकार आफैँले दायित्व समयमा पूरा नगरेको कारण कोरोना बीमाबापतको रकम भुक्तानी रोकिएको हो।

ministry of finance new main1

हाम्रो कारण भुक्तानी रोकिएको होइन : मन्त्रालय
तर अर्थ मन्त्रालयले भने शाहको कुरा सिधै नकारेको छ।

अर्थ मन्त्रालयका बीमा नीति हेर्ने वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले अर्थ मन्त्रालयकै कारण कोरोनापीडितको रकम नरोकिएको दाबी गरेको हो।

महाशाखा प्रमुख दीर्घराज मैनालीले अर्थ मन्त्रालयबाट हुनुपर्ने निकासा नभएको कारणले रकम भुक्तानी रोकिने भन्ने नहुने बताए।

उनले भने, ‘बीमा भइसकेपछि त्यसबापतको रकम दिनु त बीमा कम्पनीकै दायित्व हो नि! ग्राहकले भुक्तानी माग गर्नु उनीहरुको अधिकारको कुरा हो।’

कोरोना बीमा निजी क्षेत्रको स्वास्थ्य संस्थाबाट भएको खण्डमा त्यसलाई नेपाल सरकार मातहतको निकायले पुष्टि गरेर मात्रै भुक्तानी प्रक्रियामा लगिने व्यवस्था छ। यसले कोरोना भुक्तानीमा केही ढिलाइ हुँदै आएको छ।

त्यसमाथि पनि सरकारको दायित्वमार्फतको रकम नै उपलब्ध नहुँदा कोरोना प्रभावितहरुको भुक्तानी झनै अन्योलमा परेको छ।

BEEMA SAMITI

बीमा समितिलाई थाहै छैन!
यस विषयमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति पनि अन्योलमा देखिएको छ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले यसबारे अनभिज्ञता जनाए।

उनले नेपालखबरसँग भने, ‘बीमा कम्पनीहरुले के सूचना टाँसेको छ, त्यसलाई हेरेर मात्रै कुरा गर्न सकिन्छ। अर्को कुरा रकम निकासीको मलाई थाहा नै छैन।’

तर यता बीमा भुक्तानी लिनेहरुको संख्या भने निरन्तर बढिरहेको बीमा समितिकै तथ्याङ्कले देखाएको छ।

बीमा समितिले जारी गरेको अधिकतम १ लाख रुपैयाँ र ५० हजार दुवैतर्फको बीमालेख लिने अर्थात् कोरोना बीमा गर्ने बीमितको संख्या हालसम्म १७ लाख नाघिसकेको छ।

यसमध्ये धेरैले अहिले कम्पनीहरुसँग दाबी भुक्तानी माग गरिरहेका छन्।

भुक्तानीको लागि आवेदन दिनेमध्ये प्रमाणीकरण भएका आवेदनको संख्या ९१ हजार ६ सय ७३ वटा रहेको समितिले विवरण सार्वजनिक गरेको छ।

यसमध्ये ६० हजार ५ सय ८७ जनाले कोरोना बीमाको दाबी भुक्तानी पाएका छन्। यसबापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बीमा समितिको भनाइ छ।

तर प्रमाणीकरण भइसकेकै ३१ हजार बीमितको दाबी भुक्तानी भएको छैन। त्यो भुक्तानी गर्न सरकारले रकम निकासा नगर्दा समस्या भएको बीमा कम्पनीहरुको दाबी छ।

kp oli

प्रधानमन्त्रीकै निर्देशनमा रकम निकासा नभएको आशंका
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २० गते कोरोनाको बीमामा प्रश्न गरेका थिए।

उनले मेलम्ची खानेपानी उद्घाटन गर्दै सरकारले नै ल्याएको बीमा नीतिमा त्रुटि रहेको टिप्पणी गरेका थिए।

कोरोना लागेपछि नेपाल सरकारले नै उपचार गरिदिने र यसको खोप समेत निःशुल्क लगाइदिने भएपछि बीमा नै आवश्यक नरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री नै कोरोना बीमामा नकारात्मक रहेपछि कोरोनाबापतको रकम निकासामा सरकारले ढिलाइ गरेको आशंका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .