ad ad

कारोबार


मस्कले ट्विटर किन्दा हलचल : को खुसी, को दुःखी?

मस्कले ट्विटर किन्दा हलचल : को खुसी, को दुःखी?

नेपालखबर
बैशाख १३, २०७९ मंगलबार १७:४, काठमाडौँ

इलोन मस्कले संसारकै एक प्रभावशाली मानिएको सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने पक्कापक्की भएको छ। ४४ अर्ब डलरमा ट्विटर किन्ने भएसँगै आगामी दिनमा ट्विटरमा आउने बदलावलाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ। 

मस्कले यसअघि ट्विटरको नियमनबारे कडा आलोचना गर्दै आएका थिए। उनले अभिव्यक्ति स्वतन्त्रतालाई लिएर पटक पटक प्रश्न उठाउँदै आएका कारण अब ट्विटरको नियमन नीति लचिलो हुनसक्ने देखिएको छ। 

मानवअधिकार समूहहरुले मस्कले ट्विटर खरिद गर्ने निश्चित भएपछि चिन्ता व्यक्त गरेका छन्। खासगरी अभिव्यक्ति स्वतन्त्रताको नाममा हेट स्पिच अर्थात् घृणा अभिव्यक्ति मौलाउने खतरालाई लिएर उनीहरुले चिन्ता व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ। 

धेरै ट्विटर प्रयोगकर्ताहरुले आफ्नो निलम्बित एकाउन्ट कम्पनीले ब्युँताइदिने आशा गरेका छन्। यस्ता व्यक्तिमाझ पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि छन्। 

मस्कले ट्विटर किन्ने पक्का भएका समाचारसँगै ह्युमन राइट्स ग्रुपहरुले ट्विटरमाथि मस्कको एकल पकड जम्ने डर देखेका छन्। 

मस्कले भने ट्विटरसँग सम्झौता हुने पक्का भएपछि सानो वक्तव्य जारी गर्दै अभिव्यक्ति स्वतन्त्रतालाई सक्रिय प्रजातन्त्रको मूलाधार भनिसकेका छन्। 

आफ्नो ट्विटर थ्रेडमा एमनेस्टी इन्टरनेशनलले ट्विटरले आगामी दिनमा चाल्नसक्ने पाइलाहरुले प्रयोगकर्तालाई संरक्षण गर्न अहिले कार्यान्वयनमा रहेका नीति र संयन्त्र भत्काउने चिन्ता व्यक्त गरेको छ। खासगरी महिला, तेस्रो लिंगी व्यक्ति र अन्य व्यक्तिहरुलाई लिएर उसको चिन्ता देखिएको छ। 

के ट्रम्पको एकाउन्ट फेरि सक्रिय होला?
पूर्वराष्ट्रपति ट्रम्पको ट्विटर एकाउन्ट गत वर्ष निलम्बन गरिएको थियो। राष्ट्रपतीय निर्वाचनमा पराजय भोगेपछि जनवरी ६ मा वासिङटनमा रहेको संसद् भवनमा उनका समर्थकले हुलहुज्जत गरेपछि उनको एकाउन्ट ट्विटरले बन्द गरिदिएको थियो। 

ट्विटरले अब आफ्नो एकाउन्ट खोलिदिए पनि आफू ट्विटर नफर्किने ट्रम्पले बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रहने उनले बताएका छन्। 

‘म ट्विटरमा जान्न, ट्रुथमै बसिराख्नेछु’, मस्कले ट्विटर किनेपछि उनले फक्स न्युजसँग भने। 

मस्कलाई ‘असल मान्छे’ भन्ने ट्रम्पले ट्विटर खरिदसँगै मस्कले यसका कमजोरी सुधार गर्ने आशा भने गरेका छन्। 

टीएफ इन्टरनेशनल सेक्युरिटिजका एक प्रविधि विशेषज्ञ मिंग चि कुओ भने यदि उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उठ्ने निश्चित गरे ट्विटरमा फर्किन सक्ने बताउँछन्। 

उनका अनुसार अहिले पनि ट्रम्पको उत्कृष्ट छनोट ट्विटर नै हुनेछ। 

मानिसहरुले छाड्लान् ट्विटर? 
मस्कले ट्विटर खरिद गरेपछि अर्को आशंका पनि बढिरहेको छ। मस्कले लिने नीतिलाई लिएर धेरैले ट्विटर छाड्न सक्ने आकलन छ। तर मस्क भने आफ्ना कडा आलोचक पनि ट्विटरमै रहने आशा गर्छन्। किनकि ट्विटरले अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नेछ। 

यद्यपि केही प्रयोगकर्ताले ट्विटर छाड्ने बताइसकेका छन् भने केहीले त छाडिसकेका छन्। 

बेलायती कलाकार तथा टिभी सिरिज द गुड प्लेसकी अभिनेत्री जमिला जमिल अब ट्विटर अझै कानुनविहीन, घृणायोग्य, नश्लीय हुने आकलन गर्छिन्। 

उनले आफ्ना १० लाख समर्थकलाई ट्विट गर्दै भनेकी छिन्, ‘म अन्तिम ट्विट हुन चाहन्छु।’ 

यता युनिभर्सिटी अफ मेरिल्यान्डकी पोस्ट डक्टरल अध्येता क्यारोलिन अर बुएनोले भने आफू ट्विटरमै रहने बताएकी छिन्। ट्विटरमा उनका साढे ४ लाख समर्थक छन्। 

तर यता लगानी कम्पनी वेडबस सेक्युरिटिजका विश्लेषक डान इभ्सले धेरै प्रयोगकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। 

बढ्दो अनिश्चितता
ट्विटरको ११ सदस्यीय बोर्डले मस्कको ४४ अर्ब डलरको खरिद प्रस्तावलाई अनुमोदन गरेको थियो। ट्विटरकै सहसंस्थापना गरेका तथा हाल पनि बोर्डमै रहेका ट्विटरका ज्याक डोर्से भने खुसी देखिएका छन्। ट्विटरले सार्वजनिक अन्तर्क्रियालाई निरन्तरता दिने उनको आशा छ। उनले यसलाई जसले चलाए पनि फरक नपर्ने बताउँछन्। 

‘ट्विटरले आफूलाई कार्यविधिको तहमा सार्वजनिक वस्तु हुनचाहेको छ कम्पनी होइन’, उनले मंगलबार ट्विटमा भनेका छन्, ‘कम्पनीको रुपमा समस्या समाधानको लागि इलोन एक्लै समाधान हुने विश्वास छ। उनको चेतनाको प्रकाश विस्तारका लागि खडा भएको मिसनप्रति विश्वास छ।’ 

ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले पनि कर्मचारीमाझ बैठक राखिसकेका छन्। जहाँ उनले कम्पनीको भविष्य अनिश्चित रहेको बताएको रोयटर्सले जनाएको छ। 

‘जब सम्झौता हुन्छ, ट्विटर कुन मार्गदिशामा हिँड्नेछ हामीलाई थाहा छैन’, उनले उक्त बैठकमा भनेका थिए। 

राजनीतिज्ञहरु के भन्छन्? 
सोमबार ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले रिपोर्टरहरुसँग ठूला सामाजिक सञ्जालको शक्तिबारे राष्ट्रपति जो बाइडेन लामो समयदेखि चिन्तित रहेको बताइन्।  डेमोक्रेटिक सेनेटर एलिजाबेथ वारेनले यो सम्झौतालाई प्रजातन्त्रका लागि खतरा रहेको बताएकी छिन्। उनले धनीमाथि धेरै कर लगाउने र ठूला प्रविधि कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने खाँचो रहेको दोहोर्याइन्। 

तर यता अमेरिकी रिपब्लिकन सेनेटर मार्सा ब्ल्याकबर्नले भने मस्क र ट्विटरबोर्डबीचको सहमतिलाई अभिव्यक्ति स्वतन्त्रतालाई उत्साह भर्ने दिन भएको बताइन्।  बीबीसीबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .