पछिल्ला केही दिनयता निरन्तर संक्रमितको संख्या बढेसँगै कोभिडका बिरामीलाई एयरलिफ्ट अर्थात् हेलिकप्टरबाट उद्धार गर्ने क्रम पनि बढेको छ।
उपत्यकाबाहिरबाट काठमाडौंका अस्पतालमा आउन हेलिकप्टरको प्रयोग बढेको हो।
काठमाडौंबाहिर आईसीयु तथा भेन्टिलेटरसहितको राम्रा अस्पताल नहुँदा कोभिडका बिरामीलाई एयरलिफ्ट गरी धमाधम काठमाडौं ल्याउन थालिएको छ।
हवाइ सेवा कम्पनीका अनुसार गत वर्षको तुलनामा यो वर्ष काठमाडौंबाहिरबाट हेलिकप्टर प्रयोग गरी काठमाडौं आउनेको संख्या बढेको छ।
सिम्रिक एयरलाइन्सका अपरेसन पाइलट सिद्धार्थ गुरुङले पहिलेभन्दा अहिले एयरलिफ्ट गर्नेको संख्या धेरै रहेको बताए।
सबै कम्पनीको गरेर दैनिक ६÷७ वटा कोभिड बिरामीको एयरलिफ्ट भइरहेको उनको भनाइ छ।
गत वर्ष कोभिड संक्रमण उच्च विन्दुमा पुग्दा हेलिकप्टरबाट कोभिड बिरामीको उद्धार नै भएको थिएन। यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यविधि बनाएर उद्धार उडान गर्न दिएको थियो।
‘गत वर्ष सुरुमा हामी तयार पनि थिएनौँ। आइडिया पनि कम थियो’, गुरुङले नेपालखबरसँग भने, ‘अहिले हेलिकप्टर कम्पनी पनि धेरै छन्। डिमान्ड (माग) पनि बढ्दो छ।’
स्वास्थ्य मन्त्रालयको दैनिक तथ्यांकअनुसार दिनहुँ करिब ५ हजार संक्रमित पुग्नथालेको छ। मृत्युको संख्या पनि विगतभन्दा बढी रहेको स्वास्थ्य क्षेत्रका विज्ञले बताइरहेका छन्।
खासगरी यसपटक संक्रमितमा श्वासप्रश्वासलगायतका समस्या बढिरहेको छ। बिरामीलाई कुनै समस्या हुनैबित्तिकै राजधानीका अस्पतालमा ल्याउन खोज्दा उद्धार उडान बढेको कम्पनीहरु बताउँछन्।
श्री एयरलाइन्सले विगतभन्दा अहिले दैनिक कोभिड उद्धार बढेको जनाएको छ।
‘गत वर्षको तुलनामा यो वर्ष एयरलिफ्ट प्रयोग गर्ने धेरै छन्’, श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले भने, ‘हामी मात्रै होइन, अरु हेलिकप्टर कम्पनीले पनि दैनिक एयरलिफ्ट गर्दै आएका छन्। हामीले दैनिक १/२ वटा गर्दै आएका छौँ।’
मानन्धरले कुनै हेलिकप्टर कम्पनीले दैनिक ४/५ वटासम्म ‘फ्लाई रेस्क्यु’ गर्ने गरेको बताए।
चार कम्पनीले लिए एयरलिफ्ट अनुमति
यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड उद्धारको लागि हालसम्म चारवटा कम्पनीले अनुमति लिएको जनाएको छ।
‘कोभिड बिरामीको रेस्क्युको लागि मापदण्ड तोकेर ४ कम्पनीलाई अनुमति दिइसकेका छौँ’, प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने, ‘सिम्रिक एयर, कैलाश हेलिकप्टर सर्भिस, अल्टिट्युड एयर र श्री एयरलाइन्सले अनुमति पाएका छन्।’
हेलिकप्टर कम्पनीले ‘स्ट्यान्डर्ड अपरेसन प्रोसिड्युर’ पालना गरी उद्धार उडान गर्न अनुमति दिएको उनले बताए।
हवाइ उद्धारको माग धान्नै सकिएन
यस्तै, केही दिनयता हवाइ उद्धारको लागि माग बढेको छ। तर कम्पनीहरुले माग धान्नै नसकेको बताएका छन्।
अल्टिट्युड एयरका बजार प्रमुख सीताराम सापकोटाले एयरलिफ्ट गर्न चाहने धेरै भए पनि मागअनुसार एयरलिफ्ट गर्न नसकिएको बताए।
कोभिड रेस्क्यु उडानको लागि हेलिकप्टरभित्र कोभिड चेम्बर, डाक्टर र अस्पतालमा आईसीयू बेड आवश्यक रहेको उनको भनाइ छ।
‘कोभिड बिरामीको लागि चेम्बर नभई ल्याउन मिल्दैन’, सापकोटाले भने, ‘काठमाडौंमा एयरलिफ्ट हुँदै छ भने काठमाडौंका अस्पतालले आइसोलेसन वा भेन्टिलेटर बेड उपलब्ध छ भनेपछि मात्रै हामीले उद्धार गर्ने हो।’
त्यस्तै, यस प्रकारको रेस्क्युको लागि डाक्टर र नर्स उपलब्ध हुनुपर्छ। बिरामीको लागि आईसीयू भयो भने मात्रै उद्धार हुन्छ। हेलिकप्टरमा भेन्टिलेटरको इक्विपमेन्ट समेत हुनुपर्छ।
‘कुनै अस्पतालको मेडिकल टिमविना हामीले त्यसै रेस्क्यु गरेर त भएन’, सापकोटाले थपे, ‘यहाँको अस्पताल, बिरामीको आफन्तले हेलिकप्टर कम्पनीलाई रेस्क्यु गर्न आग्रह गर्यो भने अस्पतालको मेडिकल टिमसहित रेस्क्यु हुन्छ।’
उनले हेलिकप्टरमा उपलब्ध हुने सामान्य अक्सिजनले कोभिड बिरामीको लागि काम नगर्ने उल्लेख गर्दै भेन्टिलेटरसहितका उपकरण अस्पतालले नै उपलब्ध गराउनुपर्ने बताए।
त्यस्तै जहाँ कोभिडको उपचार भइरहेको छ, त्यहाँ हेलिकप्टर ल्यान्डिङको सुविधा पनि आवश्यक रहेको उनको भनाइ छ।
हालसम्म अल्टिट्युड एयरले हेलिकप्टरबाट उद्धार गरेको कोभिड बिरामीलाई सिधै अस्पताल पुर्याउने गरेको छ।
सापकोटाका अनुसार केही अस्पतालमा आईसीयू बेड भए पनि हेलिप्याडको व्यवस्था छैन। सोही कारण काठमाडौं ल्याउने बिरामीलाई त्रिभुवन विमानस्थलबाट भेन्टिलेटरसहितको एम्बुलेन्समा लैजाने व्यवस्था गर्नुपर्ने उनले बताए।
यस्तै, कैलाश हेलिकप्टरले कोभिड रेस्क्युको लागि तयारी गरिरहेको जनाएको छ। कम्पनीले अबको एक हप्तापछि कोभिड रेस्क्यु सुरु गर्ने जानकारी दिएको छ।
त्यसैगरी प्रभु हेलिकप्टरले आफूहरुले कोभिड रेस्क्युको लागि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिए पनि रेस्क्युको लागि धेरै माग आइरहेको जनाएको छ। प्रभुले अरु रेस्क्यु उडान गरे पनि कोभिड बिरामीको रेस्क्यु गरेको छैन।
एउटा एयरलिफ्टको भाडा नै डेढदेखि २ लाखसम्म
हेलिकप्टर कम्पनीहरुले सामान्य अवस्थामा १ घण्टाको १८ सय (करिब २ लाख १३ हजार रुपैयाँ)/दुई हजार अमेरिकी डलर (२ लाख ३७ हजार रुपैयाँ) भाडा लिने गर्थे। गत वर्ष कोभिडको कारण माग कम भएसँगै उनीहरुले १ घण्टाको १२ सय डलर (१ लाख ४२ हजार रुपैयाँ)सम्म उडान गरिरहेका छन्।
सिम्रिकका अपरेसन पाइलट गुरुङले कोभिडको लागि ठाउँ हेरेर १ लाख ५० हजारदेखि २ लाखसम्म थप शुल्क लिने गरेको बताए।
‘स्यानिटाइजिङ, पीपीई, कोभिड संक्रमणको रिस्क, कोभिड चेम्बर लगायतको कारण थप रकम लाग्ने गरेको छ’, गुरुङले भने।
श्री एयरलाइन्सका मानन्धर हवाइ उद्धारको भाडा क्षेत्रअनुसार फरक पर्ने बताउँछन्। उनका अनुसार भौगोलिक क्षेत्र र समयको आधारमा रेस्क्यु रकम फरक पर्छ।
यो वर्ष नेपालगञ्ज, दाङ, भैरहवा, वीरगञ्ज क्षेत्रबाट बढी एयरलिफ्टको माग भइरहेको उनले बताए।
प्रतिक्रिया