चितवन क्षेत्र नम्बर २ मा सञ्चालित ‘ब्लु बस’र ‘मोबाइल क्लिनिक’विवादमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अनावश्यक खेदो गरिएको गुनासो गरेका छन्।
केही दिनअघि चितवन २ महिलाका लागि भन्दै सञ्चालनमा ल्याएको ‘ब्लु बस’ र ‘मोबाइल क्लिनिक’ विवादमा परेपछि रविको पनि आलोचना भइरहेको छ।
उनले सञ्चालमा ल्याएको ‘मोबाइल क्लिनिक’ का लागि प्रयोगमा ल्याएको एम्बुलेन्ससमेत पुरानो मेडिकल कलेजको भएको खुलेको छ।
भारतीय दूतावासले ११ वर्षअघि दिएको उक्त एम्बुलेन्सलाई गैरकानुनी रुपमा रंग परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’बनाइएको थियो।
यातायात कार्यालयको अनुमति नै नलिई रंग फेरिएपछि विवादमा परेको उक्त एम्बुलेन्स रविले पुरानो मेडिकल कलेजलाई फर्काइसकेका छन्।
त्यस्तै उनले महिलालाई नि:शुल्क सवार गराउन प्रयोगमा ल्याएको ‘ब्लु बस’को पनि गैरकानुनी रुपमा रंग फेरिएको पाइएको छ।
तर गैरकानुनी बाटोबाट दुवै साधन प्रयोगमा ल्याएको पाइएपछि आलोचना हुँदा उनले आफ्नो बचाउ गरेका छन्।
‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ’, उनले भनेका छन्, ‘यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन।’
उनले सञ्चारमाध्यमहरु आफ्नो खेदो गर्न नपुगेर गाडीको पछि लागेको दाबी गरे। ‘अब मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि?’, उनले भने, ‘भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हेडलाइन आतंक र ...हैरानी । सक्दैनौँ, सक्दै त सक्दैनौँ।’
Shares
प्रतिक्रिया