ad ad

कारोबार


झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

देवराज सुवेदी
भदौ १७, २०७६ मंगलबार ८:०,

नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निर्माणका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ। ह्योल्मो संस्कृति झल्किने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ।

‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’ (पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो। करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताए। स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो।

गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी सो निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ। उनका अनुसार पर्यटन विभागले स्थानीय तहको समन्वयमा दुई करोड लागतमा सो पदमार्ग निर्माण भइरहेको हो। हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमिको काम सकिसकेको छ। पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमिमा पनि १० किमि मात्रै काम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए।

बजेट र अनुमानित लागत
उक्त कामका लागि प्रदेश नं. ३ बाट ५० लाख अनुदान निकासा भएको थियो। त्यसैबाट प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्ग निर्माणकार्य सुरु गरिएको सव–इञ्जिनियर शेरबहादुर राईले जानकारी दिए। पहिलो मार्गअन्तर्गत हाल निर्माण सुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिनेछ। त्यसैगरी दोस्रो रुटमा वडा नं ६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिनेछ।

दुवैतिरबाट सुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ। सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने बताइएको छ। पदमार्ग कडा चट्टाने ढुङ्गालाई काटेर इँट्टाका रुपमा तयार गरी निर्माण भइरहेको छ। सो मार्ग एक मिटर पूरा गर्न ३० हजार लाग्नुका साथै समय पनि बढी लाग्ने गर्दछ। झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिने बताइएको छ।

ह्योल्मो भूमि र धार्मिकस्थलका रुपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो। यसले हेलम्बुमा पर्यटक विकासका लागि धेरै सहयोग गर्ने गाउँपालिका अध्यक्ष शोर्पाको भनाइ छ। समग्र हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य गाउँपालिकाले लिएको शेर्पाले बताए।

‘लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन्, अर्को हेलम्बुको कुटुम्साङ, माग्नीकोट, ठाडेपाटी गोसाइँकुण्ड रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ’, अध्यक्ष शेर्पाले भने, ‘हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ, त्यहीअनुरुप हामिले काम थालेका हौँ।’

झण्डै १०० किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमागाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको छ। सो पदमार्गले गर्दा स्थानीयवासीलाई दैनिक काम गर्नसमेत सहज भएको छ। वडा नं १ का वडाध्यक्ष मिङ्मार लामाले पदमार्गले सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि टेवा पुग्ने बताए।

‘धर्मचक्र पर्खाल’
लामो दूरीका दर्जनौँ पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनको लागि गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको छ। जसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ। वडा नं १ का अध्यक्ष लामाका अनुसार पदमार्ग निर्माणले पवित्रस्थल ‘छुह्यालागेन्जेन’ हेर्ने पर्यटक पनि वृद्धि हुनेछ। उनले ‘छुह्यालागेन्जेन’को अर्थ १०८ पानीको मूल फुटिरहेको बालुवा भएको चउर भएको बताए। प्राचीन गुम्बैगुम्बाको शहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङुल, झिचेन मिलारेपा गुफा, ढुक्पु, महागुरु रेन्पोछे छापसम्म एक दर्जन पदमार्ग जोड्दै लगिएको छ।

हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिए। पर्खालमा पर्ने पाकेडाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचरोसमेत देख्न सकिन्छ। शेर्पाका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जङ्गली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा प्रमुख विशेषता हुनेछन्। रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रा घुम्दा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट हिमालयन ट्रेल’लाई ‘धर्मचक्र पर्खाल’का रुपमा समेत जोडेको छ।

पदमार्गको पर्खाल स्थानीय स्लेट ढुङ्गा प्रयोग गरेर बनाइँदै छ। आकर्षक ढङ्गले काटिएका ढुङ्गा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० दरका सिँढी (खुड्किलो) बनाउँदै जोडिनेछ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुई मिटर अग्लो पर्खाल लगाइनेछ। ‘ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएको ढुङ्गामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौँ’, अध्यक्ष शेर्पाले भने।

ह्योल्मो संस्कृतिको प्रवर्द्धन
नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ। हेलम्बु गुम्बाको गाउँ नामले समेत चर्चित छ। शेर्पा, ह्योल्मो समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा बौद्धधर्म गुरु पद्यमसम्भवको साधनास्थलका रुपमा समेत प्रसिद्ध छ। त्यसैले यहाँ घुम्नका साथै ध्यान, साधना गर्न वार्षिक हजारौँको सङ्ख्यामा देश तथा विदेशबाट पर्यटक तथा बौद्धमार्गी आइपुग्छन्। हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यसमेत रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने उनको विश्वास छ।

उनका अनुसार ६० किमि पदमार्ग पर्खाल घुम्न पदयात्रा एक साताको समय लाग्नेछ। पदमार्ग पर्खालका ठाउँ–ठाउँमा सौर्यबत्ती, उद्यान, दृश्यावलोकन स्तम्भ आकर्षणका रुपमा रहनेछन्। पदमार्ग पर्खालमा पर्ने भेन्थाङमा रहेको बिहाल चौरलाई हिमाल आरोहरणको तालिम केन्द्र बनाउने नीति गाउँसभाबाट पारित गरेको छ। भेन्थाङ आधा दर्जन हिमालको आधार शिविर पनि हो। तर अहिलेसम्म आरोहण सुरु हुन नसकेको अध्यक्ष शेर्पाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .