अभिनेत्री पूजा शर्मा होम प्रोडक्सनका फिल्ममा हिट भएकी नायिका हुन्। उद्योगमा स्थापित नायिका रेखा थापा पछिल्लो समय फिल्मबाट टाढा छिन्। अब भने पूजासँगको सहकार्यसँगै रेखा पर्दामा फर्किने तयारीमा छिन्। ज्ञानेन्द्र देउजाको फिल्ममार्फत यी दुई नायिकाको सहकार्य हुने पक्का भएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने अनटाइटल फिल्ममा पूजा र रेखाले औपचारिक सम्झौता गरिसकेका छन्। आगामी वैशाखमा छायांकनमा जाने तयारीमा रहेको फिल्ममा रेखासँग सहकार्य गर्ने पक्का भएपछि पूजा निकै भावुक बनेकी छन्। उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन्।
पूजाले रेखाजस्तै बन्ने सपनासहित फिल्म उद्योगमा आएको बताएकी छन्। आफ्नो वेस्ट नायिकासँग पर्दा सेयर गर्न पाउँदा आफू हर्षित रहेको उनले उल्लेख गरेकी छन्।
पूजाले लेखेकी छन्, ‘पर्दामा प्रिय रेखा थापा दिदीले ‘मैले त्यही भएर मन पराको’ भनेर नृत्य गर्दै गर्दा होस् या अन्यायको विरुद्धमा समाजका खलपात्रहरुसँग लड्दै गर्दा मलाई पनि उहाँजस्तै बन्ने रहर थियो। यस्तै-यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो वेस्ट नायिकासँग पर्दा सेयर गर्न पाउँदा हर्षित छु। रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दैगर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ।’
पूजाले निर्देशक देउजाका बारेमा लेखेकी छन्, ‘फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनको मात्र होइन, उहाँको व्यवहारले पनि मलाई सधै प्रभावित बनाएको थियो। प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दै छ। तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ। तर, यो फिल्म मेरा लागि सधैँ विशेष हुनेछ। रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरैधेरै आभार व्यक्त गर्न चाहन्छु। प्रिय दर्शकसँग, अब हाम्रो भेट विशेष हुनेछ।’
Shares
प्रतिक्रिया