नेपालमा पहिलोपटक गरिएको नाडा ईभी एक्स्पो आज सकिँदै छ।
एक्स्पोकै दौडान सार्वजनिक गरिएको टाटाको नेक्सन ईभी प्राइमले अवलोकनकर्ताको ध्यान खिचेको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु एक्स्पोमा प्रदर्शनीमा राखेको थियो। जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राइम पनि थियो।
पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटनसँगै नेक्सन ईभी प्राइम सार्वजनिक गरियो जसमा अवलोकन गर्न आइपुग्नुभएका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाइएको कम्पनीले जनाएको छ।
‘न्यु फरेभेर’को अवधारणाअनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन्।
‘हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रीपश्चातका सेवा सुविधा बारे बुझ्न आउने भेट्यौँ जहाँ गाडीको बारे वहाँहरु आफैँ जानकार हुनुहुन्थ्यो’, सिप्रदीका एक कर्मचारीले भने, ‘गाडीको मूल्यभन्दा पनि चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर र सर्भिसिङको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो।’
बिहीबार सुरु गरिएको ईभी एक्स्पो चार दिनसम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटिएको थियो।
काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।
Shares
प्रतिक्रिया