चिनियाँ राष्ट्रपति सी चिनफिङको सपना हो– सिल्करोड, अर्थात रेसमी मार्ग। विश्वभर आफ्नो व्यापारिक संयन्त्र फैलाउने चीनको यो महत्वाकांक्षी योजनाले विश्व तरंगित मात्रै बनेको छैन, लाभ र हानीबारे पनि बहस छेडिएको छ।
‘बेल्ट एण्ड रोड’ पहल (बीआरआई) नाम दिइएको यो महत्वकांक्षी परियोजनाले नेपाल अछुतो रहने कुरै भएन। चीनको महत्वकांक्षामा छिमेकी नेपालले पनि समृद्धिको सपना देखेको छ। खासगरी नेपाल चीनको यो परियोजनासँगै रेल सञ्जालसँग जोडिन चाहन्छ। राष्ट्रपति सीको शनिबारबाट हुने नेपालको राजकीय भ्रमणको क्रममा नेपालले यो विषय उठाउने घोषणा गरिसकेको छ। सिल्करोड सदियौँ अघिदेखिको व्यापारिक मार्ग हो।
संयोग नै मान्नुपर्ला, राष्ट्रपति सीको नेपाल भ्रमणको अघिल्लो दिन अर्थात शुक्रबारबाट नेपालसँग जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा रहेको कोरला नाकाभन्दा केही पर त्यही सिल्करोडकालीन व्यापार मेला सुरु भएको छ।
‘आन्तरिक कारण’ देखाउँदै दशैँअघि मेला सुरु गर्न चिनियाँ पक्ष अनिच्छुक देखिएपछि केही ढिलोगरि यो मेला असोज २४ गतेबाट सुरु भएको हो। खासमा यो मेला भदौमा नै लाग्नुपथ्र्यो। उपल्लो मुस्ताङवासीले हिउँदलाई चाहिने सामान यही मेलामा किनमेल गर्थे। अहिले उपल्लो मुस्ताङमा चिसो बढिसकेको छ। उनीहरु व्यापार गर्न तल झर्ने तयारीमा छन्। ढिलो मेला सुरु हुँदा त्यसको असर उनीहरुलाई पनि परेको छ। आन्तरिक कारण भनिए पनि मेलाको बेला सीमा क्षेत्रमा विदेशी चलखेल बढ्ने चिनियाँ बुझाईले नै मेला पछि धकेलिएको हो।
नेपाली सीमाभन्दा ४ किलोमिटर टाढा आयोजना हुने मेलामा दुबै तिरका नागरिकहरुको बाक्लो उपस्थिति हुन्छ। चिनियाँ पक्षले ‘नेपाल–चीन अन्तरदेशीय व्यापार मेला’ मा प्रवेश चाहनेहरुलाई प्रवेश पास अनिवार्य गर्नुको कारण पनि सुरक्षा संवेदनशीलता नै हो। पहिला उपल्लो मुस्ताङका लोमान्थाङ, दामोदरकुण्ड ले घेकर गाउँपालिकाका नागरिकहरुलाई प्रवेशमा कडाई थिएन।
मुस्ताङबासीहरु ‘लिक्ची नेच्च्युङ छोङरा’ भन्छन्, यो मेलालाई। मेला ठ्याक्कै १० दिन चल्छ। वर्षको दुईपटक लाग्ने यो मेलामा तिब्बत र नेपालका व्यापारीहरु आ–आफ्नो सामान लिएर पुग्छन्। मुस्ताङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने सभासद ईन्द्रधारा विष्टका अनुसार यो सदियौँ पुरानो मेला हो। कुनै बेला यो नुन र अन्न साट्ने मेला थियो। मुस्ताङबासीहरु तलतिरबाट अन्न लिएर यो मेलामा पुग्थे। तिब्बतीहरु भेडा, च्याङ्ग्रा र याक अनि नुन लिएर आउँथे। अन्नसँग नुन साटेपछि त्यो नुन लोमान्थाङ, जोमसोमहुँदै पोखरासम्म आइपुथ्यो।
‘हामीहरु यताबाट अन्न लिएर जान्थ्यौँ, उताकासँग नुन साँट्थ्यौँ’, उनले नेपालखवरसँग भने, ‘मेला लाग्ने यो परम्परा सिल्करोडसँगै जोडिएको छ।’
वर्षको दुईपटक हिउँद र बर्खामा मेला लाथ्यो। बर्खे मेला जेठको वरपर र हिउँदै मेला हिउँ पर्नु अघि लाग्ने गथ्र्यो। दुबै मेलाबाट मुस्ताङीहरुले आफूलाई चाहिने सामानको जोहो गर्थे। सामान किनेर व्यापार गर्न तलतिर झर्थे। नुन किन्ने मेलाको रुपमा पनि यो प्रख्यात थियो। उपल्लो मुस्ताङसँग जोडिएको तिब्बती जिल्ला दोङबा र सागाका बासिन्दाले खाद्यान्न किन्थे। यो परम्परा कायमै छ तर परिस्थिति भने फेरिएको छ।
अहिले तिब्बतीहरु नेपालको अन्न किन्दैनन् भन्दा पनि हुन्छ। बासमतीको चामल, राम्रो खालको मैदा, पस्मिनाका सामान, गलैँचा भने केही मात्रामा बिक्री हुन्छ। तिब्बतीहरुले भने अहिले भेँडा–च्याङ्ग्रा र याक मात्रै होइन, नेपालीलाई चाहिने सबै सामान बेच्छन्। अहिले ल्हासाबाट समेत यो मेलामा व्यापारी आउँछन्। चीनको तीव्र आर्थिक विकासका कारण नेपालबाट जाने सामानभन्दा उता (तिब्बत) बाट धेरै सामान आउँछ। गलैँचा र केही क्युरियोका सामान, तामाका भाँडाहरु लिएर मेलामा काठमाडौंबाट पनि व्यापारी आउँछन्। अहिले नेपालबाट फापरको पिठो, मैदालगायतका केही सामान मात्रै जान्छन्।
पहिला वर्षको दुईपटक हुने यो मेला एकपटक नेपाली र अर्कोपटक चिनियाँ भूमिमा लाग्ने गथ्र्यो। नेपालको नेच्युङमा लाग्ने मेला भने चिनियाँकै कारण रोकिएको झण्डै १३ वर्ष भयो। नेच्युङमा नेपाली भन्सार कार्यालय थियो। अहिले त्यहाँ एउटा प्रहरी चौकी छ र त्यहाँभन्दा माथि २४ नम्बरको जंगे पिलर अर्थात नेपाल र तिब्बतबीचको सीमा क्षेत्रसम्म नेपालको उपस्थिति नै छैन। बहुचर्चित कोरला नाका क्षेत्रमा चिनियाँ पक्षले भने धमाधम भन्सार संरचनाहरु निर्माण गरिरहेको छ।
कोरलामा नेपालको कुरै बढीः चिनियाँहरु काममा अघि
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा अन्तरदेशीय नाका खोल्न विशेष पहल गरिने सरकारले जनाएको छ। ती नाकामध्ये एउटा हो, कोरला नाका। कोरला नाका चीन र भारत जोड्ने सजिलो नाका बन्ने र यो नाका खुल्न सके गण्डकी प्रदेशको समृद्धि सम्भव हुने नेताहरुले बताउँदै आएका छन्। कोरला नाका खोल्ने र यसले आर्थिक समृद्धि हासिल हुने चर्चा चलिरहँदा चीनले भने कोरला नाकामा भन्सार कार्यालयसहितका प्रशासनिक भवनहरु धमाधम बनाइरहेको छ। चिनियाँ शैलीको आधुनिक भवन निर्माण करिब अन्तिम चरणमा पुगेको छ। नेपाल र चीनको सीमामा चीनले भौतिक संरचना बनाइरहँदा नेपालतिर भने नेच्युङभन्दा माथि राज्यको उपस्थिति नै छैन।
‘चीनतिर प्रशासनिक भवनहरु बनिरहँदा हाम्रो तिर पनि भन्सार कार्यालय निर्माणको लागि जग्गा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ’, सभासद विष्टले भने, ‘अब नेपाल सरकारले पनि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै यो नाका संचालनको पहल गर्नुपर्छ।’
पोखराबाट कोरलाको दूरी २ सय ५८ किलोमिटर रहेको छ। यो बाटो निर्माणले भने तीव्रता पाएको छ। अहिले पोखराबाट कोरलासम्म मोटर पुगेको छ। पारवहनका दृष्टिले चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको ट्रयाक पनि खोलिएको छ।
७६ किलोमिटरको बेनी–जोमसोममा ४ वटा र १ सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्य भइरहेको छ। मुस्ताङको छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति भएको छ। बेनी–जोमसोम र जोमसोम–कोरला सडक ११ मिटर चौडा बन्दैछ। साढे ७ अर्ब लागतमा बन्ने यो सडकले चीन र भारतबीचको दूरी ४३५ किलोमिटर बनाउनेछ।
कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासीको गैंडाकोटदेखि कोरलासम्मको करिव ४ सय ३५ किलोमिटर सडक बन्नुपर्छ भन्नेमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विशेष जोड दिँदै आएका छन्। उनले दुईपटक त कोरलाको भ्रमणसमेत गरेका छन्। कोरलाबाट तिब्बतको मुख्य राजमार्ग ढङगासेन जोड्ने सडक ४५ किलोमिछर टाढा छ।
Shares
प्रतिक्रिया