चीनको वस्तु व्यापारमा उच्च वृद्धि भएको छ। बितेका सात दशकमा वस्तु व्यापारमा चीन उच्च वृद्धिदर हासिल गर्न सफल भएको हो। योसँगै चीन ६८ वर्षयता विश्वकै ठूलो वस्तु व्यापार गर्ने देश बनेको छ।
सन् १९५० मा चीनको वस्तु व्यापारको परिमाण १ अर्ब १३ करोड अमेरिकी डलरको रहेको थियो। तर सन् २०१८ मा त्यसको तुलनामा चीनले ४६ खर्ब अमेरिकी डलरको वस्तु व्यापार गरेको गत मंगलबार चीनको नेशनल ब्युरो अफ स्टाटिष्टिक्सले जनाएको हो।
सन् १९५० देखि १९७७ सम्म वार्षिक वस्तु व्यापारको स्थिति औसतमा १० प्रतिशतभन्दा कम थियो। तर सन् १९७८ पछि नीतिगत सुधार र रणनैतिक परिवर्तनले त्यसमा सुधार ल्यायो। फलस्वरुप चीनले त्यसयता १४ दशमलव ५ प्रतिशतले वस्तु व्यापार बढाउन सफल भएको चिनियाँ मिडियाले जनाएका छन्। सन् १९७८ मा चीनको वस्तु व्यापार विश्वको कुलमध्ये शून्य दशमलव आठ प्रतिशत मात्र भए पनि गत वर्षसम्म आइपुग्दा विश्वको कुल वस्तु व्यापारमध्ये ११ दशमलव आठ प्रतिशत हिस्सा पुगिसकेको छ।
सन् २०१३ मा पहिलो पटक चीनले अमेरिकालाई उछिन्दै विश्वको ठूलो वस्तु व्यापार गर्ने देश बनेको थियो। त्यसो त पछिल्लो समय धेरैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि चीन सफल भएको छ। विगत २७ वर्षयता चीनले नै विश्वमा सबैभन्दा धेरै एफडीआई भित्र्याइरहेको छ।
प्रतिक्रिया