भन्सार विभागले गाडी छुटाउन अटो व्यवसायीलाई दबाब दिए पनि भन्सार कार्यालयमै करिब ३ हजार गाडी रोकिएका छन्।
व्यवसायीले बिक्रीको वातावरण नभएको भन्दै वीरगञ्ज र भैरहवाको भन्सार विन्दुमा रहेका ती गाडी नल्याएका हुन्।
भन्सार विन्दुमा प्यासेन्जर भेहिकलभन्दा बढी कमर्सियल गाडी छन्। व्यवसायीका अनुसार ९० प्रतिशत नै पिक अप, जिपसहितका कमर्सियल गाडी रहेका छन्।
भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सारमा बढी नै गाडी थुप्रिन थालेकाले व्यवसायीलाई छुटाउन आग्रह गरेको बताएका छन्।
‘नाडासँग कति समयसम्म गाडी राख्ने र एउटा कम्पनीले कतिवटा गाडी राख्ने समझदारी गर्ने तयारीमा रहेका छौँ’, महानिर्देशक बुढाले भने, ‘गाडी लामो समय राख्दा व्यापारीको समेत लागत बढ्छ। व्यवसायीलाई नै फाइदा होस् भनेर अन्तर्क्रिया गरिरहेका छौँ।’
भन्सार विन्दुमा लामो समय गाडी राख्दा सरकारले राजस्व संकलन गर्न सकेको छैन। सरकारको राजस्व लक्ष्य नपुगिरहेको बेला भन्सार विभागले गाडी छुटाउन व्यवसायीसँग छलफल गरिरहेको छ।
नाडा अटो मोबाइल्स एसोसिएनका अध्यक्ष ध्रुव थापाले भन्सारले गाडी छुटाउन आग्रह गरे पनि बिक्री गर्न सक्ने अवस्था नरहेको बताए।
‘सहज वातावरण हुँदा एलसी खोलेका गाडी भन्सारमा आइपुगेका छन्,’ थापाले भने, ‘बैंकले गाडीमा फाइनान्स नै नगर्दा बिक्री हुनसकेका छैनन्। सरकारले बिक्री हुने वातावरण बनाए भित्र्याइहाल्छन्।’
थापाले वीरगन्ज भन्सारमा १९ सय र भैरहवा भन्सारमा करिब ११ सय गाडी रहेको बताए। राष्ट्र बैंकले अटो लोनको जोखिम भार क्षमता ७५ प्रतिशतबाट १५० प्रतिशत पु¥याउँदा बैंकले गाडीमा लगानी गर्न छाडेका छन्।
आर्थिक अवस्था सुधार हुँदै गएकाले अटो व्यवसायीले राष्ट्र बैंकलाई अटो बजारलाई सहज हुने गरी नीति ल्याउन आग्रह गर्दै आएका छन्।
हट्यो नगद मार्जिन, जोखिम भार कायमै
यसैबीच, नेपाल राष्ट्र बैंकले अटो व्यवसायीका माग पूरा गर्नथालेको छ। उसले व्यवसायीले पुनर्विचार गर्न माग गर्दै आएको जोखिम भारको माग १५० प्रतिशत कायमै राखे पनि चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरिसकेको छ भने बैंकको ब्याजदर समेत घटाइसकेको छ।
त्यस्तै एलसी खोल्दा नगद मार्जिन राख्ने व्यवस्था नै खारेज गरिदिएको छ। यी माग उठाउँदै व्यवसायीले आन्दोलन नै गर्नथालेका थिए।
Shares
प्रतिक्रिया