उनकै उमेरका साथी फरकफरक बहानामा देश छाडेर हिँडे। देश छाड्दै गर्दा पासपोर्टमा लाग्ने भिसाको प्रकार फरक–फरक थियो। तर सबैको एउटै चाहना थियो– सुख। आँखाभरि आँसु लिएर देश छोडेका साथी केही समयपछि मुस्कान सहितका तस्बिर सामाजिक सञ्जालमा हाल्थे। गायनमा संघर्ष गरिरहेकी भूमिका गिरी मन परेको उपहार आमालाई किनिदिन नसकेर मन टुटाउँथिन्। परदेश पुगेका साथी किसिम-किसिमका उपहारसँग बाआमालाई खुसी पठाउँथे। भूमिकालाई लाग्थ्यो, ‘परदेश जाने साथी त निकै खुसी छ।’
समय बित्दै गयो। भूमिकाले गीत/संगीतमा आफ्नो पहिचान बनाइन्। यो क्षेत्रमा स्थापित हुने संघर्ष गरिरहेका बेला भूमिका सोच्थिन्, ‘परदेश जाने साथीलाई सुखैसुख छ, मलाई दुःख।’ कहिलेकाहीँ उनलाई बेलैमा साथीहरुसँगै देश छाडेर नहिँडेकोमा पछुतो पनि हुन्थ्यो। जब भूमिका गायनमा जमिन्, तब उनी साथीहरु पुगेकै मुलुकमा ‘आर्टिस्ट भिसा’ मा पुगिन्, तब उनलाई लाग्यो, सामाजिक सञ्जालमा देखिएजति सुखैसुखमा थिएनन् उनका साथी।
यो बीचमा भूमिकाले विश्वका झण्डै २० देशको यात्रा गरिन्। उनका दुईवटा पासपोर्टका पाना भरिए। हरेक वर्ष तीज गीत गाइन्। गीतले धेरथोर लोकप्रियता कमाए। तर, मन भरिएन। मनको एक कुनामा परदेश गएका साथीमा खोजिएको सुख र उनीहरुले सुनाएका दुःखले चिमोटिरह्यो। गीतकार नेत्र अर्याललाई मनको यो दुखाइ सुनाइन्।
त्यसपछि नेत्रले ‘उजेली जुनेली’ गीत तयार पारे। गीतमा सुखको खोजीमा परदेश पुगेकी साथी र देशमै रहेर परदेशको सुख कल्पना गरिरहेकी साथीबीचको संवाद छ। गीत भूमिकाले गाइन्। आफ्नै युट्युब च्यानलमा हालिन्। छोटो समयमै गीतले दस लाख भ्युज पायो। सामाजिक सञ्जालमा लोकप्रिय बन्यो। सबैले सोचे, ‘भूमिका क्या भाग्यमानी छ। उसको गीत यति छोटो समयमै यति हिट भयो।’
हिजोआज ‘उजेली जुनेली’ गीतले तय गरेको सहज यात्रा हेरेर मानिसहरु भूमिकाको गायन यात्रा पनि सहजै थियो भन्ने कल्पना गरिरहेका हुन्छन्। तर, भूमिकाले यहाँसम्मको यात्रा तय गर्न निकै अप्ठ्यारो बाटो हिँडिआएकी हुन्। यात्रामा भूमिका कयौं पटक थाकिन्। कयौं बिसौनीमा थकाइ मार्दै गर्दा उनलाई लाग्थ्यो, ‘यहीँबाट गायन छोडेर पलायन भैदिउँ।’ फेरि सम्झिन्थिन्, गायनकै लागि आफ्ना सपनासँग गरेको विद्रोह। त्यही सम्झनाले उनलाई थाक्न दिएन।
भूमिकाको जन्म दाङ देउखुरीको सामान्य परिवारमा भएको हो। उनका बुबाआमाको अन्तर्जातीय प्रेम विवाह थियो। बुबा–आमाको प्रेमको पहिलो नासो भूमिका। उनका ३ भाइबहिनी छन्। सानैमा घरका सानातिना जिम्मेवारी उठाउनु पर्यो। जिम्मेवारी बोक्दै हुर्किएकाले पनि भूमिकालाई जीवनका अप्ठ्यारा घुम्ती पार गर्न आँट दियो। त्यसो त हुर्कंदै गर्दा आफ्नो भागमा परेका जिम्मेवारी साह्रै बोझिला र झञ्झटिला लाग्थे। अहिले आफैंले छोडिआएको समय फर्किहेर्छिन्, सुनौला लाग्छन्। भन्छिन्, ‘त्यही कुराले मलाई संघर्ष गर्न सक्ने बनाएको रहेछ।’
भूमिकाका बुबा व्यापार गर्थे। तर, उतिसाह्रो फस्टाएको थिएन। भूमिका आर्थिक अभाव हेर्दै हुर्किएकी हुन्। बुबा प्राय घरबाहिर हुन्थे। उनकी आमा गीत गाउँदै मेलापात गर्थिन्। भात–भान्सामा आमाको सुरिलो स्वर सुन्दै भूमिकाको बाल्यकाल बित्यो। आमाले भाका हालेर गाएका गीत रेडियोमा बज्थे। भूमिका कल्पना गर्थिन्, ‘यो रेडियोमा गीत गाइबस्ने मान्छेहरु मेरी आमाजस्तै राम्रा हुँदा हुन्।’ उनको दिमागमा त्यहीबेला एकखालको छाप बस्यो, ‘गीत राम्रा मान्छेले गाउँछन्।’
घरबाट बसेको गायनको यही छाप बोकेर गएकी भूमिकाको सपनामा झन् मलजल गरिदियो। स्कुलदेखि जिल्लास्तरीय प्रतियोगितामा भाग लिएर उनले थुप्रै पुरस्कार हात पारिन्। उनको गला र नृत्य कला बराबर चल्थ्यो। छोरीले गीत गाएको देखेर उनकी आमा पनि खुसी थिइन्। भन्थिन् ‘मेरो अधुरो सपना तैँले पूरा गरेस्।’
त्यतिबेला भूमिकालाई थाहा थिएन आमाले भनेको त्यो अधुरो सपना के होला? आफैंले देखेको सपना किन अधुरै छोडेर हिँडिन आमा! आमाले त्यो समय गायिका बन्ने सपना देखेकी रहिछन् भनेर बुझ्न उनलाई लामो समय लाग्यो।
भन्छिन्, ‘पहिला लाग्थ्यो मेरी आमाले आफ्नै सपना किन अधुरै छोडेर हिँडिन्? के ले छेक्यो होला आमालाई सपनाको बाटो हिँड्न र आफ्नै सपना पनि ममा खोजिरहेकी छिन्? तर, जब आफ्नै गायन यात्रामा बुबाको साथ पाइनँ, तब थाहा पाएँ आमाले भात–भान्सामा गीत गाएर आफूलाई बारम्बार पोख्नुको रहस्य।’
उनका बुबा चाहादैनथे यो रंगीन दुनियाँमा छोरी होमियोस्। समाजले इज्जतिलो नमान्ने गायनमा लागोस्। गिताङे भएर हिँडोस्। उनका बुबा त चाहन्थे, ‘छोरीले राम्रोसँग पढोस्। सरकारी जागिर खाओस्। छातीमा तनाव बोकेर हिड्नु पर्ने क्षेत्रमा भविष्य नखोजोस्।’ मनको भित्री कुनामा घरकी जेठी छोरी, रहरकी छोरी आफैंले गरिरहेको व्यापार व्यवसायमा लागोस् भन्ने पनि थियो होला। तर, गायनमा साथ थिएन।
एसएलसीको परीक्षा दिएपछि भूमिकाले काठमाडौं आउने र गायिका बन्ने सपना देखिन्। आमाको सहयोगमा काठमाडौं आइन्। यतिबेला पनि उनका बुबाले भनेका थिए, ‘गीत गाएर हिँड्ने मान्छेलाई समाजले राम्रो भन्दैन। भाइ बगालमा हाम्रा कोही पनि यसरी हिँडेका छैनन्। तिमी पनि यो बाटो नहिँड।’ बुबाको अगाडि मौन रहेकी उनकी आमा बुबा घरबाट निस्किएपछि भन्थिन्, ‘राम्रो नराम्रो क्षेत्र होइन। तिमी आफूमा विश्वास गर। आफ्नो सपना पूरा गर।’ भूमिका आमाको यही आँटको बाटो हिँडेर गायनमा आएकी हुन्।
भूमिकालाई काठमाडौं आउनुअघि लागेको थियो, ‘यहाँ गीत गाउने सहज बाटो भेटिन्छ।’ तर काठमाडौंको भौतिक बाटोसँगै अपरिचित भूमिकाका लागि गायन यात्रा सोचेको जस्तो सहज किन हुन्थ्यो। गायिका भएर रेडियोबाट आफ्नो स्वरको गीत बजाउन उनले काठमाडौंमा ५ वर्षभन्दा धेरै संघर्ष गर्नु पर्यो।
काठमाडौं आएका केही वर्ष भूमिकाले ‘लालुपाते दोहोरी’ सुन्धारामा गीत गाइन्। दोहोरी गाउन पनि लामो समय कुर्नु पथ्र्यो। लामो समयसम्म उनीभन्दा अगाडि नै दोहोरीमा गाउन गएका दिदीहरुले गाएको भाका छोप्ने काम गरिन्। आफैँले लिड गरेर गीत गाउन समय लाग्यो। भन्छिन्, ‘कति अभावमा हिँडे हुँला, कति गर्नै पर्ने काम छुटे होलान्। औपचारिक शिक्षामा पछि परे हुँला तर त्यही दोहोरी गायनले हो आज मलाई यहाँ पु¥याएको।’
उनलाई दोहोरीमा गीत गाउँदै गर्दा आफ्नै गीत रेकर्ड गर्ने हुटहुटीले तड्पाइरहन्थ्यो। ५ वर्षपछि पहिलो पटक शिव हमालको शब्द÷संगीत रहेको ‘लौका चाख्ने मौका देऊ’ बोलको रौला गीत गाइन्। दोहोरीमा ५ वर्ष बिताएकी भूमिकालाई स्टुडियोको माइक्रोफोनसँग डर लाग्यो। उनले पहिलो गीत डराइडराइ गाएकी हुन्। गीत ठिकै चल्यो। त्यसपछि उनले रामजी खाँणको ‘तिउन मिठो बनायो चुकैले’ बोलको गीत गाइन्। यही गीतले सुरु गरिदिएको हो भूमिकाको सुखद यात्रा।
‘तिउन मिठो बनायो चुकैले’ त्यो समय हिट भयो। यही गीतले भूमिकाको मेला महोत्सवमा माग भयो। यसपछि भूमिका छानेर राम्रा गीत गाउन थालिन्। त्यसयता उनका ‘देउरालीमा, रंग रसैमा, चोली मैलो भो, बुट्टा भरेको’ लगायतका गीत लोकप्रिय भए। गीत गाएरै भूमिका देश विदेशको यात्रामा निस्किन्। हिजोआज उनकी आमा टीभीमा छोरीका गीत हेरेर मुस्कुराउँछिन्। उनका बुबाले पनि बुझिसकेका छन्, छोरीले समातेको बाटो सही थियो।
आफ्नो सपनाको बाटोमा रमाइरहेकी भूमिका, छोरीले हिँडेको बाटो हेरेर गर्व गरिरहेकी उनकी आमा र हिजो छोरीको बाटोमा अवरोध गर्न तम्सिएका उनका बुबा हिजोआज एकै टीभी सेटमा गीत हेर्दै मुस्कुराउँछन्। यो यात्रामा खुसी देखिएकी आमालाई भूमिकाले सोध्ने हिम्मत गरेकी छैनन्, ‘तपाईको सपना मैमा पूरा भयो की अझै गाउने रहर छ आमा?’
भन्छिन्, ‘मेरो जिन्दगीमा खास ठूला सपना छैनन्। गायनमा टिकिरहन पाऊँ। गीत गाएरै जीवन सिकिरहन पाऊँ। तर, एक दिन हिम्मत गरेर आमालाई सोध्ने छु, आमा हिजोआज तपाईको मन केमा अल्झिरहन्छ?’
Shares
प्रतिक्रिया