ad ad

कला


रहेनन् सुदूरपश्चिमको ठाडी भाका चिनाउने गायक कडायत

रहेनन् सुदूरपश्चिमको ठाडी भाका चिनाउने गायक कडायत

गोकुल जोशी
साउन ११, २०७९ बुधबार १३:२०, कन्चनपुर

वरिष्ठ लोक देउडा गायक हरिशचन्द्र कडायतको ५४ वर्षको उमेरमा बुधबार  निधन भएको छ। 

बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका कडायतको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो।

गायक कडायतको मस्तिष्क घातका कारण मृत्यु भएको हो।

'प्रिय हरिशचन्द्र दाइ, यो उमेरमै तपाईंलाई अलबिदा भन्नुपर्दा अत्यन्तै पीडाबोध भएको छ। यो उमेरमै तपाईंलाई श्रद्धाञ्जली लेख्नुपर्दा हातका औँलाहरु र मुटु काँपिरहेको छ,' सुदूरपश्चिमका देउडा सर्जक राजेन्द्र शाह (बीपी) ले लेखेका छन्, ‘मेरो एउटा फेवराइट स्वर, देउडा ठाडी भाकाको एउटा सर्वोत्कृष्ट आवाजको भौतिक अवसान भएको छ। ठाडी भाकाको एउटा इतिहास र आयामको अवसान भएको छ। तपाईंको भौतिक शरीर नरहे पनि सुरिलो आवाज, मीठा सिर्जना र अतुलनीय योगदानको रुपमा हामी माझ सदैव जीवित रहनुहुनेछ। तपाईंको बैकुण्ठ बास होस्, हरिशचन्द्र दाइ।'

कडायत २०५० सालदेखि देउडा गायनमा सक्रिय थिए। उनी सुदूरपश्चिमका पुराना गायक हुन्। ५० को दशकमा कडायत, भोजराज भट्ट र यज्ञराज उपाध्याय देउडा गायनका क्षेत्रमा चर्चित नाम थिए। 

त्यस बेला कडायतले विभिन्न गीतका शब्द संकलन गरेका थिए तथा आवाज दिएका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड गरेका उनका गीतहरू अझै पनि सुरक्षित छन्। 

सुदूरपश्चिमको मौलिक ठाडी भाकालाई देश-दुनियाँमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको देउडा गायक कडायतको निधनले सुदूरको कला साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको छ।

‘क्यासेट’बाट गीत सुन्ने त्यो समयमा सुदूरपश्चिमको ठाडी भाकालाई उकास्न कडायतले महत्त्वपूर्ण योगदान गरेको सुदूरपश्चिमका सर्जकहरु सम्झन्छन्।  

देउडा सर्जक राजेन्द्र शाह (बीपी) भन्छन्, ‘असमयमै भएको उहाँको निधनले सुदूरपश्चिमको कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’ क्यासेट हुँदै गायन क्षेत्रमा डिजिटल युगले प्रवेश गरेपछि घरायसी कारण केही समय कडायत यस विधाबाट टाढा रहे।

अहिले पुनः उनी सुदूरपश्चिमको ठाडी भाका गाउन सक्रिय थिए।

‘धेरैले ठाडी भाका गाएका छन्, तर उहाँको भने बेग्लै टिपिकल स्वर थियो, जसका कारण यहाँको कला क्षेत्रमा बेग्लै उचाइ बनाउनुभएको थियो,’ शाह भन्छन्, ‘उहाँको भौतिक शरीर सदाका लागि अस्ताए पनि देउडाप्रेमी माझ उहाँ चीरकालसम्म बाचिरहनु हुनेछ।’

कडायतले ‘कर्णालीका भेल’, ‘बझाङ्गी काल्या’, ‘ल बिणी खान्या की’ लगायत तीन सय भन्दा बढी गीतमा आवाज दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .