लामो समयदेखि चर्चा चलेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको औपचारिक सम्झौता बिहीबार हुने भएको छ।
बिहीबार ठमेलस्थित एलफ्ट होटलमा एक समारोह आयोजना गरी मर्जरको घोषणा गर्ने कार्यक्रम छ।
हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेबीच भोलि औपचारिक सम्झौता हुन लागेको हिमालयन बैंकका एक सञ्चालकले नेपालखबरलाई जानाकारी दिए।
उनले भने ‘सम्झौता कार्यक्रम होटलमा हुने भए पनि कार्यक्रम भर्चुअल हुने छ। बैंकका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरुलाई भर्चुअल माध्यमबाट नै सम्झौता कार्यक्रममा समावेश गरिने छ ’
मर्जरअघि हुनुपर्ने मुख्य अध्ययन भनेको सम्पत्ति तथा दायित्वको मूल्यांकन अर्थात् ड्यु डिलिजेन्स रिपोर्ट तयार गर्नु हो। यो भनेको कुनै संस्थाहरुबीच हुने मर्जर या प्राप्तिबारेको अध्ययन विश्लेषणको निचोड या सारांश हो।
दुई संस्था एक हुनुअघि गरिने सम्बन्धित संस्थाहरुको सम्पत्ति तथा दायित्वको मूल्यांकन गरिन्छ। यी बैंकहरुको हकमा टीआर उपाध्याय एकाउन्टिङ फर्मले यो रिपोर्ट तयार गरेको छ। जुन रिपोर्ट दुवै बैंकले स्वीकारेपछि मर्जर प्रक्रिया अघि बढेको हो।
सम्पती तथा दायित्वको मूल्यांकन प्रतिवेदनअनुसार इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयनको १०२ रुपैयाँ ५० पैसा मूल्य तय गरिएको छ। स्वाप रेसियो १ अनुपात १ रहने गरी दुवै बैंक मर्जरमा जान लागेका हुन्।
बैंकको नाम हिमालनय एण्ड नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेड हुने भएको छ।
त्यस्तै बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे हुने सहमति जुटेको छ। उनी अहिले इन्भेष्टमेन्ट बैंकका अध्यक्ष छन्। सीईओमा भने हिमालयन बैंकका अशोक राणा हुने सहमति भैसकेको छ।
इन्भेष्टमेन्ट बैंकका ज्योती प्रकाश पाण्डे दोस्रो वरियताका व्यवस्थापक अर्थता डेपुटी सीईओ रहने छन्। तर उनलाई निश्चित क्षेत्रको कार्यकारी अधिकार नै दिने सहमति जुटेको छ।
कर्मचारी व्यवस्थापनको सबै विषय भने सल्टाउन बाँकी नै रहेको छ। कति कर्मचारीलाई अवकास दिने भन्ने टुङ्गो अहिलेसम्म लगाइएको छैन। अहिले समझदारी मात्रै भएको र मर्जरमा जान अझै केही समय लाग्ने भएकोले त्यससमयसम्म कर्मचारीको व्यवस्थापन पनि गरिसक्ने ती सञ्चालकले नेपालखबरलाई जानाकारी दिए।
हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग गर्यो ‘सीईओ नछोड्ने र अध्यक्ष दिने’ प्रस्ताव
प्रतिक्रिया