सरकारले विदेशी वस्तु आयातमा कडाइ गर्दा स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने भएको छ।
विदेशी मुद्रा सञ्चितिमा चाप परेसँगै आत्मनिर्भरको चरणमा रहेका वस्तुलाई विदेशी आयात बन्द गर्दा स्वदेशी उद्योगीलाई सहज हुने भएको हो।
नेपालमा आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, जुत्ता चप्पल, सुनलगायतका छन्।
पेट्रोलियम पदार्थ, सवारीसाधन र मेसिनरीका सामग्री आयात गर्नैपर्ने बाध्यता रहे पनि कतिपय सामग्री आफैँ उत्पादन गर्न सकिन्छ। विलासिताका वस्तुबाहेक नेपालमा विश्वका महंगा ब्रान्डका दैनिक प्रयोग हुने वस्तु आयात भइरहेका छन्।
कपडा, जुत्ता, दुग्धजन्य पदार्थ, अण्डा, माछा, सिमेन्टलगायतको वस्तुमा नेपाल आत्मनिर्भरको अवस्थामा छ। सरकारले यी वस्तुको आयातमा रोक लगाउँदा विदेशी सञ्चितिमा अर्बौँ रुपैयाँ जोगिने र स्वदेशी वस्तुको समेत प्रवर्द्धन हुने नेपाली उद्योगी व्यवसायी बताउँछन्।
विदेशी वस्तुको आयात जति घट्छ। राष्ट्र बैंकलाई विदेशी मुद्रा सञ्चिति दबाबलाई केही राहत मिल्नेछ। राष्ट्र बैंकको तथ्यांकअनुसार करिब ६ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था मात्रै छ।
चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तयारी जुत्ता चप्पल तथा कच्चापदार्थ ६ अर्ब २४ करोड रुपैयाँको आयात भएको छ। यसमा ५० प्रतिशत बढी तयारी जुत्ता तथा चप्पल आउने गरेको व्यवसायी बताउँछन्।
नेपालमा विदेशी ब्रान्ड एडिडास, नाइक, फिला, कन्भर्स, टिम्बरल्यान्डलगायतका विदेशी ब्रान्ड छन्। विदेशी वस्तुको आयातमा रोक लाग्दा नेपाली ब्रान्डका दुल्ला, शिखर, रोयल, गोल्डस्टार, क्यालिबर, ब्ल्याकहर्स, मिलानोजस्ता ब्रान्ड फस्टाउन पाउँछन्।
नेपाली व्यवसायीले एक जोर विदेशी जुत्ता नआए पनि नेपाली ब्रान्डले धान्न सक्ने बताउँछन्। नेपालमा पछिल्लो समय गुणस्तरीय जुत्ता उत्पादन हुनथालेका छन्। नेपाली ब्रान्ड विदेशमा समेत निर्यात हुन्छन्।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्णकुमार फुँयालले व्यवसायीले वर्षौँदेखि उठाएको कुरा सरकारले भर्खर देखेको बताए।
उनले देशलाई समृद्ध बनाउन विदेशबाट आयात हुने जुत्ता तथा चप्पलमा कडाइ गर्नैपर्ने बताए।
‘हामीले पहिलाबाटै भन्दै आएका हौँ। नेपालले उत्पादन गर्नसक्ने वस्तु आयात गर्नुपर्दैन’, फुँयाल भन्छन्, ‘अहिले विदेशी मुद्रा सञ्चितिमा अप्ठ्यारो परेपछि मात्रै नियन्त्रण गर्ने नीति लिएको छ। सहज हुँदाबित्तिकै खोल्छ।’
चिया कफी ६ अर्ब, साबुन–सर्फ साढे ५ अर्बको आयात
चिया र कफीमा नेपाल उत्पादन राम्रो भए पनि ८ महिनामै ६ अर्ब रुपैयाँको आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार कफी, चियाजन्य पदार्थ मात्रै ६ अर्ब रुपैयाँको आयात भएको हो।
पछिल्लो ८ महिनामा १ अर्ब १८ करोड रुपैयाँको दूध, घ्यू, चिजजन्य पदार्थ आयात भएको छ। नेपाल डेरीका वस्तुमा करिब आत्मनिर्भर छ। कुनै समय दूध बिक्री नभएको भन्दै व्यवसायी सडकमै दूध खन्याएका उदाहरण समेत छन्।
सरकारले विदेशबाट डेरी प्रोडक्ट आयातमा रोक लगाएसँगै डेरी व्यवसायी उत्साहित भएका छन्।
‘डेरी व्यवसायीले नेपाल आत्मनिर्भर भइसक्यो अब विदेशी डेरी प्रोडक्ट ल्याउनुपर्दैन’, नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने, ‘सरकारले केही समयको लागि रोकेको छ। यसले हाम्रो स्थिति पनि थाहा हुन्छ।’
उनले नेपालमै दूध उत्पादन पर्याप्त भएकाले डेरी प्रोडक्टको आयातले नेपालको अर्थतन्त्रको लागि ठीक नभएको बताए। भारतबाट आयात हुने कतिपय डेरी प्रोडक्टको कारण नेपाली व्यवसायी मारमा परिरहेको बताउँदै आएका छन्।
त्यस्तै नेपालमा उत्पादन हुने पेयपदार्थ साढे २ अर्बको आउँदा साबुन–सर्फलगायतका साढे ५ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।
कपडामा हुन सकिन्छ आत्मनिर्भर
आठ महिनामा कपडाजन्य कच्चा पदार्थ ऊनी, कपास, धागो, कपाडालगायत वस्तु करिब ७१ अर्ब रुपैयाँको आयात भएको छ। यसमा तयारी पोशाक ८ अर्ब २४ करोड रुपैयाँको छ भने १७ अर्ब ३३ करोडको तयारी पोशाककै कच्चापदार्थ नेपाल भित्रिएको छ। जुन नेपालमा ल्याएर सिलाइन्छ। यसबाहेक क्याप अर्थात् टोपीजन्यमात्रै १ अर्ब १६ करोड रुपैयाँको आयात भएको छ।
नेपालका आफ्ना कपडा ब्रान्डमा केटीएमसिटी, फाइब्रो, लाखे नेपाल, किरोज फेसन, फलानो लुगा, सोनाम गियर, लोगो, युएफओलगायत नेपाली ब्रान्ड बजारमा उपलब्ध छन्। क्लोदिङ ब्रान्डमा एडिडास, नाइक, फिला, ली लगायतका चर्चित ब्रान्ड रहेका छन् भने भारतीय र चिनियाँ ब्रान्ड समेतको उपस्थिति छ।
नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्र कुमार लोहियाले कपडाको आयातमा अर्बौँ रुपैयाँ बाहिर जाने गरेको बताए। उनले नेपालमा औपचारिकभन्दा पनि अनौपचारिक रुपबाट पैसा बाहिरिने गरेको बताए।
‘नेपाली कपडा गुणस्तरीय नै उत्पादन हुनथालेको छ। तर अझै भारतलगायतकै देशबाट कपडा आयात भइरहेको छ’, लोहियाले भने।
नेपालमा तयारी पोशाकबाहेक टेक्सटायल समेत अवैध रुपमा नेपाल भित्रिने गरेको छ।
Shares
प्रतिक्रिया