संसार २१औँ शताब्दीमा दौडिरहेको छ। प्रविधि र नवप्रवर्तनको यो युगमा घरमै बसेर सेवा लिने चाहना ग्राहकमाझ बढ्दै गएको छ।
विश्वका विकसित देशमा राज गरिसकेको एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिक यन्त्र/उपकरण) ले नेपालजस्ता देशमा पनि विस्तारै आफ्नो प्रभुत्व जमाउँदै गरेका प्रशस्त उदाहरण भेटिनथालेका छन्।
नेपालको बैंकिङ क्षेत्र र बीमा क्षेत्र मात्र होइन, सुविधामा जिउन चाहने सामान्य घरपरिवारले समेत यसलाई आत्मसात् गर्नथालेका छन्।
बैंकको खाता खोल्ने होस् वा बीमा पोलिसी खरिद गर्ने, सेवाग्राहीको सबै काम अनलाइनबाटै हुनथालेको छ। यतिसम्म कि सामान्य जीवनयापन गर्ने मानिसहरु समेत यसकै सहायतामा सामान खरिदबिक्री गर्दै छन्।
जस्तो कि अहिले ई–कमर्सको प्रयोग बढ्दो छ। एउटा सफ्टवेयरको भरमा सेवा प्रदायक र सेवाग्राहीबीचको लेनदेन हुन्छ।
बैंक तथा वित्तीय संस्थामा अहिले एआई च्याटबटले ग्राहकलाई आवश्यक परामर्श दिन्छ। भिडियो केवाईसीमार्फत खाता खोल्न सकिन्छ।
एआई अर्थात् मेसिनले ग्राहकलाई आफ्नो प्रोडक्ट र सेवाबारे जानकारी गराउँछ।
के फाइदा?
व्यावसायिक क्षेत्रमा एआईको प्रयोगले कम्पनीहरुलाई पनि फाइदा पुगेको छ। जस्तो कि त्यसको लागि छुट्टै कर्मचारी राख्नुपर्ने बाध्यता हटेको छ। सहज रुपमा काम हुने भएपछि आफ्नो व्यवसायलाई थप विस्तार गर्न यसले सहज बनाउँदै लगेको सफ्टवेयर डेभलपर बताउँछन्।
एआई प्रविधिले कल सेन्टरको कन्सेप्टलाई नै परिवर्तन गराउँदै लगेको उनीहरुको बुझाइ छ। कुनै पनि कम्पनीको कल सेन्टरमा सीमित व्यक्ति हुन्छन्। एकै पटक धेरै सेवाग्राहीले फोन उठाउन नभ्याउने समस्या हुन्छ।
व्यावसायिक क्षेत्रमा एआई प्रविधिको प्रयोग बढाउँदा सेवाग्राहीले गुणस्तरीय सेवा पाउनेमा उनीहरु पनि ढुक्क देखिन्छन्। प्रविधिले चौबीसै घण्टा ग्राहकलाई रेस्पोन्स गर्न सक्छन्, एकै पटकमा हजारौँ ग्राहकको समस्या निराकरण गर्न सक्छन्।
सफ्टवेयर डेभलपमेन्ट कम्पनी टेकमिन्ट इनोभेसनका चिफ टेक्नोलोजी अफिसर सत्यम पौडेल अबको भविष्य एआई प्रविधि भएको बताउँछन्। अबको ४–५ वर्षमा नेपालको व्यावसायिक क्षेत्र एआईको व्यापक प्रयोग हुने विश्वास उनको छ।
अहिले एआई च्याटबट, भिडियो केवाईसी, ई–साइन, कन्ट्राक्ट म्यानेजमेन्टको लागि म्यानुअल्ली गर्नुपर्दैन। नेपालको व्यवसाय म्यानेजमेन्टलाई एआईले परिवर्तन गराउँदै छ।
‘बैंकको खाता खोल्न जाने ग्राहकलाई रिसेप्सनमा बसेकाले पालैपालो सिकाउनुपर्छ। तर अब भिडियो केवाईसीले घरमै बसेर अनलाइन सेवा लिने ग्राहकलाई सहयोग गर्ने भएको छ’, अझ उदाहरण दिँदै पौडेल थप्छन्, ‘बैंक खाता खोल्दा होस् वा आफ्नो बीमा गर्दा अनलाइनबाट कसरी काम गर्ने भिडियो केवाईसीले प्रक्रियागत सबै कुरा सिकाउँछन्।’
टेकमिन्ट इनोभेसनले कन्ट्राक्ट म्यानेजमेन्टमा दुई पक्षबीच हुने वार्ता, सम्झौताका पक्षहरु सबै एआई प्रविधिबाटै गरिदिने उनको भनाइ छ।
विदेशमा यसको प्रयोग व्यापक रुपमा बढ्दो छ। नेपालका पनि केही बैंक तथा वित्तीय संस्थाले प्रयोग बढ्दै गएको छ। आफ्नो ग्राहकलाई सहज सेवा सुविधा दिन कम्पनी एआई प्रयोग गर्न बाध्य हुने उनी बताउँछन्।
‘ग्राहकलाई समयमै सेवा दिने चाहना हरेक कम्पनीको हुन्छ। व्यवसायीहरु एआई प्रयोग गर्न इच्छुक देखिनुभएको छ’, पौडेलले भने।
स्टक म्यानेजमेन्ट र क्लाउड एकाउन्टिङ
ई–कमर्स प्लेटफर्म चलाइरहेका सविन श्रेष्ठले पसल स्टक म्यानेजमेन्ट सिस्टम (बाँकी रहेका वस्तुको व्यवस्थापन) सुरु गरेका छन्।
श्रेष्ठको पसलले कुनै पनि व्यवसायको स्टकको डिजिटाइज गरी व्यवस्थापन गर्छ। आफू जहाँ भए पनि पसलमा कुन सामान कति छ, कुन सामान कहाँ बिक्री भयो सफ्टवेयरको सहयोगमा मोबाइलमै हेर्न सकिन्छ।
व्यवसायीले उक्त सफ्टवेयर प्रयोग गर्दा कसलाई पैसा दिनुपर्नेछ र कोसँगबाट लिनुपर्नेछ भन्नेबारे जानकारी लिन सकिन्छ। आफ्नो कम्पनीको दैनिक, मासिक वा वार्षिक बिक्री विश्लेषण गरिदिन्छ।
आफ्नो व्यवसायको लक्ष्य कति पुग्यो वा पुगेन भन्ने मासिक र वार्षिक व्यावसायिक प्रतिवेदन यो सफ्टवेयर प्रयोग गरेर लिन सकिन्छ। आफ्नो व्यापार व्यवसायलाई विस्तार गर्न स–साना कुरामा अल्झिनुपर्दैन।
त्यस्तै कम्पनीहरुले आफ्नो व्यवसायको सबै हिसाबकिताब मोबाइल एपबाटै हेर्न सक्छन्। टिग नेपालमै निर्मित क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर हो। मोबाइलमा टिग एप डाउनलोड गरी कम्पनीको सबै हिसाबकिताब त्यहीबाटै हेर्न सकिने कम्पनीले जनाएको छ।
लेखाको लागि आवश्यक पर्ने जनरल भौचर, एकाउन्ट लेजर, सबै बैंकहरुको व्यवस्थापन एकाउन्टिङ मोडुलबाटै सहज गर्न सकिन्छ। यसबाट आफूले लिनुपर्ने रकम, दिनुपर्ने रकमबाहेक बिक्री र खरिद गरेको रिपोर्ट, करसम्बन्धी सबै काम यसबाट हुन्छ।
हिसाबकिताब मिलाउने अकाउन्टेन्ट, अडिटरलाई एपमा पहुँच दिई अनलाइनबाटै व्यवस्थापन गर्न सकिन्छ। पहुँच पाएकालाई कुन–कुन तथ्यांक दिने वा नदिने भन्ने कुराको निक्र्यौल आफैँ गर्न सकिन्छ। एप प्रयोगकर्ताले आवश्यकताअनुसार कसैलाई हटाउन वा जोड्न पनि सक्छन्।
नेपाली युवाहरुले नै विकास गरेको वेद एपले शैक्षिक संस्थाको व्यवस्थापनका सबै काम गर्दै आएको छ। विद्यार्थीको हाजिरी, नतिजा, गृहकार्य, विद्यालय र शिक्षकबीच सञ्चार गर्न वेदले विकास गरेको एपले सहयोग गर्छ।
‘वेबबुक’मार्फत आतिथ्य व्यवस्थापन
होटल तथा रेष्टुरेन्टको व्यवस्थापनको लागि पनि नेपालमा थुप्रै सफ्टवेयर प्रयोगमा आएका छन्। नेपालमा वेबबुक हस्पिटालिटी म्यानेजमेन्ट (आतिथ्य व्यवस्थापन) सफ्टवेयर कम्पनीले होटल तथा रेष्ट्रो म्यानेजमेन्टको काम गर्दै आएको छ।
कम्पनीका बिजनेस डेभलपमेन्ट हेड रिवाज गुप्ताले होटलको फ्रन्ट डेस्क, रिजर्भेसन चेक इन, सिफ्ट हस्तान्तरण, एजेन्ट, गेष्ट प्रोफाइल बनाउन यसले सहयोग पुर्याउँदै आएको बताउँछन्।
‘एचआरसम्बन्धी एटेन्डेन्स, पे रोल, ओभरटाइम, लिभलगायतको काम सफ्टवेयरबाटै व्यवस्थापन गरिदिन्छ’, उनी भन्छन्, ‘होटलमा अकाउन्टसम्बन्धी क्यास फ्लो, भौचर, नाफाघाटा, ब्यालेन्स सिट, ट्रायल ब्यालेन्स, फाइनान्सियल रिपोर्ट सबै सफ्टवेयरको माध्यमबाट तयार पारिदिन्छौँ।’
होटल काउन्ट्री भिल्ला, धुलिखेल लज, होटल विनायक, एसियन होटल, मिराबेल रिसोर्ट एन्ड होटलले वेबबुकको सफ्टवेयर सञ्चालन गरिरहेका छन्। नेपालहाउस, हाङकुक कोरियन साराङ, दालभात नेपाली किचन लगायतका रेष्टुरेन्ट पनि आबद्ध छन्।
‘तपाईं जहाँसुकै बस्नुहोस् मोबाइलबाट आफूले लगानी गरेको होटल तथा रेष्टुरेन्ट कसरी चलेको छ थाहा पाउन सक्नुहुन्छ’, गुप्ताले भने, ‘हस्पिटालिटी म्यानेजमेन्टमा अब आफू बस्नैपर्ने बाध्यता हटेको छ। सबै काम सफ्टवेयरको माध्यमबाटै हुन्छ।’
Shares
प्रतिक्रिया