ad ad

कला


बलात्कृत महिलाको मनोदशा उतार्ने सशक्त दृश्यकथा : ‘सत्यप्रेम की कथा’ (ट्रेलरसहित)

बलात्कृत महिलाको मनोदशा उतार्ने सशक्त दृश्यकथा : ‘सत्यप्रेम की कथा’ (ट्रेलरसहित)

नेपालखबर
असार १६, २०८० शनिबार ११:३३, काठमाडौँ

गम्भीर विषयलाई कमेडीसहितको पारिवारिक ड्रामामा ढालेर कसरी प्रभावकारी तरिकाले कथावाचन गर्न सकिन्छ भन्ने उदाहरण हेर्न शुक्रबारदेखि थिएटरमा प्रदर्शन भइरहेको हिन्दी फिल्म ‘सत्यप्रेम की कथा’ हेर्न जानुहोस्। बलात्कारजस्तो संवेदनशील विषयको गम्भीरतामा असर नपर्नेगरी प्रेमकथामा उधिनिएको यो सिनेमा सरल तरिकाले बलात्कारपीडित महिलाको मनोविज्ञान उतार्न सफल भएको छ।

सिनेमामार्फत भनिएको छ- ‘प्रेमी होस् वा पति, केटीले नो भनेपछि गरिने हरेक यौन क्रीडा बलात्कार नै हो।’

सामान्यतः मूलधारका सिनेमामा बलात्कारी पुरुषको मनोभावना सूक्ष्म तरिकाले विश्लेषण गरिएको हुँदैन। आफ्नै पत्नी, प्रेमी, साथी र कतिपय अवस्थामा दिदीबहिनीलाई नै किन झम्टिन्छ पुरुष? किन महिला देख्नासाथ ऊ जबर्जस्ती भए पनि आफ्नो यौन तृष्णा मेटाउन उद्दत हुन्छ र राक्षसी स्वरूप देखाउँछ? यो पक्षको मिहिन चर्चा गरिएको पाइँदैन। त्यसो त यसतर्फ भने यो सिनेमाले पनि बहस अघि बढाउँदैन।

तर एउटा बलात्कारी पुरुषको सिकार भएकी महिलाको मनोदशा कस्तो हुन्छ? यो सिनेमाले मज्जाले मगज मन्थन गराउनेगरी बुझाउने प्रयत्न गरेको छ। स्वतन्त्रतापूर्वक हिँड्ने नयाँ पुस्ताकी युवती जब आफ्नै प्रेमीबाट जबर्जस्तीमा पर्छे, तब अभिभावकले समेत उल्टै दोषारोपण गर्छन्- ‘तँ त्यसको बेडरुमसम्म किन पुगेको त?’ हाम्रो यस्तो चिन्तनमा पनि उक्त सिनेमाले गतिलो झापड हानेको छ। 

इज्जतका नाममा कुकृत्य सार्वजनिक गर्ने आँट नगर्दा बलात्कारी पुरुषलाई समाजमा छाती फुलाएर हिँड्ने वातावरण बन्छ भने बलात्कृत महिलालाई आत्महत्या गर्न दुरुत्साहन गराउँछ भन्ने तर्कमा सहमत गराउन सिनेमा सफल छ। पीडित छोरीलाई लोकलाजको डरले झटपट बिहे गरिदिने परिवारले भेउ नै नपाउने बलात्कृत युवतीको पीडा सिनेमाले प्रभावकारी ढ‌ंगले प्रस्तुत गरेको छ। आफ्नो इच्छाविपरीत यौन सम्पर्क गर्ने यौन पिपासु पुरुषलाई कानुनी कारबाहीकाे दायरामा ल्याउनुको साटो पीडित छोरीलाई नै बिहे गरिदिने सामाजिक कुरीतिले समस्या सुल्झिने हैन, झन् बल्झिन्छ भन्ने फिल्मले गरेको तर्क यथार्थपरक छ। पीडित युवतीहरुलाई सम्बोधन गर्दै  सिनेमा भन्छ- ‘आत्महत्या गर्ने आँट आउने तिमीलाई समाजमा पुरुषार्थ देखाउँदै हिँडिरहेका बलात्कारीविरुद्ध न्यायिक कदम उठाउने साहसचाहिँ किन आउँदैन?’

यति संवेदनशील विषयलाई गुजराती सांस्कृतिक परिवेशमा ढालेर मराठी सिनेमा मेकर समीर विध्व‌ंशले फ्रेस प्रस्तुतिसहित राम्रो निर्देशन गरेका छन्। भारतीय समाजमा विषाक्त बन्दै गएको बलात्कारजस्तो विषयलाई कमेडी जनरामा दर्शकलाई अढाई घण्टासम्म टिकाइराख्नु सानो चुनौती होइन। यसमा विध्वंशसको कुशलता राम्ररी झल्कन्छ।  सम्पादनका कारण कतिपय ठाउँमा गति सुस्त लागे पनि समग्रमा सिनेमा हेर्नलायक बनेको छ।

फिल्म रिलिजको दिन पुलचोकस्थित लबिम मलको क्यूएफएक्स सिनेमा हलमा नेपालखबरको मल्टिमिडिया टिम तन्नेरी दर्शकको उल्लेख्य उपस्थिति देखिन्थ्यो। सिनेमाबारे भारतीय मिडियामा धेरै चर्चा नगरिएकाले पनि होला– सिनेमा हेरेर निस्किएकाहरूलाई कथा र प्रस्तुति ‘सरप्राइज’ लागेको बताइरहेका थिए। कार्तिकका फ्यान रुवेल शर्माको भनाइ थियो– ‘आफ्नो हिरोको फिल्म भनेर हेर्न आएको तर स्टोरी पनि बबाल रहेछ।’

केही वर्षयता मन्दीमा चलिरहेको बलिउड सिनेमा उद्योगलाई ३ साताअघि बिना हल्लाखल्ली रिलिज भएको कमेडी प्रेमकथा ‘जरा हटके जरा बचके’ले नपत्याउँदो किसिमले उकासे पछि फेरि बलिउडको दिन आएको विश्लेषण गरिँदै छ। त्यसमाथि कोभिडले थलिएको बलिउड शाहरुख खान र दिपिका पादुकोणेको जनबरीमा रिलिज ‘पठान’ ले उत्साहजनक भरथेग गरिदिएपछि दिन फर्किने अपेक्षा गरिएको थियो। ‘सत्यप्रेम की कथा’ सिनेमाले पहिलो दिनमै ९ करोड २५ लाख भारु कमाएकाले यसले राम्रै बजार लिने चर्चा भइरहेको छ। 

नब्बेको दशकको सिनेमा मेकिङकै दिशा बदलिदिएको शाहरुख-काजोल अभिनित  ‘दिलवाले दुल्हनिया ले जाएंगे’ फ्रेममा बनाइएको ‘सत्यप्रेम की कथा’ ले ३० वर्षपछि त्यस्तै झल्को दिन्छ पनि। चिरपरिचत फिल्ममेकर साजिद नाडियडवालाको यस सिनेमाको कथा करन श्रीकान्त शर्माले लेखेका हुन्। मनग्गे गुजराती भाषासहित अहमदाबादको रहनसहन, खानपान र संस्कृति घोलेर प्रस्तुत गरिएको यो सिनेमा प्लट पुरानो भए पनि तपाईंलाई नयाँ स्वाद दिन सक्षम छ। यो सिनेमा हेर्दै गर्दा पछिल्ला केही वर्षयता बलिउड सिनेमाबाट हराउँदै गइरहेको संगीतको पुनरागमन पनि हुन थालेको महसुस हुन्छ। सिनेमामा राखिएका गीत अधिकांश कर्णप्रिय पनि छन्। त्यसैले ३० वर्षपछि बलिउड शैली फर्कन लागेको समीक्षकहरुको विश्लेषण तपाईंलाई पनि यथार्थपरक नै लाग्नसक्छ। 

कवीरसिंह फेम कियारा आडवाणीले बलात्कृत महिलाको मनोदशालाई प्रभावकारी ढंगले बुझाउन भरमग्दुर प्रयत्न गरेकी छन्। उनका साथी र पतिको रोलमा कार्तिक आर्यनले राम्रो अभिनय गरेका छन्। नयाँ पुस्ताका यो जोडीले भुलभुलैया –२ मा पनि राम्रो प्रशंसा पाएका थिए।

यदि तपाईं परिवारसहित हेर्न मिल्ने र बलात्कारबारे व्याप्त ‘स्टेरियो टाइप’ मानसिकतामा पुनर्विचार गर्न उत्प्रेरित पनि गर्ने सिनेमाको खोजीमा हुनुहुन्छ भने देशभरका सिनेमा हलमा लागिरहेको ‘सत्यप्रेम की कथा’ हेर्न सिफारिस गरिन्छ। 

हेर्नुहोस् ट्रेलर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .