बोल्दै जाँदा उनी कहिले दार्शनिकझैँ सुनिन्थे, कहिले सन्तझैँ शान्त देखिन्थे। झम्सिखेलको एक क्याफेमा भेटिएका चर्चित गायक शिव परियारसँगको कुराकानी बेलाबेला मोटिभेसनल क्लास जस्तै लागिरहेथ्यो। उनी भनिरहेथे, ‘कहिले जात, कहिले धर्म र कहिले लिंगमा जोडेर मान्छेहरु भत्किरहे। हामीले हमेसा बिर्सियौँ, सबैभन्दा पहिला हामी मान्छे हौँ।’
धेरै कुरामा थोरै बोल्छन्। हिजोआज कतिपय बोल्नै पर्ने कुरा पनि छाडिदिन्छन्। उनलाई यत्तिको संयमित समयले बनाएको हो।
शिव परियारको जन्म वर्णव्यवस्थाले सिर्जेको कथित तल्लो जातमा भयो। तर उनीसँग जातकै आधारमा भोगेको अन्यायको फेहरिस्त छैन। शिव काठमाडौं आएर संघर्ष गरेताका धेरैले विभेद सहन नसकेर जात लुकाएका कथा सुन्थे। उनी आफैँले भने त्यो भोग्नुपरेन।
त्यसो त उनी आफूलाई कुनै एक समुदायको मात्रै मान्न तयार छैनन्। भन्छन्, ‘म मेरो समुदायले मात्रै बनाएको गायक होइन। म आफूलाई यो वा त्यो समुदायको मात्रै गायक मान्न तयार छैन। यदि म कुनै एक समुदायमा मात्रै विभाजित भएर गीत गाउन थालेँ भने मेरा अन्य समुदायका स्रोताप्रति मैले गरेको अन्याय हो त्यो।’
तथापि, उनी बेलाबेला विवादमा तानिइरहन्छन्। किन त? भन्छन्, ‘मैले अभिव्यक्त गरेका भावना मानिसहरुले आफू अनुकूल बुझिदिए। त्यो हरेक मानिसको नैसर्गिक अधिकार पनि हो। सामाजिक प्राणी भएकाले कहिलेकाहीँ सामाजिक विषयवस्तुमा आफ्नो धारणा व्यक्त गर्नुपर्छ। मैले आफ्नो धारणा एक हिसाबले राखेको हुन्छु, त्यो समयको बहावले बगाएर कता पुर्याउँछ थाहा नहुँदो रहेछ। त्यही बहावमा बेला बेला पर्छु। यो अवस्थाको सिकार अरु पनि भैरहेका हुन्छन्।’
कहिले गीतका नाममा, कहिले जातका नाममा त कहिले अभिव्यक्तिका नाममा शिव परियार विभिन्न समय विवादमा तानिए। तर उनले आफ्नो हृदयमा बोकेर हिँडेका छैनन् यी सबै कुरा। बेलाबेला भोगिने यी कुरामा पनि शिव आफूप्रतिको प्रेम देख्छन् र भुलिहिँड्छन् तिता कुरा।
भन्छन्, ‘जीवन नै स्थायी होइन भने यही जीवन यात्रामा भएका कुरालाई चाहिँ किन जिन्दगीभरि बोकेर हिँड्नु र बोझिलो बनाउनु एकबारको जुनी?’
चकचके बाल्यकाल
शिवलाई अहिले सुन्दै गर्दा लाग्छ, उनी सानैबाट शान्त स्वभावका थिए। तर होइन। सानोमा उनी असाध्यै चञ्चले स्वभावका थिए। उनलाई सधैं उल्टो गतिमा दौडिनु पथ्र्यो। घरमा जे गर्नु हुँदैन भन्ने मान्यता हुन्थ्यो, उनलाई त्यही गर्नु पर्थ्यो। नजानु भनेको ठाउँमा जानु पथ्र्यो, नगर्नु भनेका काम गर्नै पथ्र्यो। उनको यो उपद्रोले बुबाआमालाई पनि आजित बनाउँथ्यो। उनका बुबाले छोराको उपद्रोका बदलामा कतिवटा लौरो भाँचे, हिसाब छैन।
आमाहरु छोराछोरीले बिगार गर्दा पनि जोगाउन अघि सर्छन्। शिवको हकमा भने यो लागू भएन। ‘आमाले आदेश दिने, बुबाले ठटाउने हो,’ उनले बाल्यकाल सम्झिए।
अलि पर बसेर उनकी हजुरआमा छोराले नाति कुटेको निन्याउरो अनुहार लगाएर हेर्थिन्। गला अवरुद्ध पार्दै भन्थिन्, ‘नपिट।’ दौडिएर आएर छेक्न सक्दैनथिन्। शिव आफैँ पनि भागेका भए हुन्थ्यो, उनी भाग्दैनथे। कहिले कसो भागे पनि होलान्। तर बुबा–आमाबाट भागेर जानु कहाँ थियो र? भन्छन्, ‘म भाग्दा बुबाको रिस भागेको थाहा भएन, बरु एकछिन थापियो, धेरै कुट्न त बुबाका हातले कहाँ सक्थे र?’
शिवलाई जेजस्तो भए पनि आफ्नो बाल्यकाल साह्रै सुन्दर र सुखद थियो भन्ने लाग्छ। त्यसो त शिव उनको परिवारबाट विद्यालय जाने पहिलो व्यक्ति हुन्। अघिल्लो पुस्तालाई स्कुल जानबाट रोक्ने तत्व क ेके थिए, त्यसलाई कोट्याइरहनु उनलाई उचित लागेन। उनले कोट्याएनन् पनि। पिता–पुर्खाले के–के काम गरेर जीवन गुजारा गरे, जीवन गुजाराका क्रममा उनीहरु कहाँ–कहाँ टुटे अथवा कति सन्तुष्ट भएर जीवन बाँचेर गए, शिवलाई थाहा छैन। तर उनले आफ्ना बुबा–आमाले बाँचेको जीवन देखेका छन्। दुःख थियो तर उनीहरु खुसी थिए। अभाव थियो, तर समाज र अरु मानिसप्रति अत्यन्त संवेदनशील थिए।
त्यही संवेदना हेर्दै हुर्किएका शिवलाई आज फर्किएर हेर्दा लाग्छ, ‘मैले गीत मार्फत त्यही संवेदना समाजमा प्रवाहित गर्न उहाँहरुको परिवारमा जन्मिएको रहेछु।’ अन्यथा शिवको परिवारमा उनीभन्दा अगाडि कसैले गीत गाएनन्। शिव आफैँ पनि गायनको सपना देख्दै हुर्किएका होइनन्।
त्यो पहिलो स्टेज, जसले देखाएको थियो भविष्यको बाटो
शिव अहिले नाम चलेका गायक हुन्। उनले गाएका थुप्रै गीत लोकप्रिय छन्। धेरैलाई लाग्न सक्छ, उनी गायक बन्ने सपना देखेरै यहाँसम्म आइपुगेका हुन्। तर होइन। पहिलो पटक गीत गाउन स्टेज चढ्दा शिव ११ पुगेर १२ वर्ष लाग्दै थिए। सर्लाहीको हजारियामा रहेको सरस्वती माध्यामिक विद्यालयमा ७ कक्षामा पढ्थे। पहिलो पटक गीत गाउन स्टेज चढेका शिव जिल्लास्तरीय प्रतियोगितामा प्रथम भए। यो २०५१ सालको कुरा हो। योभन्दा पहिला उनको स्कुल जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएको थिएन। शिवले जित्दा स्कुलले पनि एउटा कीर्तिमान कायम गर्यो।
त्यसपछि शिवले थुप्रै प्रतियोगित गीत गाएरै जिते। गाउँमा गोठालो जाँदा, मेलापात गर्दा गीत गाउँदै डुले। फेरि पनि उनले गीतसंगीतको सपना देखेनन्। संगीतले शिवलाई मोहित बनाउँथ्यो। उनीले स्कुले जीवनमै थुप्रै पार्टीका सांस्कृतिक कार्यक्रममा गीत गाए। परिवर्तनका लागि रचिएका गीत पनि गाए, क्रान्तिको आगो ओकल्ने गीत पनि गाए। तर गायनमै संगीत सपना नदेख्नुको पनि कारण छ।
भन्छन्, ‘सपना देख्नलाई पनि त पृष्ठभूमि चाहियो नि। मैले सपना देखिनँ, सपना देख्ने हिम्मत पनि भएन। मसँग रहर थियो, सपना थिएन। स्कुल पढ्न पनि सपना देखेर गएको होइन। तर स्कुलमा म चर्चाको पात्र चाहिँ थिएँ। यसले मलाई खुसी दिन्थ्यो।’
काठमाडौंको संघर्ष
एसएलसीपछि शिवले काठमाडौं आउन मन गरे। परिवारको आर्थिक अवस्था उनलाई काठमाडौं पठाएर पढाउन सक्ने थिएन। तर उनका बुबाले केही हजार ऋण काढेर काठमाडौं पठाए। शिवलाई त्यतिबेला थाहा थिएन, संगीत पनि पढाइ हुन्छ। उनी ललितकलामा भर्ना।
शिवका साथी भने कयौ सपना बोकेर आएका थिए। साथीहरुका पुस्तौँदेखिका सपना सुन्थे। अवस्था अनुसारको फरकपन कस्तो हुन्छ, शिवले काठमाडौं आएरै देखे। स्कुल पढ्दा त उनले सबैलाई एउटै ड्रेसमा देखेका थिए। काठमाडौंमा यस्तो थिएन। शिव पुराना दिन सम्झँदै भन्छन्, ‘यो सब देखेर म त छक्कै परेँ।’
कक्षामा सबैभन्दा धेरै नम्बर ल्याएका शिवको अंग्रेजी विषय भने कटेन। त्यसपछि शिवको औपचारिक शिक्षामा ब्रेक लाग्यो। औपचारिक शिक्षा छोड्नुका पनि शिवसँग आफ्नै कथा छन्। भन्छन्, ‘५ सय रुपैयाँ तिर्न नसकेर पढाइ छोडेको हुँ।’
ती दिन स्मरण गर्दै गर्दा उनी भावुक भए। केही समय रोकिए र बोले, ‘२०५८ सालबाट मैले पढाइ छोडेको हुँ। टाइसुट लगाएर युनिभर्सिटी जान ठूलो रहर थियो। तर त्यो मेरो भाग्यमा थिएन।’
एकदिन शिवको भेट बुद्ध लामासँग भयो। बुद्धले शिवलाई बाटो देखाइदिए। भने, ‘तिमी पहिले पनि यति राम्रो गीत गाउने मान्छे। संगीत कक्षा भर्ना हुनुपर्छ। बुबा–आमासँग सल्लाह गर।’ शिवले बल्ल थाहा पाए संगीत पनि पढ्ने विषय हो।
बुबासँग सल्लाह गरे। उनको बुबाको अवस्था घरबाट खर्च पठाएर पढाउन सक्ने थिएन। तर पनि आँट दिए। आँटले मात्रै काठमाडौंमा टिक्न सकिँदैनथ्यो। उनले यहाँ आफूलाई टिकाइराख्न थुप्रै्र संघर्ष गरेका छन्। संघर्षको सुरुवाती दिनमा हात्तीवनको एक कारखानामा घ्युको टिन काट्ने काम गरे। उनले काटेका टिनका टुक्रा ऐना, फोटो फ्रेमको पछाडि टाँसिन्थ्यो। शिवका हातभरि ठेला उठ्थे र फुट्थे।
‘त्यो दिन तत्कालका लागि दुखाइ थियो, हिजोआज मिठो सम्झना भएको छ,’ शिव भन्छन्।
गुरु बन्ने सपना थियो, भए गायक
शिवले ललितकलामै चन्दन गुरुलाई भेटेका थिए। भारतमा ग्वालियर घरानाबाट शास्त्रीय सङ्गीतमा संगीत प्रवीण चन्दनकुमार श्रेष्ठ त्यतिबेला भर्खर नेपाल फर्किएका थिए। कलेज छोडेपछि शिवलाई लाग्यो, ‘एक वर्ष राम्रोसँग संगीत सिक्न पाएँ भने म संगीत सिकाएर बाँच्न सक्छु।’ त्यसपछि गान्धर्व संगीत विद्यालयमा शास्त्रीय संगीत सिक्न थाले। एक वर्षका लागि भर्ना भएका शिवले त्यसपछि लगातार ७ वर्ष गान्धर्व संगीत विद्यालयमा संगीत अध्ययन गरे।
रेडियो नेपालले मोडिदियो बाटो
गान्धर्व संगीत विद्यालयमा शास्त्रीय संगीत अध्ययन गर्दा गीत गाउनुलाई राम्रो मानिँदैनथ्यो। शिव र उनका साथीहरु गुरुबाट लुकीलुकी गीत गाउँथे। त्यतिबेला रेडियो नेपालले गर्ने आधुनिक गीत प्रतियोगिताको बेग्लै महत्व थियो। शिव र उनका साथीहरु पनि भाग लिने दाउमा थिए। लुकेर अभ्यास गर्थे।
एकदिन गुरुले थाहा पाए। शिव डराएका थिए, तर गुरुले गाउन भने। उनले गाएर सुनाए। गुरुले केही ठाउँमा सच्याइदिए। त्यही गीत गाएर विसं २०५९ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत गायन प्रतियोगितामा शिव प्रथम भए। उनले त्यसबेला गाएको गजल थियो, ‘जति बिर्स्यो तिम्रो याद, आउन खोज्छ किन होला!’ यो गजल सुरेश वाग्लेले लेखेका थिए।
यसपछि शिवको गीत रेडियो नेपालमा रेकर्ड भयो। रेडियोबाट बज्यो। यो सफलताले शिवको बाटो मोडिदियो। उनले गुरु बन्ने सपना छोडेर गायक बन्ने सपना देख्न थाले। औपचारिक रुपमा यहीँबाट सुरु भएको शिवको सांगीतिक करिअरमा त्यसपछि पछाडि फर्किएर हेर्नु परेन।
त्यसो त गीतसंगीतमा लगानी गर्ने भएर शिव एकताका नराम्रोसँग डुबेका छन्। रेडियो नेपालमा गीत रेकर्ड भएपछि शिवले ऋण काढेर एल्बम निकाले। उनलाई थाहा थिएन, संगीत बजारको काइदा। बजारले मागिरहेको गीतको स्वाद। उनलाई लाग्यो, ‘गीत गाएपछि स्रोताले मन पराइहाल्छन्।’ करिअरको सुरुवातमा ‘बन्धन’ नामको एल्बम गर्भमा तुहाएका शिवले त्यसपछि केही वर्ष ऋणको भारतले थिचिएर बिताए।
‘त्यो समय छोडेर जाउँ जाने ठाउँ थिएन, समातेर बस्ने बुट्यान पनि थिएन। हरेक हप्ता बुबाको फोन आउँथ्यो, नानी केही उपाय लागेन भनेर। त्यो समय गाह्रो त कति भयो भयो नि, तर हरेक अवस्थाले मानिसलाई त्यहाँभन्दा माथि उठेर हेर्न सिकाउँदो रहेछ,’ उनी भन्छन्।
सांगीतिक यात्राकै क्रममा शिव रिभिल क्रियसनसँग ठोक्किए। त्यही कम्पनीबाट आएको गीत हो, ‘फेवातालमा साइँली।’ यो गीतपछि सांगीतिक क्षेत्रमा शिवको सुखद यात्रा सुरु भयो। उनी देश तथा विदेशका कार्यक्रममा अत्यधिक बोलाइने गायक भए। त्यसपछि उनका ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले’, ‘अलिकति नजर तिम्रो झुकाएर आऊ’, ‘कहाँ थियौ तिमी’, ‘आँसुको अर्थ के थाहा’, ‘पाकेर खाको फल मिठो’, ‘धैरै चोटि मरेँ म त’, ‘धोकेबाज हौ तिमी’ लगायतका गीत लगातार हिट भए।
गायनमा आफ्नै शैली भएका शिवले आधुनिक, गजल, लोकगीत, राष्ट्रिय गीत, पप गीत चलचित्र गीत सबै खालका गीतमा स्वर दिए। नेपाली सांगीतिक क्षेत्रमा भर्सटाइल गायकको परिचय बनाएका शिव आज पनि उस्तै व्यस्त छन्। यो यात्रामा उनले ‘नारायण गोपाल युवा संगीत पुरस्कार’, ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’, ‘नातिकाजी राष्ट्रिय युवा संगीत पुरस्कार’, ‘भीम विराग राष्ट्रिय युवा संगीत पुरस्कार’ लगायत दर्जनौं पुरस्कार तथा अवार्ड प्राप्त गरेका छन्।
सफलताको सिँढी उक्लिरहदा पनि कयौँ पटक ठेस लाग्यो। अझै पनि कहिलेकाहीँ जातीयताको नमिठो किचलोमा जोडिनुपर्छ। प्रत्यक्ष रुपमा आफूले विभेद भोग्नु नपरे पनि जातलाई गाली गर्दा शिवलाई दुख्छ। यही दुखाइ कहिले कसरी पोखिन्छ, कहिले कसरी। उनी जसरी पोखिन्छन्, यहाँको समाजले त्यही अनुसार बुझिदिँदैन्। उनी विवादमा पर्छन्। विवाद पनि उनका लागि एउटा पाठ हो।
स्टेज चढेको दिन नै पहिलो भएका शिवले आजसम्म संगीत यात्रा रोकिन दिएका छैनन्। संगीतकै कमाइले काठमाडौंमा घर बनाए, गाडी चढेर हिँडेका छन्, छोरीलाई राम्रो स्कुलमा पढाएका छन्। त्यहाँभन्दा पर उनले कुनै संसार कल्पना गरेका छैनन्। शिवले संगीतमा आफ्नो जीवन सुम्पिएका छन्, संगीतले उनलाई शान्ति दिएको छ। जिन्दगी दिएको छ।
Shares
प्रतिक्रिया