हिमालयन डिस्टिलरीले नौ महिनामा ६७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। चालू आवमा कम्पनीले ५३.८९ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो।
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् चैत महिनासम्मको प्रगति विवरण सार्वजनिक गरेको हो।
कम्पनीले अघिल्लो वर्ष ४३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
यस्तै कम्पनीले चालू वर्ष बिक्री पनि बढेको जनाएको छ। गत वर्षको चैत मसान्तसम्ममा कुल बिक्री रकम ३ अर्ब ५७ करोड भएकोमा यस वर्षको त्यसै अवधिसम्ममा ३ अर्ब ८९ करोडको बिक्री गर्न सफल भएको कम्पनीको भनाइ छ।
यो भनेको गत वर्षको बिक्रीभन्दा ९ प्रतिशतले बढी हो।
त्यस्तै, कम्पनीले गत आवसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरी पुँजी वृद्धि गरिए पनि गत वर्षको यसै अवधिको वित्तीय अनुपातहरुसँग तुलना गर्दा यस वर्ष प्रतिसेयर आम्दानी १०० रुपैयाँ ७६ पैसाबाट १०३ रुपैयाँ ३८ पैसा, तरलता अनुपात १.९६ बाट २.७४ भएको छ।
गत वर्ष प्राप्त कारोबारभन्दा यस वर्षको चैत मसान्तसम्मको कारोबार वृद्धिको मुख्य आधार भनेको नै कम्पनीका उत्पादनहरुको गुणस्तर, उत्पादकत्व वृद्धि, थप बजारीकरण, उत्पादित ब्राण्डको प्रतिष्ठाप्रति उपभोक्ताको पूर्ण विश्वास र व्यवस्थापन खर्चको उचित परिचालन र व्यवस्थापनको उच्च लगनशीलताले भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया