गोल्डेन ओक १२औँ कृति अवार्ड यही भदौ २६ गते हुने भएको छ।
नेपाल विज्ञापन संघ (आन)ले २०६० देखि सुरु गरेको नेपालको विज्ञापन सृजनशीालतालाई सम्मान गर्ने कृति अवार्ड्सको १२औँ संस्करण यो वर्ष भदौ अन्तिम साता हुने भएको हो।
यो वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ। राजधानीमा बुधबार आयोजित उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष सोम प्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका हुन्।
आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्षसम्म हुनसकेको थिएन। कृति अवार्डस विज्ञापन क्षेत्र लगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा आयोजना गर्नेे गरिएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यावसायिक परिस्थिति झल्काउने प्रतिष्ठित कार्यक्रममा आप्mनो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गरे।
उनले भविष्यमा पनि सहकार्य गर्न सकिने बताए। आनका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टिलरी लि. र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गरे। भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज बिचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे।
गोल्डेन ओक १२औं कृति अवार्डमा २०७६ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवर्द्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने भएको छ। संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ देखि भदौ ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ।
सिर्जनशीलताको लागि प्रतिस्पर्धात्मक सम्मानका रुपमा आयोजना हुँदै आएको कृति अवार्डको १२औं संस्करण गोल्डेन ओक १२औं कृति अवार्डमा विज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ विधामा पुरस्कृत गरिने भएको छ।
कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा. विजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ।
यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा बिशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट्टाछुट्टै निर्णायक समितिहरु रहनेछन्।
Shares
प्रतिक्रिया