ad ad

कारोबार


‘भरत ताल’मा एकैदिन ४ लाख पर्यटक, १२ हजार जनाले चढे डुंगा

‘भरत ताल’मा एकैदिन ४ लाख पर्यटक, १२ हजार जनाले चढे डुंगा

नेपालखबर
बैशाख २, २०८० शनिबार २०:३, सर्लाही

सर्लाहीको बागमतीस्थित भरत तालमा एकैदिन झण्डै चार लाख पर्यटक पुगेका छन्। 

निर्माणाधीन अवस्थाममै रहेको भरत तालमा नयाँ वर्षका दिन (शुक्रबार) रमाइलो गर्न मानव सागर नै उर्लिएको हो।

सवारीसाधन र पैदल यात्रीका कारण शुक्रबार दिनभरि भरत तालनजिकैको पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको जाम लागेको थियो। 

नयाँ वर्षका दिन भरत ताल पुगेकामध्ये १२ हजारभन्दा धेरै जनाले डुंगा चढेका छन्।

त्यसबापत डुंगा सञ्चालकले झण्डै २५ लाख रुपैयाँ आम्दानी गरेका छन्। 

डुंगा व्यवसायीले आम्दानीको २० प्रतिशत नगरपालिकालाई राजश्व बुझाउनुपर्छ। नयाँ वर्षको दिन तालबाट मात्रै नगरपालिकाले झण्डै ७ लाख रुपैयाँ आम्दानी गरेको छ। 

बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानले नयाँ वर्षका दिन भरत तालमा मानव सागर नै उर्लिए पनि कतिले तालको अवलोकन गरे, त्यसको आधिकारिक तथ्यांक नभएको बताइन्। 

शुक्रबार सर्लाहीसँगै रौतहट, सिन्धुली, बारा, महोत्तरीलगायत जिल्ला र भारतबाट समेत हजारौँ पर्यटक भरत तालमा पुगेका छन्। 

बागमती नगरपालिका १२ मा १२१ बिघा क्षेत्रफलमा फैलिएको भरत ताल यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न थालेको छ। 

बागमती नगरपालिकाले अझै तालको नामकरण गरेको छैन। तर, जनजिब्रोमा ‘भरत ताल’को नामले यो ताल देश-विदेशमा प्रख्यात् भइसकेको छ। 

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको नेतृत्वमा निर्माण भएकाले सर्वसाधारणले यसलाई ‘भरत ताल’ भनेका हुन्। तर, बागमती नगरपालिकाले राखेको बोर्डमा यसको नाम ‘बागमती माछा पोखरी’ छ।

भरत तालमा डुंगा चढ्न र रमाइलो गर्न हरेक दिन हजारौँ पर्यटक पुग्ने गरेका छन्। बिदाको दिन र विशेष खाले चाडपर्वका अवसरमा भने यहाँ मानव सागर नै उर्लिने गरेको छ। 

तालमा अहिले ३१ वटा डुंगा सञ्चालनमा छन्। डुंगा चढेको शुल्क प्रतिव्यक्ति ३ सयदेखि हजार रुपैयाँसम्म लाग्छ। डुंगाको सुविधा र स्तरअनुसार व्यवसायीले शुल्क निर्धारण गरेका छन्। 

चार वर्षअघि बनाउन थालिएको यो तालको निर्माण अझै पूरा भएको छैन। ताल निर्माणमा अहिलेसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको छ। नगरपालिकाले दुई वर्ष अघिदेखि नै यो तालबाट आम्दानी लिन थालिसकेको छ। 

भरत तालनजिकै बागमती नदिमा पूर्वपश्चिम रेल मार्गको पुल निर्माण भइरहेको छ। केही दिनअघिबाट रेलको पुल पनि पैदल यात्रीका लागि खुला गरिएको छ।

भिडिओ

रेलको पुल हेर्न पनि अहिले धेरै पर्यटक यहाँ आउने गरेका छन्। विशेषगरी हरेक दिन साँझपख भरत ताल र रेलको पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेहरुको भीड लाग्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .