ad ad

कला


क्षमता देखाउने ठाउँ नपाएको वर्षाको गुनासो

क्षमता देखाउने ठाउँ नपाएको वर्षाको गुनासो

वर्षा राउत


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार ९:३४, काठमाडौँ

अभिनेत्री वर्षा राउतको चर्चा नेपाली सिने उद्योगमा भैरहन्छ। तर उनको अभिनय अथवा उनले निर्वाह गरेका भूमिकाको भने खासै चर्चा भएको पाइँदैन। वर्षाले स्थापित ब्रान्डमार्फत उद्योगमा पाइला चालेकी हुन्।

‘नाइँ नभन्नु ल ४’ बाट रजतपटमा देखापरेकी वर्षाले अर्को ब्रान्डिङ फिल्म ‘छक्का पञ्जा’ मा पनि अभिनय गरिन्। तर उनको व्यक्तिगत करिअर खासै उकालो लाग्न सकेन।

थुप्रै म्युजिक भिडिओ तथा फिल्ममा अभिनय गरिसकेकी वर्षा अहिले पनि करिअर बनाउने संघर्षमा छिन्। उनी सँगै आएका तथा उनीभन्दा पछि उद्योगमा आएका अभिनेत्री आफैं ब्रान्डका रूपमा स्थापित भैसक्दा पनि आफू त्यस्तो हुन नसक्नुका पछाडि आफ्नो काम रहेको वर्षाले बताएकी छन्। वर्षा आफैंले निर्वाह गरेका भूमिकासँग असन्तुष्ट देखिएकी छन्। 

वर्षाले पुरानै ढर्राका भूमिका निर्वाह गरिन्। निर्माता-निर्देशकले उनलाई विशेषगरी अभिनेताकै वरिपरि घुम्ने भूमिकामा केन्द्रित गराए। वर्षाले आफूलाई काम दिनेले आफ्नो क्षमता नबुझिदिएको गुनासो गरेकी छन्। उनले आफैंले पनि धेरै मेहनत गर्न नसकेको स्विकारेकी छन्।

वर्षा राउत

भन्छिन्, ‘मैले आजसम्म यसमा बेस्ट काम गरेँ भनेर भन्न सकेकी छैन। किनकि, हामीलाई स्क्रिप्ट नै त्यस्तो आएको छैन। राम्रो स्क्रिप्ट खोजेर बस्ने हो भने काम नै नपाउने सम्भावना हुन्छ। जसका कारण आएको भूमिकामा काम गर्नुपर्ने अवस्था छ।’

वर्षाले अबचाहिँ आफ्नो क्षमता नदेखिने काम नगर्ने बताएकी छन्। सधैँ गर्नका लागि मात्रै काम गर्नुको अर्थ नहुने तर्क गर्दै अब क्षमता देखिने काम गर्ने उनको भनाइ छ। वर्षाले अभिनय गरेका ‘नाइँ नभन्नु ल ४’, ‘छक्का पञ्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘के घर के डेरा’ लगायतका फिल्म हिट भए। तर वर्षाको करिअर हिट हुन सकेन। आगामी कात्तिक १८ गतेबाट उनी अभिनित अर्को फिल्म ‘लाखे’ प्रदर्शन हुँदै छ। यो फिल्ममा पनि वर्षाले आफ्नो भूमिका उल्लेख्य नभएको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .