बलिउडका लोकप्रिय गायक तथा र्यापर हनी सिंह पछिल्लो समय विवादमा तानिएका छन्। हनी सिंहकी श्रीमती शालिनी तलवारले उनीमाथि शारीरिक हिंसा, यौन हिंसा, मानसिक उत्पीडनको आरोप लगाएकी छन्। यो मुद्दा दिल्लीको अदालतमा सुनुवाइ भइरहेको छ। हनी सिंहले तत्काल आफू अदालतमा उपस्थित नहुन अनुमति मागेका छन्।
हनी सिंहको मुद्दा तिज हजारीमा मुख्य महानगर मजिस्ट्रेट तानिया सिंहको अदालतमा सुनुवाइ भएको थियो। शालिनी तलवारको मुद्दाको सुनुवाइको क्रममा हनी सिंहका वकिलले भनेका छन्, 'हनीको स्वास्थ्य ठीक छैन, त्यसैले उनी अदालतमा उपस्थित हुन सक्दैनन्।'
हनी सिंहका वकिलले अदालतलाई हनी अर्को मितिमा अदालतमा उपस्थित हुने आश्वासन दिएका छन्। हनी सिंहका वकिलले यस मामिलामा जवाफ दिन केही समय मागेका छन्। मुद्दाको अर्को सुनुवाइ ३ सेप्टेम्बर २०२१ मा हुनेछ।
यसबारे अदालतले हनी सिंहको मेडिकल रिपोर्ट र आयकर रिटर्नको प्रतिलिपि मागेको छ। सुनुवाइका लागि हनी सिंहको वकिलको अपीलमा अदालतले भन्यो, 'कोही पनि कानून भन्दा माथि छैन।' वकिलले हनी सिंह मेडिकल रिपोर्ट र आयकर रिटर्न जतिसक्दो चाँडो अदालतमा पेश गर्ने बताएका छन्।
शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा 'घरेलु हिंसाबाट महिलाहरूको संरक्षण' अन्तर्गत याचिका दायर गरेकी थिइन्। यसबारे अदालतले हनी सिंहलाई २८ अगस्टमा जवाफ दिन नोटिस जारी गरेको थियो। तर, हनी सिंहले सामाजिक सञ्जाल पोस्टमार्फत् आफ्नी श्रीमतीको सबै आरोपलाई अस्वीकार गर्दै आएका छन्।
Shares
प्रतिक्रिया