नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ। बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।
निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन्। सचिवमा रामेश्वर बुर्लाकोटी रहेका छन्। त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन्। सहकोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्।
सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन्।
अध्यक्ष पदका उम्मेदवार निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई आफ्नो एजेण्डा बनाएका छन्। निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन्।
कार्यक्रममा बोल्दै उम्मेदवार निरौलाले लैंगिक तथा यौन हिंसाबिरुद्ध शून्य सहनशीलताको नीति लिने, मातृ भाषी चलचित्रका कलाकारलाई संघमा आवद्ध गराउने नीति लिने बताए। उनले विभिन्न देशमा रहेका मौजुदा शाखाको बिस्तार गरी विश्वभर छरिएका कलाकारहरुलाई एक सूत्रमा बाँध्ने आफ्ना एजेण्डा रहेको बताए।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले महिला र पुरुष भनेर टुट्नु नहुने बताइन्। उनले अध्यक्ष पदमा उठ्ने अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिएर निरौलालाई सघाउन आग्रह गरिन्। उनले नयाँ मात्रै आएर नेतृत्व सम्हाल्न नसकिने बताइन्।
त्यस्तै वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले कलाकार संघ भनेको लिने नभइ दिने ठाउँ रहेको बताइन्। उनले सबै मिलेर कलाकार संघको अध्यक्षमा उम्मेदवार निरौलालाई जिताउन आवश्यक रहेको बताइन्।
कलाकार संघको अध्यक्षमा बुधवार रेजिना उप्रेतीले पनि प्यानल घोषणा गरेकी छन्। कलाकार संघको नेतृत्वका लागि शनिवार चुनाव हुँदैछ।
प्रतिक्रिया