साहित्यकार विजय मल्लको एउटा शक्तिशाली मानवतावादी कविता छ ‘छोरीलाई मानचित्र पढाउँदा।’ कविताले भन्छः
जता हेर
रातो रगतले लाएको छ घेरा
मानिस छन् बन्दी यस खोरमा
छोरीलाई सम्बोधन गर्दै लेखिएको कवितामा उनले एकदिन त्यो रातो रेखा मेटिएको कल्पना गरेका थिए।
आइतबार आर्टमाण्डु नामक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको म्युजिकल फिल्म ‘बाफ’ ले त्यही कवितालाई सम्झाउँछ।
दुई देशबीचको सिमानामा एउटा दसगजा ठडिएको छ। सिमानाका दुईतिर दुई पात्र हुर्किन्छन्। दसगजाबाट पलाएको तिनको प्रेमबाटै त्यहीँ टुंगिएको छ। भिडियोको अन्तिम दृश्यमा त्यो दसगजा बाफझैँ उडेर मेटिएको छ। निर्देशकको अन्तिम कामना विजय मल्लको कविताजस्तै छ– अन्त्य होस् मानिसहरूलाई बन्धक बनाउने सिमाना।
बाफका निर्देशक नवीन चौहान हुन्। यसअघि उनले तीनपाते, के माया लाग्छ, बटौलीजस्ता लोकप्रिय म्युजिक भिडियो बनाइसकेका छन्।
निर्देशक चौहानले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेः
‘म सधैँ सोच्ने गर्छु यो संसारमा सिमाना किन हुन्छ? सिमानाले मानव अस्तित्व बीचमा धर्को त कोरेको छैन? कुनै पनि सिमानाहरुले मानवका भावना, प्रेम अथवा मानवतालाई सिमान्तकृत पो बनाइरहेका छन् कि? सोचांै त सिमाना नहुन्थ्यो भने प्रताप र डोल्मा यति तनावमा पर्थे होलान्?’
‘बाफ’को केन्द्रमा उही सिमानाको कथा छ। दार्जिलिङबाट होटल व्यवसाय गर्न डोल्मा (शिल्पा थापा) लाई लिएर उनका बा तुम्लिङ आउँछन्। डोल्मा नेपालकै तुम्लिङमा हुर्किन्छे। बालापनदेखि नै डोल्माको साथी हुन्छ त्यही गाउँको प्रताप (प्रताप दास)। दुईबीचको प्रेमिल सम्बन्ध प्रतिदिन गाढा बन्दै जान्छ।
दृश्यहरूमा उनीहरूको रुमानी प्रेमका कथा छन्। खुसीका कथा छन्। उत्साहका कथा छन्। जीवनका स्वर्णिम समयका कथा छन्। एकअर्काबीच पलाएको प्रेमले उनीहरूलाई नजिक गराउँछ। डोल्पा र प्रतापबीच थुप्रै कुरा मिल्छन्। तर, एउटै कुरा अलग छ– सिमाना !
डोल्माको देश, घर र करिअर दार्जिलिङमा छ। प्रतापको देश, घर र करिअर नेपालमा छ। र उनीहरू दुवै आफ्नो देश छाड्न सक्दैनन्। कथाले एउटा प्रश्न छाडेको छ– यदि सिमाना थिएन भने...?
म्युजिकल फिल्मको सबैभन्दा सुन्दर पाटो हो, शब्द, संगीत र दृश्यको संयोजन।
फुस्सै उडेँ म बाफ भै
रहिनँ म आफूमै
केके हुन्छ, हुन्छ के के
छैन म थिएँ जे
लाग्यो किन किन लाज झैं
लुके आँखा त्यसै त्यसै
गीतकार हर्क साउदका शब्दहरूले पात्रहरूको मनोभावनाको कथा स्पष्ट रुपमा भन्छन्। तिनको प्रेमको अभिव्यक्ति, खुसी, पीडा र छट्पटी शब्दहरूले बोलेका छन्। जनजीवन र भौगोलिक अवस्था मानिसबीचको सामिप्यता र सांस्कृतिक निकटतालाई कथाले प्रस्तुत गरेको छ।
गायक सुजन चापागाईं र गायिका विद्या तिवारीको मधुर स्वरले आनन्दित तुल्याउँछ। केन्द्रीय पात्र प्रताप दास, शिल्पा थापा र अन्य कलाकारको अभिनय राम्रो छ।
निर्देशकले आफूभित्र बाँचिरहेको हुटहुटीलाई ११ मिनेट ५७ सेकेन्डको भिडियोमा सशक्त ढंगले देखाउन खोजेका छन्। उनी कलेज पढ्दा तुम्लिङ र जौबारीमा घुम्न गएका थिए।
‘यतापट्टि टेक्दा नेपाल, उतापट्टि टेक्दा भारत। नजिकै भए पनि सबैथोक अर्कै भएको फिल गराउँथ्यो त्यो ठाउँले,’ नवीन भन्छन्, ‘त्यो कथा पछिसम्म पनि भन्न मन थियो मलाई।’
कथामा मायाको फ्लेबरमा सिमानाको कथा भन्न खोजिएको छ। सिमानाको कथा भन्न सिमानामै पुग्दाका कठिनाइ भने भिन्नै छन्।
नवीन भन्छन्, ‘उसै त संवेदनशील मुद्दा हो त्यो। त्यही चुनौती हामीले सामना ग¥यौँ।’
सिमानाभन्दा प्रेम र मानवता पहिलो कुरा हो। एउटा रेखाले मानिसको जीवनमा थुपारेका जटिलता उत्तारचढावका थुप्रै उदाहरण छन्। र ‘बाफ’ले त्यही बोलेको छ– ‘एउटा घेरोले मानिस–मानिसलाई अलग नगरोस्।’
Shares
प्रतिक्रिया