चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल गर्दै छ। यो फेस्टिभलमा फिल्म ‘महापुरुष’ पनि प्रदर्शन गर्ने भनेर चर्चा भइरहेको छ। ‘महापुरुष’ नेपाली फिल्म उद्योगको यो वर्षको हिट फिल्म हो। विश्वका विभिन्न मूलुकमा रहेका नेपालीले यो फिलमको प्रतिक्षा गरिरहेकाले पनि बोर्डले यस्तो प्रचार गरिरहेको छ।
तर ‘महापुरुष’निर्माताले यो प्रचारसँग असन्तुष्टि व्यक्त गरेका छन्। फिल्म निर्माण कम्पनी षट्कोण आट्र्सले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई नसोधिकन र अनाधिकृत ढंगले फिल्म देखाउन लागिएको भन्दै प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘महापुरुष राखेर पोस्टर बनाइएकोमा हाम्रो आपत्ति छ। विवादित र अनावश्यक खर्चको कार्यक्रममा हाम्रो साथ, सहयोग र सहमति छैन। हामीले फिल्म नदिने निर्णय गरेका छौं।’
सूर्य कर्पोरेसनसँग मिलेर ३० लाख रुपैयाँ खर्चमा गर्न लागिएको फेस्टिभलप्रति पनि ‘महापुरुष’ निर्माण कम्पनीले प्रश्न उठाएको छ ।
विज्ञप्तीमा त्यहाँ फेस्टिभल गर्नुलाई पनि पैसाको दुरुपयोग भनेर भनिएको छ। इसको नतिजा नराम्रो हुने समेत जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। फिल्म ‘महापुरुष’का कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया देशमै फिल्म चलाउन मुस्किल भइरहेका बेला दुबईमा फेस्टिभल गर्छु भन्नुले अर्थ नराख्ने बताउँछन्।
बोर्डले सूर्य कर्पोरेसनसँग मिलेर फागुन १ गतेदेखि ३ सम्म युएईको दुबईमा फेस्टिभल आयोजना गर्न लागेको हो। बोर्डका अध्यक्ष भुवन केसीले अन्र्तराष्ट्रिय बजारको खोजी र विस्तारका लागि यो फेस्टिभल लाभदायक हुने दाबी गर्दै आएका छन्। फेस्टिभलमा सहभागि हुन ३५ जनाको टोली दुबई जाने तयारीमा रहेको छ।
Shares
प्रतिक्रिया