केही महिनाअघि अभिनेत्री पूजा शर्मा र अनमोलले सँगै काम गर्ने औपचारिक सम्झौता गरे। अनमोल आफ्नो फिल्ममा जोडिएपछि पूजा निकै खुसी थिइन्। अनमोललाई आफ्नो फिल्मको शीर्ष भूमिकामा अनुबन्ध गराएपछि पूजाले यो आफ्नो फिल्मी करिअरकै ‘ड्रिम प्रोजेक्ट’ भएको बताएकी थिइन्।
अनमोल पनि पूजासँग गाँसिएको पल खुसी देखिएका थिए। उनले १० लाख रुपैयाँ साइनिङ अमाउन्ट लिएर हर्षित मुद्रामा पूजासँग तस्बिर खिचेका थिए।
बजारको हल्लालाई मान्ने हो भने अनमोल र पूजाबीचको यो खुसी अहिले उस्तै छैन। पूजा अनमोलको बाटो हेर्दाहेर्दै हैरान भएकी छन्। अनमोल आफ्नै दौडमा व्यस्त छन्।
अनमोल र पूजाबीच फिल्म ‘छड्के २’ को छायांकन सकिएलगत्तै पूजाको फिल्मको छायांकन सुरु गर्ने सम्झौता भएको थियो। तर उनको यो फिल्म बक्स अफिसमा फ्लप भएको नै डेढ महिना भयो। यो फिल्म फ्लप भएपछि अनमोलले अब आफू परिपक्व भएर आउने बताए। यता पूजाको फिल्मको छायांकन पनि सुरु हुन सकेको छैन। योसँगै अनमोल पूजाको यो फिल्ममा हुन्छन्, हुँदैनन् भन्ने अन्योल सुरु भएको छ।
केही समयअघि पनि फिल्म छायांकनका विषयमा अनमोल र पूजाबीच भेटघाट भएको थियो। भेटघाटमा पूजाले अनमोललाई अनमोलको अर्को फिल्म ‘जेरी अन टप’को सुटिङअघि आफ्नो फिल्मको छायांकनमा जानुपर्ने सर्त राखेकी थिइन्। निर्णयका लागि केही समय मागेका अनमोल अहिले मौन छन्। उनले कुनै निर्णय दिएका छैनन्। समयमा अनमोलले जवाफ नदिँदा पूजा भने बेचैन भएकी छन्।
अनमोलले भ्याउँदिनँ भनेर खबर पठाएको खण्डमा पनि पूजाले अर्को हिरो राखेर फिल्म अगाडि बढाउने बताएकी छन्। नयाँ हिरोलाई फिल्मका लागि तयार पार्न २/४ महिना लाग्ने भएकाले पनि अनमोलको निर्णय पूजाको पर्खाइ बनेको छ।
Shares
प्रतिक्रिया