सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि सर्वसाधारणको भीडभाड हुने कार्यालयहरु अझै पूर्ण रुपमा सञ्चालनमा आउनसकेका छैनन्।
त्यस्ता कार्यालयमध्ये राहदानी विभाग पूर्ण रुपमा सञ्चालनमा आएको छ भने अन्य कार्यालय आंशिक रुपमा मात्रै सञ्चालित छन्।
काठमाडौंमा असार ८ देखि निषेधाज्ञा खुकुलो भएसँगै अधिकांश कार्यालय आंशिकरुपमा सञ्चालनमा आएका छन्।
वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर बारअनुसार सेवा सञ्चालन गरिरहेका छन् भने यातायात कार्यालयले कोटा प्रणालीअनुसार सेवा सञ्चालन गरिरहेका छन्।
राहदानी विभागले सम्पूर्ण रुपमा खुल्ला भएको जानकारी दिएको छ।
विभागका अनुसार सार्वजनिक यातायात तथा आन्तरिक उडान नखुल्दा जिल्लाबाट सिफारिस भएर आउने राहदानीको सेवा प्रभावित भए पनि विभागबाट हुने द्रुत काम सबै सुचारु भएका हुन्।
यातायात व्यवस्था विभागले अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द रहेको जानकारी दिएको छ।
तर यातायात कार्यालयहरुले भने राजस्व संकलन, लाइसेन्स वितरण, नवीकरणका काम भने कोटाअनुसार सुचारु गरिरहेका छन्।
यातायात व्यवस्था कार्यालय ललितपुरले सवारी चालक अनुमतिपत्र नवीकरण, राजस्व संकलन र सवारी चालक अनुमतिपत्र वितरण कोटा प्रणालीमा सेवा दिइरहेको जानकारी दिएको छ।
असार १० देखि लाइसेन्स नवीकरण र राजस्व संकलन दैनिक १०० जना र अनुमतिपत्र वितरण दैनिक २ सय जनालाई सेवा उपलब्ध गराउँदै आएको छ।
नयाँ सवारी चालक अनुमतिपत्रका लागि अनलाइनमार्फत दर्ता भई बायोमेट्रिकका लागि प्रतीक्षामा रहेकाहरुको लागि यातायात व्यवस्था विभागको सूचनाअनुसार हुने कार्यालयले जनाएको छ।
यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले पनि कोटा प्रणालीमा अनुमतिपत्र नवीकरण, राजस्व संकलन र अनुमतिपत्र वितरण कोटा प्रणालीअनुसार सेवा सुचारु भएको छ।
अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले विभागका आएका सबै काम नरोकिए पनि पूर्ण रुपमा काम सुरु हुन नसकेको बताए।
‘सार्वजनिक यातायात तथा आन्तरिक उडान नखुलेसम्म हाम्रो सेवा खुलेको मानिँदैन। अहिले विभागमा आएका सेवाग्राहीलाई त्यसै फर्काएको चाहिँ छैनौँ’, विभागका महानिर्देशक भट्टराईले भने, ‘हामीले जारी गरेको सूचना यथावत् छ। निषेधाज्ञा खुलेको १ हप्तासम्म कार्यालयमा आए। जरिवाना नलाग्ने अर्को सूचना जारी गर्छौँ।’
वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले आंशिक रुपमा सेवा सुचारु भएको बताए।
‘यसअघि आइतबार र बुधबार र श्रम स्वीकृति दिँदै आएकोमा अहिले हप्ताको ३ दिन सेवा सुचारु गरेका छौँ’, विभागका सूचना अधिकारी समेत रहेका भट्टराईले भने, ‘आइतबार, मंगलबार र बिहीबार श्रम स्वीकृति दिने गरेका छौँ।’
उनले अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा नखुलेको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै आंशिक सेवा सुचारु गरेको बताए।
श्रम स्वीकृति हप्ताको ३ दिनमात्रै भए पनि अन्य काम हप्ताभर नै भइरहेको जानकारी दिए।
भूमि, व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालय सीडीओ र स्थानीय तहको समन्वयमा आंशिक रुपमा गरिरहेको जनाएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णु कुमार महतले मालपोत कार्यालय आंशिक रुपमा खुलेको बताए।
‘बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक पर्ने धितोसम्बन्धी कार्य पूर्णरुपमा सञ्चालनमा रहेका छन्’, महतले भने, ‘विभागले सबै कार्यालयलाई सर्कुलर गर्नभन्दा पनि स्थानीय तह र सीडीओ कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्न सुझाव दिएका छौँ।’
उनले अझै सबै ठाउँमा पूर्णरुपमा काम सुरु हुन नसकेको बताए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १३ देखि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएकोमा असार ८ देखि सेवा सुचारु गरेको छ।
जिप्रका काठमाडौंले जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुपर्ने कारणसहित उपस्थिति हुन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले भने बारअनुसार सेवा उपलब्ध हुने जनाएको छ। नागरिकता प्रमाणपत्र, नागरिकता, नाबालिग परिचय पत्र, राहदानी, दर्ता तथा नवीकरणको लागि ललितपुर महानगरपालिका बासिन्दाले आइतबार, सोमबार र मंगलबार सेवा उपलब्ध हुनेछ।
महांकाल, वाग्मती र कोन्ज्योसोम गाउँपालिका बासिन्दाले जिप्रकाबाट बुधबार सेवा पाउनेछन् भने गोदावरी र महालक्ष्मी नगरपालिका बासिन्दाले बिहीबार र शुक्रबार सेवा पाउने जिप्रका ललितपुरले जनाएको छ।
Shares
प्रतिक्रिया