लकडाउन नथपिएको भए थुन्ची चौधरीको योजना थियो– एक पटक फेरि अस्पताल जाने, डाक्टरलाई गोडा देखाउने र घर फर्किने।
बर्दियाकी ५२ वर्षीया थुन्ची खुट्टा अचाक्ली दुख्न थालेपछि उपचारका लागि चैत १ गते काठमाडौं आएकी थिइन्।
चैत २ मा ललितपुरको बीएन्डबी अस्पताल पुगेर उपचार गराइन्। डाक्टरले औषधि दिएर एक सातापछि फेरि आउनू भने।
तर, चैत १० गते नेपालमा कोरोना संक्रमित फेला परेपछि सबैतिर त्रास फैलियो।
अस्पतालले अत्यावश्यक सेवा बाहेकका अन्य उपचार नगर्ने भएपछि उनको उपचार रोकियो।
धापाखेलमा छोरीको कोठामा बसेकी उनी त्यहीँ रोकिइन्। लकडाउनसँगै उनको काठमाडौँ बसाइ पनि लम्बिँदै गयो।
वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ सम्मका लागि लकडाउन अवधि थप्ने निर्णय गरेपछि थुन्चीले धैर्य गर्न सकिनन्।
घरबाट लिएर आएको पैसा निख्रिँदै थियो। छोरीको कोठामा भएको खाद्यान्न पनि सकिँदै थियो। पैसा आउने कुनै बाटो थिएन। उनी आत्तिन थालिन्।
दैनिक सयौं मानिस हिँडेरै बर्दिया, कैलाली, दाङ पुगेको सुनेकी थिइन् उनले।
त्यसैले मंगलबार बेलुका नै उनी सामान पोको पारेर हिँडेरै भए पनि घर जाने निर्णयमा पुगिन्।
‘भोलि बिहान सबैरै हिँड्नुपर्छ, अब गाडी चल्ला जस्तो छैन,’ उनले छोरीलाई तयार हुन भनिन्।
‘यहाँ त कसरी बस्न सक्नु र!’ बुधबार कलंकीमा भेटिएकी थुन्चीले नेपालखबरसँग भनिन्, ‘कोठामा चामल छैन। किनेर खान पैसा पनि छैन।’
नातिनी र छोरीसहित घर फर्किनेको ताँतीमा मिसिएकी उनलाई घर पुग्नपाए भोकले चाहिँ मरिँदैनथ्यो भन्ने लाग्छ।
उनको खुट्टाको दुखाइ अझै निको भएकै छैन। तर, भोकै मर्नुभन्दा दुःखेको गोडाले भएपनि हिँड्नु उनलाई निको लाग्यो।
‘यहाँ बस्यो भने खानै नपाएर मरिन्छ, घर पुग्यो भने खान त पाइन्छ,’ थुन्चीले भनिन्।
काठमाडौंबाट बर्दिया ५ सय ४१ किलोमिटर टाढा छ। गाडीमै त १५ घण्टा लाग्ने बाटोमा दुःखेको गोडाले हिँडेर कति दिनमा पुगिने हो थुन्चीलाई थाहा छैन। तै पनि उनी छोरी र नातिनीको साथ लागेर धापाखेलबाट निस्किइन्।
थुन्चीसँगै साथ लागेर बर्दिया पुग्न कस्सिइन् शारदा चौधरी पनि। ३० वर्षकी उनी ५ वर्षको छोरोलाई बर्दियामै छोडेर स्वास्थ्य उपचारका लागि चैत ४ गते काठमाडौं आएकी थिइन्।
छाउनी अस्पतालमा उपचार नभएपछि उनी कुण्डलिनी डाइग्नोस्टिक सेन्टर, धुम्बाराहीमा गइन्। चैत ११ गते एमआरआई गर्ने समय दिइयो।
तर, ११ गतेदेखि नै देशव्यापी लकडाउन भएपछि उनले एमआरआई गराउन पाइनन्।
‘एकमहिना भयो घरबाट आएको, न उपचार गर्न पाइयो, न त घर जान नै,’ नेपालखबरसँग शारदाले गुनासो गरिन्।
धापाखेलमै कोठा लिएर बसेकी उनी आफूसँग भएको पैसा र खानेकुरा सकिएपछि राहतका लागि यताउता धाइन्। तर, कतैबाट सहयोग पाइनन्।
‘राहतको लागि नागरिकता मागे, मसँग नागरिकता थिएन, अनि राहत पनि पाइनँ,’ शारदाले भनिन्, ‘खानै नपाएपछि त कसरी बाँच्नु?’
थुन्ची र शारदाले धापाखेल आसपासमा बसेका बर्दिया जान चाहनेहरुबारे सोधखोज गरे। थुप्रै मान्छे उस्तै समस्यामा थिए।
बुधबार बिहानै सबै जना धापाखेलकै डाउनटाउन अपार्टमेन्टनेर भेला भए।
सबै उमेरका मानिस त्यहाँ बेला भएका थिए। जसमध्ये धेरै निर्माण क्षेत्रका मजदुर थिए।
तर, भीड गरेको भनेर प्रहरीले उनीहरूलाई तितरबितर पार्यो। केहीबेर कोही कता, कोही कता भए। हामी पनि बर्दिया जाने हौँ भनेर खबर गर्ने दुईजना आइपुगेकै थिएनन्। थुन्ची उनीहरुलाई कुरिरहेकी थिइन्।
सवा ११ बजे ती दुईजना आइपुगे।
‘अलि छिटो आउनुपर्दैन? यहाँ प्रहरीले हामीलाई दुःख दियो!’ थुन्चीले हकारिन्।
सबैजना हिँड्न तयार भए। त्यहाँ भएकामध्ये जेठोबाठो थुन्ची नै थिइन्।
त्यसैले उनले सबैजनालाई भनिन्, ‘पाए गाडी चढौँला, नपाए हिँडेरै जाने हो, जति दिन लाग्छ, लागोस्।’
‘जम्मा हामी ३२ जना भयौं,’ थुन्चीले भनिन्, ‘त्यसपछि हामी हिँड्यौँ।’
बत्तीसै जनाको टोली कलंकी जान धापाखेलबाट सातदोबाटोतर्फ लाग्यो।
प्रहरीको रोक्नसक्ने देखेपछि उनीहरु मुख्य सडकमा पनि हिँडेनन्। भित्रीबाटो हुँदै कीर्तिपुर पुगेपछि प्रहरीले आफूहरुलाई रोकेको थुन्चीले बताइन्।
‘यति ठूलो समूह कहाँ हिँडेको भनेर हामीलाई रोक्नुभयो,’ थुन्चीले भनिन्, ‘धेरैबेर रोकेपछि छाडिदिनुभयो।’
उनीहरु पाँच बजे बल्ल कलङ्की पुगे।
साथमै रहेकी ८ वर्षीया नातिनी हिँड्न नसकेर रोइरोएकी थिइन्।
‘हिँड्न गाह्रो भयो भन्दैछे। बर्दिया कसरी पुर्याउने होला?’ थुन्चीले चिन्ता व्यक्त गरिन्।
कलंकीमा झण्डै एक घण्टा आराम गरेर चिउरा, दालमोठ र पानी खाएपछि उनीहरु फेरि हिँड्न थाले।
‘आज बास बस्न कहाँ पुग्नुहोला त?’ हामीले सोध्यौँ।
‘खोई, कहाँ पुगिन्छ,’ थुन्चीले थानकोटतर्फ नजर डुलाउँदै जवाफ दिइन्, ‘जहाँ पुगिन्छ, त्यहीँ बस्नुपर्ला।’
Shares
प्रतिक्रिया