ad ad

राजनीति


नयाँ पार्टीले जूनतारै खसाल्दिन्छौँ भन्छन् : अर्थमन्त्री महत

नयाँ पार्टीले जूनतारै खसाल्दिन्छौँ भन्छन् : अर्थमन्त्री महत

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार ११:४२, काठमाडौँ

अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ पार्टी शंकाको सुविधा रहेको बताएका छन्। 'टेस्टेड' नभएकाले जे पनि भन्ने र त्यसलाई पत्याउने हुनसक्ने तर कांग्रेसले कामै गरेर देखार्नुपर्ने उनले बताए।

प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा सामाजिक सञ्जालको जमाना रहेको र अरुले प्रचार गर्ने तर आफूहरूले काम गर्ने दावी गरे।

अहिले सामाजिक सञ्जालको जमाना रहेको र नयाँ पार्टीले आफू भयो यसो गर्दिन्थ्यौँ भनी सरकारको आलोचना गरिरहेको उनको भनाइ थियो। तर त्यस्तो छूट आफूहरूलाई नभएको र काम नै गर्नुपर्ने रहेको उनले बताए। ‘नयाँ पार्टीले जे भने पनि हुन्छ। हामी भएको भए जूनतारा नै खसाल्दिन्छौं भन्छन्, टेस्टेड छैनन्, हो कि क्या हो, जूनतारा नै खसाल्छन् कि भन्ने हुनसक्छ,’ उनले भने, ‘हामीले गरेरै देखाउनुपर्छ।’

स्रोत र साधन सीमित भएकाले चाहेजस्तो सेवा प्रवाह गर्न नसकेको स्वीकार्दै उनले त्यसका बाबजुद पनि सरकारले काम गरिरहेको दावी गरे। विभिन्न बाधाहरूले भनेजस्तो परिणाम हुन नसकेको र त्यसैलाई देखाएर नयाँ पार्टीले 'हामी भए यसो गरिदिन्थ्यौँ, उसो गरिदिन्थ्यौँ' भनेर सामाजिक सञ्जाल केन्द्रित भएको भनाइ उनले राखे।

‘अप्ठेराका बाबजुद हामीले काम गरेका छौँ । आवश्यकता धेरै छन् विभिन्न समयमा आउने बाधा–व्यवधानले भनेजस्तो परिणाम हुन सकेको छैन,’ उनले भने, ‘त्यसैलाई देखाएर नयाँनयाँ पार्टीहरुले हामी भएको भए यसो गर्थ्यौँ भन्दिनुहुन्छ। सामाजिक सञ्जालको जमाना छ , एउटै कुरा गरेको हुन्छ अनि दोहोर्‍याएर दिएको छ।'

आफूहरू हरेक दिन जनताका समस्यासँग जोडिएर समाधानका लागि लागिरहेको उनले बताए। भने, 'हामी टिकटकमा राखेर देखाउँदैनौँ, भिडियो लगेर खिचेर देखाउने गर्दैनौंँ। त्यो हाम्रो कर्तव्य नै हो।’

उनले काम गर्ने पार्टी कांग्रेस नै भएको दावी गरे। अरु दललाई आफूले जिम्मेवारी पाए यसो गरिदिन्थ्यौँ भन्ने शंकाको सुविधा रहेको तर आफूहरूलाई त्यो नभएको, कामै गरेर देखाउनुपर्ने बताए।

उनले अनावश्यक नेतृत्वको आलोचना गर्नुभन्दा पार्टीको नीति लिएर जनतामा जानु उचित हुने बताए।

'आ–आफ्नो किसिमले अभिव्यक्ति दिने स्वतन्त्रता छ। अनावश्यक रुपले नेतृत्वको आलोचना गरिरहने हैन कि, पार्टीको नीतिलाई लिएर जनताकहाँ जानुलाई अन्यथा लिन मिल्दैन। तर, त्यसको लक्ष्य के हो भन्ने स्पष्ट हुनुपर्छ,' उनले भने, 'पार्टी सुदृढ बनाउने लक्ष्यसहित काम गर्दा आपत्ति हुँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .