भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सुदूरपश्चिम क्षेत्र लगानीका लागि भर्जिन ल्यान्ड भएको बताएका छन्।
नेपालको पहिलो सुपरमार्केट भाटभटेनीको २३औँ शाखा शुक्रबार धनगढीमा उद्घाटन गर्दै उनले भाटभटेनीको स्थापनासँगै यहाँको ‘बिजनेस इको सिस्टम’ नै परिवर्तन हुने दाबी गरे।
‘लगानी सम्भावनाका यो भर्जिन ल्यान्ड हो। यहाँ हरेक क्षेत्रमा उत्तिकै अवसर र सम्भावना छन्’, गुरुङले भने, ‘भाटभटेनीको उपस्थितिसँगै अब यहाँ अरु क्षेत्रमा पनि लगानी भित्रिन थाल्छन्। भाटभटेनी जहाँ जान्छ। त्यहाँ मार्केट सेट हुन्छ। यहाँको बिजनेस इको सिस्टम नै परिवर्तन गर्ने लक्ष्य हामीले लिएका छौँ।’
१ लाख ५० हजार वर्गफिटमा फैलिएको धनगढीस्थित भाटभटेनी २ अर्ब २५ करोडको लगानीमा तयार भएको हो। यहाँ २ सयदेखि २२५ जनाले प्रत्यक्ष रोजगारी पाएको गुरुङले बताए।
नेपाली नेपाली व्यवसायीहरुले सुरुमा कम सम्भावना भएको क्षेत्रमा लगानी गर्नुपर्ने बताए। सम्भावना भएका सहज ठाउँमा जसले पनि लगानी गर्ने बताउँदै नेपालीहरुले नयाँ–नयाँ लगानीका क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए।
‘यो लगानी मैले काठमाडौंमा गरेको भए पाँच ठाउँमा स्टोर खुल्थ्यो। नेपाली व्यवसायीको हैसियत त्योमात्रै मेरो कर्तव्य होइन’, उनले भने, ‘मलाई यहाँसम्म पुर्याउन आम नेपाली हो। त्यसैले जहाँ थोरै सम्भावना छ। त्यहाँ सुरुमा हामी नेपाली व्यवसायी नै जोखिम लिएर पुग्नुपर्छ। त्यसपछि अरु बिजनेस हाउसहरु आकर्षित हुन थाल्छन्।’
दैनिक उपभोग्य सामानहरु खरिद गर्न पनि सीमावर्ती भारतीय बजारमा जाने धनगढीबासीलाई धनगढीमै रोक्ने योजनाका साथ आफूहरुले एकदमै कम मार्जिनमा सामानहरु बेचिरहेको उनको दाबी थियो।
‘हाम्रो अध्ययनमा चिनी, जिरा, चिया, घरायसी सामान, लत्ताकपडाका लागि सीमावर्ती बजारमा जाने गरेका छन्’, उनले भने, ‘सबैको चाहना नेपाली पैसा नेपालमै रहोस् भन्ने हो। घरायसी समानमा कमभन्दा कम फाइदा राखेर हामीले सस्तोमा उपलब्ध गराउने गरेका छौँ।’
धनगढीमा भाटभटेनी आउँदैमा आफ्नो व्यापार व्यवसाय चौपट हुने ढंगबाट कुनै व्यवसायीले सोच्न नपर्ने गुरुङले बताए। उनले आफ्नो ग्राहकलाई मनबाटै सेवा दिने हो भने भाटभटेनीले कसैलाई पनि केही असर नपुर्याउने बताए।
कोभिडयतामात्रै इटहरी, विराटनगर, धनगढीलगायत ५ ठाउँमा सुपरमार्केट स्थापना गरेको स्मरण गर्दै उनले कोभिडको असहजताबीच पनि आफ्नो टिमले गरेको मिहिनेतप्रति सन्तुष्टि व्यक्त गरे। यस्तै आगामी आर्थिक वर्षमा वीरगञ्ज, जनकपुर र बिर्तामोडमा भाटभटेनी सुपरमार्केट सञ्चालनको तयारी गरिरहेको उनले बताए।
Shares
प्रतिक्रिया