ad ad

म्यागेजिन


श्री ३ चन्द्रशमशेरका सन्ततिले चलाए ‘बबरमहल विलास’, ‘चन्द्र रुम’मै लिन सकिन्छ राणाकालीन भोगविलास

‘बबरमहल विलास’ भिडिओ टूर
श्री ३ चन्द्रशमशेरका सन्ततिले चलाए ‘बबरमहल विलास’, ‘चन्द्र रुम’मै लिन सकिन्छ राणाकालीन भोगविलास

श्री ३ चन्द्र शमशेरका जनाती गौतम शमशेरका छोरा विराज र वरुणले बबरमहल रिभिजिटेडको आडैमा नयाँ होटल ‘बबरमहल विलास’ सञ्चालन गरेका छन् (तस्बिर र भिडिओ : सरोज नेपाल)


सम्झना घिमिरे
असोज १७, २०८१ बिहिबार १६:३७, काठमाडौँ

काठमाडौँमा बबरमहलको बाटो ओहोरदोहोर गर्दा गौतमशमशेर राणाको मन जहिले पनि कटक्क दुख्थ्यो। आफू जन्मिएको, खेलेको, बालापन बिताएको दरबार रङहीन बन्दै गएको देखेर न्यास्रिन्थे। आफैँ गएर त्यसलाई सम्हाल्ने, चिरिच्याट्ट पारेर सिँगार्ने झोँक चल्थ्यो।

श्री ३ चन्द्रशमशेरले आफ्ना छोरा बबरशमशेरलाई बबरमहल दरबार बनाइदिएका थिए, जहाँ बबरशमशेरका नाति तथा आदित्यशमशेरका छोरा गौतम जन्मिएका थिए। चन्द्रशमशेर नेपालका १३ औँ प्रधानमन्त्री हुन्, जो पहिलो विश्वयुद्धताका साढे दुई दशकभन्दा लामो काल (विसं १९५८ देखि १९८६ सम्म) नेपालका प्रधानमन्त्री रहे।

बबरमहलमा जन्मे पनि गौतमशमशेरले लामो समय दरबारमा बिताउन पाएनन्। उनी ८ वर्षको छँदै बबरमहल सरकारीकरण भयो। सरकारको स्वामित्वमा गएपछि बबरमहलमा सडक विभागको कार्‍यालय राखियो, जसको राम्रो रेखदेख नहुँदा दरबार लठिभद्र, अस्तव्यस्त देखिन्थ्यो।

आफ्नो स्वामित्वमा नभए पनि दरबारको हालत देखेर गौतमको मन कुँडिन छाडेन। उनी चाहन्थे– बाजेबराजू बसेको दरबारलाई सरकारले आफूले भन्दा धेरै माया गरेर सजाओस्, पर्यटकलाई हाम्रो इतिहास देखाउनकै लागि भए पनि बचाओस्।

तर, त्यसो नभएपछि बबरमहलकै छेउमा उस्तै दरबार बनाउने धोको उनको मनमा जन्मियो।

‘बुबालाई त धेरै समयसम्म पनि आफ्नो घर नै त्यही दरबार हो भन्ने लाग्थ्यो रे, बबरमहलप्रति ज्यादै अनुराग रहेछ’ गौतमका कान्छा छोरा वरुण सम्झिन्छन्, ‘हामीलाई न राणाजीको सानले छोयो, न त्यो दरबारले नै।’

श्रीमती भावनाका साथ गौतमशमशेर राणा

गौतम चन्द्रशमशेरका पाँचौ पुस्ता हुन् भने उनका छोराहरू विराज र वरुण छैटौँ पुस्ता हुन्। गौतम चन्द्रशमशेरका जनाती हुन्, उनका छोराहरू खनाती।

दरबार छोडेका गौतमको दरबार ठड्याउन सक्ने आर्थिक हैसियतचाहिँ थिएन। बबरमहल त चन्द्रशमशेरले उतिबेला राज्यको ढुकुटी आफ्नो हातमा हुँदा बनाएका थिए।

गौतमका बुवा आदित्यशमशेरको भागमा बबरमहल छेवैमा रहेको ८ रोपनी जग्गा परेको थियो।

आदित्यशमशेर तिनै बबरशमशेरका छोरा हुन्, जसको नाममा बबरमहल बनेको थियो। 

त्यहीँ घर बनाएर उनले दुई छोरा गौरव र गौतम हुर्काएका थिए। गौरवशमशेर राणा सेनामा भर्ती भए र पछि गएर प्रधानसेनापति समेत बने।

बायाँबाट क्रमशः कान्छा छोरा वरुण र उनकी श्रीमती, गौतम र उनकी श्रीमती कुमारी भावना चौहान तथा जेठा छोरा विराज र उनकी श्रीमती, साथमा नाति

गौतमलाई भने सेना बन्नु थिएन।

वरुण सुनाउँछन्, ‘हजुरबुबा आदित्यशमशेर आफू सेनाकै उपरथी भए पनि छोरानातिलाई भने जागिर नखानू, बिजनेसम्यान बन्नुपर्छ भन्नुहुन्थ्यो।’  

त्यसैको प्रभाव हुनुपर्छ, गौतम व्यवसायतिर लागे। कार्पेट र ह्यान्डिक्राफ्टको उद्योग सञ्चालन गरे। तर, सोचे अनुसारको नाफा कमाउन सकेनन्।

सन् १९९० को दशकमा देश द्वन्द्वमा फस्दै गर्दा उनको उद्योगहरूमा पनि आन्दोलन चल्न थाल्यो। त्यसपछि उनले उद्योग छाडेर धेरै वर्षदेखि मनमा साँचेर राखेको धोको पूरा गर्ने अठोट लिए।

गौतमले सन् १९९७ मा राणा सान र शासनको झल्को दिने गरी ठ्याक्कै बबरमहलजस्तै अर्काे भवन तयार गरे। र, त्यसलाई नाम दिए– बबरमहल रिभिजिटेड। सुरुमा त्यो भवन एक तलाको मात्र थियो।

दाइ गौरवले पनि उनको योजनामा साथ दिए र रिभिजिटेडको व्यावसायिक साझेदार बने।

यसरी बन्यो ‘बबरमहल रिभिजिटेड’
त्यसबेला नेपाली सम्पदाहरूको शैलीमा लामो समयदेखि अध्ययन गरिरहेका अस्ट्रेलियन आर्किटेक्ट हट्ज हागमुलर पाटन दरबारको स्केच गर्दै थिए। उनीसँग सरकारसँग समेत नभएका भक्तपुर दरबार, पाटन दरबार लगायतका नक्सा थिए। उनी त्यसैको सहायतामा ती दरबारलाई पुनर्जीवन दिँदै थिए।

त्यही मौकामा हागमुलरबाट गौतमले बबरमहलको नयाँ स्केच तयार पारे। 

उनीहरूको जग्गामा दरबारका पुराना गोठ र सेवक बस्ने भवनहरू थिए। ती प्रयोगमा थिएनन्। पुरानै गोठलाई नभत्काई त्यस भवनमा अगाडिको दरबारको आकृति थपिएको थियो।

सन् १९९७ मा ४ करोड रूपैयाँको लगानीमा बबरमहलकै शैलीमा ‘बबरमहल रिभिजिटेड’ तयार भयो। व्यवसायीहरूले भवन भाडामा लिएर व्यवसाय गर्न सक्थे। 

त्यसबेला आधुनिक शैली हावी थियो। मौलिकता सहितको हेरिटेज शैलीमा व्यवसाय गर्नेहरू अत्यन्त कम थिए। तर, बबरमहल रिभिजिटेड युरोपेली शैलीमा बनाइएको मल भएकाले दरबारिया झल्को आउँथ्यो। त्यसैले, विदेशी र नेपालमै पनि नाम चलेका ब्रान्डहरू भाडामा बस्न आउने नै भए।

‘राणाजीहरूले जानेको त्यही त थियो, भाडा लगाएर कमाउने’ वरुण आफ्नै विरासतलाई व्यंग्य गर्छन्, ‘बुबाले भाडा लगाएरै भए पनि आम्दानी जुटाउने निधो गरेर यो भवन बनाउनु भयो। तर उहाँको यो योजना अरूभन्दा बिलकुल फरक थियो।’

बबर शमशेरको बिहेको पोसाकमा वरुण

गौतमले बनाएको बबरमहल रिभिजिटेड भाडामा दिन बनाइएको मल मात्रै थिएन। त्यसले ऐतिहासिक दरबारको झल्को दिँदै जोकोही दरबारमै बसेर घण्टौँ गफिन सक्ने सुविधा पनि दिँदै थियो।

अर्थात्, शतप्रतिशत व्यावसायिक हेरिटेज दरबार बनेको थियो त्यो।

वरुण नाफा कमाउनकै लागि बुबाले एक तले दरबार बनाएको भन्ने मान्दैनन्। उनलाई लाग्छ, बुबाको हेरिटेजप्रतिको लगावकै कारण बबरमहल रिभिजिटेड तयार हुन पुगेको थियो।

चार रोपनीमा फैलिएको रिभिजिटेडमा ३० वटा कोठाहरूमा विभिन्न ब्रान्डका पसलहरू भेटिन्छन् भने भित्रै चारवटा क्याफे तथा रेस्टुरेन्ट छन्। 

यहीँभित्र भेटिन्छ– गौतमका दुई छोराले चलाएको बैठक, जहाँ ग्राहकले दरबारिया शैलीमा रवाफिलो जीवनशैली अनुभव गर्न पाउँछन्।

फेरियो रिभिजिटेड, थपियो विलास 
गौतमको उमेर घर्किंदै थियो। अर्काेतिर बबरमहल रिभिजिटेडका तला भने थपिँदै थिए। उनको सपनालाई मलजल गर्न दुई छोरा विराज र वरुण कस्सिए। 

वरुण नेपाली, युरोपेली शिल्पकलाबाट प्रभावित थिए। उनले आर्किटेक्ट इन्जिनियरिङमै बेलायतबाट स्नातकोत्तर गरेका थिए। दाइ विराज पनि फाइनान्समा स्नातकोत्तर गरेर नेपाल फर्केका थिए।

गौतमको चाहना थियो, छोराहरूले नेपालमै बसेर केही गरून्। आफ्नो इतिहास केलाउन्, संरक्षण गरून् र त्यसैका माध्यमबाट व्यवसाय पनि गरून्।

‘बुबाले बुझ्नु भएको थियो, हामी इतिहास वा संग्रहालयमा सीमित हुनु हुँदैन भनेर’ झ्यालबाट गौतम बसिरहेको घरतर्फ हेर्दै वरुण सम्झिन्छन्, ‘उहाँ हामीसँग भएका ऐतिहासिक धरोहरलाई व्यावसायिक बनाउन चाहनुहुन्थ्यो।’ 

उनी बबरमहल रिभिजिटेडको आडैमा रहेको नयाँ होटल ‘बबरमहल विलास’ को सन्दर्भतर्फ प्रवेश गरिसकेका थिए, जुन होटल दुवै दाजुभाइ नेपालमै बस्ने अठोटसहित फर्किएपछि थपिएको थियो।

‘बबरमहलमा बस्नेहरूको लक्जरिअस जीवनशैली देखाउन हामीले बबरमहल विलास थपेका हौँ,’ वरुण अर्थ्याउँछन्।

विलासको डिजाइन भने रिभिजिटेडभन्दा केही फरक छ। विलासमा मुस्ताङी, नेवारी, युरोपेली तीनवटै शैली र वास्तुकलाको फ्युजन भेटिन्छ।

रिभिजिटेडपछाडिको ‘बबरमहल विलास’ मा संस्कृतिको फ्युजन भने उनै वरुणले गरेका हुन्।

‘मलाई दाइले १५ हजार रूपैयाँ दिएर चित्र बनाउन लगाउनुभएको थियो,’ वरुण बबरमहल रिभिजिटेडमा विलास थप्दाको समय सम्झन्छन्, ‘पछि पो थाहा पाएँ, त्यो त मेरो बिजनेसको पहिलो तलब रहेछ।’  

गौतमले बढ्दै गएका छोराहरूबीच अंशबण्डा गरिदिएका थिए। दुवैले आफ्नो भागमा परेको २४/२४ आना जग्गा मिसाएर हेरिटेज शैलीमा होटल बनाउने योजनाअनुसार रिभिजिटेडको ठीक पछाडि ३० कोठे होटल ठडिएको हो।

४० करोड लगानीमा बनेको विलास हेर्दा सानो भए पनि सामान्य भने पटक्कै छैन। 

सिंहदरबारबाट माइतीघरतर्फ लाग्दा रुखैरुखले छोपिएका यी घरहरूमा मान्छेको नजर त्यति पर्दैन, न त व्यस्त सडकका कर्कश आवाज नै भवनसम्म पुग्छ।

रुखले छेकिएको बबरमहल रिभिजिटेडको पुछारमा मुस्ताङको झल्को दिने घर मात्रै भेटिँदैनन्, वरपर लस्करै युरोपेली, नेवारी र मुगल शैलीका घरहरू पनि देखिन्छन्, तिनीहरूका ढाँचा र उचाइ अलगअलग छन्। 

६ वटा घरहरूमध्ये कुनैमा राणाकालीन दरबारको झल्को पाउन सकिन्छ भने कुनैमा बार्दलीमा बसेर नेवारी शैली चिहाउँदै युरोपेली शैलीबाट सुसज्जित कोठाहरूमा लुटपुटिन पनि सकिन्छ।

वरुण थप्छन्, ‘हामीले इतिहास झल्काउनकै लागि ‘श्री ३ चन्द्र’ लेखिएका इँटहरूलाई पिलरमा सजाएका छौँ।’

विलासको रिसेप्सनबाट बाहिर निस्कँदै गर्दा बरन्डामा नेवार समुदायले पूजा गर्ने ‘पिखालखु’ पनि भेटिन्छ। यसले पाहुनालाई भक्तपुर दरबार घुमेको अनुभूति गराउँछ।

छेवैमा रहेको सानो पोखरी र कृत्रिम झरनाले यी सबै दृश्यहरूमा थप सुन्दरता थपेको छ।

भिडिओ टुर :

‘बबरमहल विलास’ मा काम गर्ने कर्मचारीहरू राणाकालीन दरबारका कर्मचारीहरूले लगाउनेजस्तै पोशाक लगाउँछन्। यसले गर्दा यहाँभित्र प्रवेश गर्दा ७५ वर्षअघिको कुनै राणाकालीन दरबारको झल्को मिल्छ।

अझ चाँदीको थालीमा थरिथरीका परिकारसहित ‘राणाथाली’ को स्वाद लिँदा राणा शासकहरूको विलासी जीवनको झल्को पनि पाउन सकिन्छ।

वास्तुकलादेखि स्वादसम्मका माध्यमबाट जोकोहीलाई राणाकालीन समयमा पुर्‍याउनु नै ‘बबरमहल रिभिजिटेड’ र ‘बबरमहल विलास’ को मुख्य विशेषता हो।

विराज र वरुण त्यही ध्येयले निर्देशित छन्।  

रिभिजिटेड र विलास एकाघरको भए पनि व्यवसाय भने अलग हो। बबरमहल रिभिजिटेडको व्यवसाय अझै पनि गौतम र गौरवले सम्हालिरहेका छन् भने दुई तन्नेरीले ‘बबरमहल विलास’ लाई हाँकिरहेका छन्।

४ रोयल सुइट, चन्द्रशमशेरकै नामबाट ‘चन्द्र रुम’  
‘बबरमहल विलास’ मा राणाहरूको जीवनशैली मात्रै नभएर राजा/महाराजाहरूसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, दुर्लभ तस्बिर र पुस्तक पनि संगृहित छन्।

चन्द्रशमशेरले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पाएको ग्य्राजुएसन सर्टिफिकेट, बबरशमशेर राणाका पोसाक र विभिन्न ऐतिहासिक दस्तावेज मिनी संग्रहालयमा देख्न पाइन्छ। 

रिसेप्सनबाट रुमसम्म पुग्दा बाटोमा रानीसँगको चन्द्रशमशेर राणाको ठूलो तस्बिर भेटिन्छ। त्यसको छेवैमा उनकै नामबाट विलासको सबैभन्दा विलासी रुम तयार पारिएको छ। श्री ३ चन्द्रशमशेरकै नामबाट राखिएको ‘चन्द्र रुम’ मा उनका तस्बिर कोठाका भित्ता र सिरानीमा समेत भेटिन्छन्। भित्र राणाकालीन समयको गद्दी पनि राखिएको छ।

विलासमा युरोपेली शैलीका ३३ वटा विलासी कोठा छन्, जसमा रोयल सुइट चारवटा छन् भने हेरिटेजअन्तर्गत १४ वटा कोठा छन्। १० वटा कोठा ‘ट्रेडिसन प्रिमियम’ का छन् र पाँचवटा ट्रेडिसनल रूपमा छन्।

विलासको मुख्य आकर्षण चन्द्र, बबर, ध्वज र सिंह नामक चार रोयल सुइट हुन्। हेरिटेजअन्तर्गतका कोठा नेवारी र बौद्ध धार्मिक परम्पराअनुसार सिँगारिएका छन्। तिनको नाम राखिएको छ, कर्णाली, कोसी आदि। 

‘ट्रेडिसनल प्रिमियम’ मा नेवारी शैलीमा १० वटा रुम छन्, यी कोठाको नाम नेपाली महिनाबाट राखिएका छन् भने ट्रेडिसनल रुमको नाम शंख, श्रीवत्स, पद्मलगायत छ। जसको मूल्य दिनको १४ हजार देखि ५३ हजार रूपैयाँसम्म पर्छ।

राणाहरूकै पुरातात्विक संरचनामा रमाउँदै उनीहरूको विलासी दैनिकी भोग गर्नेले महँगो मूल्य तिर्नु नपर्ने बताउँछन् वरुण।

वरुण हेरिटेज होटलहरूमा नेपाली बस्न नआउनुको मुख्य कारण नै मूल्यमा रहेको भ्रम रहेको बताउँछन्।

‘हेरिटेज होटल पाँचतारे होटलभन्दा महँगो हुन्छ भन्ने धारणा ग्राहकमा छ। तर हामी त्यसैको हाराहारीमा छौँ’ उनी भन्छन्, ‘राजदरबारमा समेत सस्तो मूल्यमा बस्न सकिन्छ भन्ने सन्देश जाओस् भनेर हामीले धेरै महँगो मूल्य नराखेका हौँ।’

‘बबरमहल विलास’ मा पाँचतारे होटलमा जस्तो ठूला सेमिनार हल तथा ठूला कार्यक्रम गर्न पर्याप्त ठाउँ भने छैन।  

‘हाम्रो उद्देश्य यो ऐतिहासिक ठाउँ हो भनेर चिनाउने पनि हो,’ विराज भन्छन्, ‘सरकारले पनि यस्ता इतिहास चिनाउने व्यवसायलाई प्रोत्साहन दिन सक्यो भने नेपालमा हेरिटेज व्यवसाय फस्टाउनेछ।’

उनलाई लाग्छ, ऐतिहासिक दरबारहरू कार्यालय प्रयोजनमा उपयोग गरिनुहुँदैन। 

‘सरकारले यस्ता पुरातात्विक क्षेत्रलाई संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सके नेपालमा पर्यटकहरू भित्र्याउन सजिलो हुने थियो,’ विराजको बुझाइ छ, ‘नेपालमा हेरिटेज शैलीका होटल कम छन्। विदेशी चेन होटलहरू धमाधम नेपाल आइरहेका बेला हामीले आफैँसँग भएका हेरिटेजहरूको बेवास्ता गर्नुहुँदैन।’

भिडिओ टुर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .