‘यो चमक्क चम्किरहेको समय। सबैतिरबाट पाएको हाइहाइ। के सधैँ रहला? कहाँसम्मको होला यो उज्यालो यात्रा?’ गायक डेबिड शंकर आफैँसँग प्रश्न गरिरहन्छन्। उनी आफैँ जवाफ दिन्छन्, ‘लाग्न त जीवनमा आमाको काख छुट्ला भन्ने पनि लागेन। तर, लागेर भएन, आमाले सानैमा छोडेर जानु भयो। यो दुनियाँका अरु चिजहरुमा के स्थायित्व खोज्नु!’
डेबिटलाई थाहा छ, यो उज्यालो बाटोसम्म आइपुग्न पार गरेको अँध्यारो घुम्तीको यात्रा। उनलाई यो पनि थाहा छ, आजको लोकप्रियता एकदिन सुनसान हुने छ। डेबिड भन्छन्, ‘सबैतिर सुनसान भएको त्यही दिनका लागि आफैँलाई सुनेर मुस्कुराउने सिर्जना गर्ने संघर्षमा छु।’
बाल्यकाल
डेबिडले बिर्सिसके बाल्यकालमा आफूले बाँचेका धेरै कथा। उनी हुर्कंदाका धेरै कथा सम्झाउन आमा छैनन्। उनको हुर्काइ हेर्दै मेलापात गरेका आफन्तले भनिदिन्थे, ‘यो शान्त स्वभावको थियो सानैबाट।’ हिजोआज उनकी हजुरआमा भन्छिन्, ‘हैन केटा, तँ छुकछुके थिइस्।’
मानिसहरु धेरै काममा थोरैथोरै पहिचान बनाएपछि भनिरहेका हुन्छन्, ‘मलाई आइडेन्टिटी क्राइसिस भयो।’ डेबिडलाई पनि कहिलेकाहीँ लाग्छ, ‘साँच्चै म कस्तो थिएँ हुँला बाल्यकालमा?’ उनलाई बाल्यकालको आफ्नै स्वभाव विस्मृत भएजस्तै जीवनका थुप्रै कुरा स्मृतिबाट हराऊन् भन्ने लाग्छ। तर, हराउँदैनन्। अनि डेबिड तिनै भुल्न नसकेका नमिठा अनुभूतिलाई शक्ति बनाउँछन् र अगाडि बढिरहेका हुन्छन्।
डेबिडको जन्म, पाँचथर रानी गाउँमा भएको हो। उनका बुबा–आमा रानी गाउँमै खेतिकिसानी गर्थे। न अभाव, न सम्पन्नता, ठिक्कको जिन्दगी। सामान्य कुरा मागेपछि पाइहालिने, ठूलै मागका लागि पर्खिनु पर्ने, त्यो पर्खाइको छट्पटी र पर्खंदापर्खंदै भुलिजाने आफ्नै आवश्यकता आज सम्झँदा डेबिडलाई लाग्छ ‘वाह! क्या जिन्दगी बाँचिएछ।’
डेबिडसँग आमाका धमिला स्मृति मात्रै छन्। तिनै स्मृतिमा सबैभन्दा धेरै सम्झना भएर आउँछ आमाले गाएको भाका। आमा सम्झँदै डेबिड भन्छन्, ‘मेरी आमा निकै मिठो गीत गाउनुहुन्थ्यो। समय अहिले जस्तो हुन्थ्यो त मेरी आमाको स्वरमा पनि कति गीत रेकर्ड भैसक्थे होला। आमाको मनले कहिलेकाहीँ त रेडियोमा गीत गाइरहेकी गायिकासँग आफूलाई दाँज्यो पनि होला। उहाँ भइरहनु भएको भए आज आमाको सपना सोध्ने हैसियतमा पुगेको छु, तर उहाँ त मैले के छ आमा भनेर सोध्ने नहुँदै गैजानु भयो। आमाको त्यही सपनाको बीज ममा थियो होला र त गायन छोडेर भाग्छु, देशै छोडेर विदेश भासिन्छु भन्ने अवस्थामा आउँदा पनि गायन मेरो जिन्दगीबाट छुटेन।’
गाउन त उनका बुबा, हजुरबुबा, हजुरआमा पनि आमासँगै भाका हालेर गाउँथे। रानी गाउँमा हरेक साँझ मादल घन्किन्थ्यो। मादलुको त्यही तालमा निस्कने सुरिलो स्वरमा गाउँ गुञ्जायमान हुन्थ्यो। गाउँ गुञ्जाउने डेबिडकै परिवार थियो। यही सांगीतिक माहौलमा हुर्किएका डेबिडलाई गायन बाहेक अर्को सपना हुन्छ भन्ने पनि थुप्रै वर्ष लागेन। उनको यो सपनालाई स्कुले जीवनले झन् धेरै मलजल गर्यो।
गल्तीको सजाय गाउनु
डेबिडले स्कुलको पढाइ धरानबाट सुरु गरेका हुन्। उनी स्कुल भर्ना हुने बेला उनका बुबा–आमा धरान झरेका थिए। डेबिड स्कुल भर्ना भएको पछिल्लो वर्ष उनीहरु फेरि इलाम उक्लिए। डेबिडका साथीहरु धरानमै छुटे। इलाममा स्कुल भर्ना गर्ने दिन उनले भने, ‘मलाई १० कक्षामा भर्ना गरिदिए पढ्छु, नत्र पढ्दिनँ।’ उनका कान्छा काकाले १० कक्षा यही हो भनेर १ कक्षामा भर्ना गरिदिए। भर्खर ‘कखरा’ चिन्न थालेका डेबिडलाई के थाहा कुन कक्षामा के पढाइ हुन्छ। उनले थुप्रै दिन १ कक्षालाई १० कक्षाको मानेर पढे।
इलाम चियाबारीको आदर्श स्कुलमा डेबिडका जीवनका ५ वर्ष बिते। यो पाँच वर्षमा उनले कयौं गल्ती गरे। उनका साथी गल्तीको सजायमा कुखुरा बन्थे, सरको छडी खान्थे। डेबिडले गल्ती गर्दा पाउने सजाय भनेको गीत गाउनु थियो। शिक्षकहरु उनले गल्ती गरेपछि गीत गाउन लगाउँथे।
डेबिडको ५ कक्षाको रिजल्ट भएपछि उनका बुबाआमा पुनः पाँचथर नै फर्किए। फिदिम नमुना माविमा पढ्दै गर्दा डेबिडले थुप्रै सपना देखे। उनलाई कहिले डाक्टर बन्न मन लाग्थ्यो, कहिले पाइलट। धेरै त उनले ड्राइभर बनेर स्टेयरिङ घुमाउँदै गीत गाउँदै हिँडेको सपना देखे। यी सबै सपना स्थायी भएर बसेनन् उनको आँखामा। एक समय उनले गायक र खेलाडी बन्ने सपना बराबरी देखे। जिल्लास्तरीय फुटबलमा थुप्रै पटक सहभागी भए। मेडल जिते। भन्छन्, ‘म गायक नभएको भए खेलाडी चाहिँ पक्का बन्थें।’
उनका बुबा भन्थे, ‘फलानोको छोराले यस्तो गलत गर्यो भनेर समाजले भन्ने र अरुलाई दुःखी बनाउने काम केही नगर। बाँकी तिम्रो खुसी, तिमीलाई जे लाग्छ त्यो गर।’ आमा भन्थिन्, ‘छोरा, जिन्दगीमा मान्छेले जन्मिएपछि नाम कमाउने केही गर्नु पर्छ। भोलि तिमीले यो संसार छोडेर जाँदा पनि तिमी केही थियौ भन्ने देखिनु पर्छ।’
आमाले भनेको यो गहिरो दर्शन बुझ्नै नपाई उनकी आमाको देहावसान भयो। आमाको मृत्यु हुँदा डेबिड ८ कक्षामा पढ्दै थिए। आज पनि डेबिड आमाले भनेको ‘रुपियाँ पैसा जीवनमा होला पनि नहोला पनि तर तिमी आफ्नो कामले चिनिनु है छोरा’ कुरा बोकेर हिँडेका छन्। उनलाई लाग्छ, ‘आमासँग लामै जिन्दगी बिताउन पाएको भए उहाँले सिकाउने जिन्दगीको मानवशास्त्र कति बलियो हुन्थ्यो होला।’
आमाको मृत्युपछि उनलाई बाँच्नै मन थिएन। एक वर्षभन्दा धेरै समय डेबिडले आफ्नो सपना बिर्सिए। बुबा, हजुरबुबा–हजुरआमा र भाइ बहिनी बिर्सिए। आफ्नै जिन्दगी बिर्सिए र आमाको सम्झनामा टोलाइ बसे। त्यसबेला उनलाई लागेको थियो, ‘आमा त हुनुहुन्न अब हाम्रो के हुन्छ?’ अन्ततः उनले सम्झिए, ‘आमाले भन्नु भएको छ, तिमी यो संसारबाट बिदा हुँदा तिम्रो नाम बनेको हुनुपर्छ।’ त्यसपछि डेबिडले गीत गाएरै नाम बनाउने अठोट गरे।
पाँचथर र मेची तारा
२०६२ सालमा पाँचथरमा भएको गायन रियालिटी शो ‘पाँचथर तारा’को उपाधि डेबिडले उचाले। यो उपाधिसँगै डेबिड आफ्नो औपचारिक गायन यात्रा प्रारम्भ भएको मान्दछन्। उनी त्यही साल एसएलसी पास गरेर काठमाडौं आए। २०६४ सालमा ‘मेची तारा’ भयो। उनले यो उपाधि पनि आफ्नो पोल्टामा पारे। यी दुई उपाधिले उनलाई अग्रजलाई भेट्न सजिलो बनायो। तर, यस्तै सजिलो थिएन गायन बन्ने बाटो र यात्रा।
संगीतको औपचारिक शिक्षा डेबिडले ‘अनुराग संगीत स्कुल’बाट सुरु गरेका हुन्। केही समय उनले संगीतकार विकास चौधरीसँग पनि कक्षा लिए। हिजोआज डेबिड संगीतकार दीपक शर्माका शिष्य हुन्। डेबिडलाई आफ्नै स्वरमा गीत रेकर्ड गर्न काठमाडौंमा ५ वर्ष प्रतीक्षा गर्नु पर्यो। भन्छन्, ‘स्टुडियो चिन्न, स्टुडियोसम्म पुग्ने बाटोको भेउ पाउन, गीतकार–संगीतकार चिन्न समय लाग्यो।
डेबिडले ती पाँच वर्षे यात्रामा उनले नाम चलेका र आफूले सुनेका सबै गीतकार/संगीतकारलाई भेटे। हरेक भेटको उनको एउटै उदेश्य थियो, ‘गीत गाउन पाइयोस्।’ उनी सांगीतिक दुनियाँका लागि नयाँ थिए। कसले पत्याउने! नयाँ गायकलाई आफ्ना गीत दिएर जोखिम मोल्न कोही तयार थिएनन्।
कतिपयले भन्थे, ‘हेर केटा, सांगीतिक भविष्य बनाउन त्यति सजिलो छैन।’ तर उनले हरेस खाएनन्। २०६७ सालमा उनको पहिलो गीत रेकर्ड हुने भयो। डेबिड गीत रेकर्ड हुने पक्कापक्की भएपछि निकै रात निदाउन सकेनन्। उनले धेरै सपना देखे। गीत रेकर्ड भएर रिलिज नहुँदासम्म पनि उनका थुप्रै रात बिथोलिए।
भन्छन्, ‘मेरो गीतले कस्तो प्रतिक्रिया पाउला, स्रोताले मेरो स्वर मन पराउलान् कि नपराउलान्। मेरो गीत चलेपछि म यसरी गीत गाउँछु भनेर धेरै सपना देखेँ। त्यही सपनाले निदाउन दिएन।’ अन्ततः गीत रिलिज भयो। त्यो गीत थियो ‘कल्ले भन्यो तिमीलाई म माया गर्दिन रे?’ गीतमा सविता सुवेदीको शब्द र बाबु बोगटीको संगीत थियो। डेबिडको स्वरले ठिकैको माहोल बनायो। त्यसपछि उनले केही एल्बम, केही फुटकर गीतमा आवाज दिए।
संगीतबाट हरेस खाएर पलायन हुने सोचे
यसपछि डेबिडले गायनलाई निरन्तरता दिए। तर, त्यो निरन्तरताले उनको करिअरमा खासै अर्थ राखेन। उनका गीत व्यावसायिक रुपमा सफल हुन सकेनन्। आर्थिक रुपमा उनी पनि सबल बन्न सकेनन्।
डेबिडको संगत चलेका गायक/गायिकासँग धेरै थियो। उनीहरु विदेश कार्यक्रमका लागि भन्दै लगेज प्याक गरिरहेका हुन्थे। कार्यक्रम सकेर आएपछि विदेशी स्टेजका अनुभूति सुनाउँथे। डेबिड पनि देशबाहिर जाने सपना देख्थे। तर संगीतमा लागेको १२ वर्षसम्म उनको कुनै देशको भिसा लागेन र उनले सांगीतिक यात्रा गर्न पाएनन्। देशमा हुने थोरै मेला महोत्सवमै मन बुझाउनु पर्ने अवस्था थियो।
डेबिड घरको जेठो छोरो। उनको काँधमा थियो पारिवारिक जिम्मेवारी। तर, केही गर्न सकिरहेका थिएनन्। एकदिन उनका बुबाले भने, ‘७/८ वर्ष भयो तैँले यो क्षेत्रमा संघर्ष गरेको। केही गर्न सकिनस्। अब आफ्नो बाटो परिवर्तन गर्ने हो कि!’ यसपछि लामो समय डेबिडले के गरौं भन्ने मानसिक द्वन्द्वमा समय बिताए। गायन चटक्कै छोडेर कतै हिँडिहाल्ने आँट भने गर्न सकेनन्।
अर्को पटक त डेबिडले संगीत छोड्ने निधो नै गरेका थिए। उनले सांगीतिक क्षेत्रमा १२ वर्ष बिताइसकेका थिए। तर, केही भइरहेको थिएन। उनले आफैँसँग हार मानिसकेका थिए।
भन्छन्, ‘त्यतिबेला मैले पूर्ण रुपमा आफूसँग हारिसकेको थिएँ। मलाई अब मबाट केही हुँदैन भन्ने लागेको थियो। म विदेश जाने तयारीमा पुगेको थिएँ। तर, त्यही बेला फिल्म पञ्चेबाजाको ‘घिनघिन मादल’ बोलको गीत बजारमा हिट भैदियो। डेबिडको चर्चा गायनमा मात्रै होइन, पार्श्व गायनमा समेत भयो। यो गीत चलेपछि डेबिड भारतसम्म सांगीतिक कार्यक्रमका लागि गए। यो २०७५ सालको कुरा हो। यही गीतले गायनबाट हरेस खाएर पलायनको बाटो समात्न आटेका डेबिडलाई सांगीतिक दुनियाँमा फर्कायो।
त्यसपछि फिल्म ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’बोलको गीत डेबिडको स्वरमा चर्चित भयो। यो गीतले डेबिडको विदेशमा सांगीतिक कार्यक्रममा जाने सपना पुरा भयो। पछिल्लो समय उनको स्वरको ‘दर्शन सलाम’बोलको गीत लोकप्रिय भएको छ। डेबिडलाई देश विदेशका सांगीतिक कार्यक्रममा तालिका बनाएर जानु पर्छ। हिजोआज फुर्सदमा डेबिड सम्झन्छन्, ‘त्यो बेला गायनबाट पलायन हुने मेरो सोच गलत थियो।’
भन्छन्, ‘जीवनमा सुख पनि भोगेँ, दुःखमा पनि बाँचेको छु। अभाव पनि देखेँ, गल्ती हुँदाको अनुभव पनि छ। जीवन त जे आउँछ, त्यो बाँच्नु न रहेछ। मलाई यो पनि थाहा छ, अहिलेको सफलता सधैं रहन्न। तर, अब जुन समय आए पनि म सामना गर्छु। हरेस खान्नँ।’
Shares
प्रतिक्रिया